बाहिर रूख भन्दै भित्र घण्टीलाई भोट दिए पाप लाग्छ : गगन थापा

नेपालभ्युज

बाहिर रूख भन्दै भित्र घण्टीलाई भोट दिए पाप लाग्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिर रूख–रूख भन्दै हिँड्ने र भित्रभित्र दायाँ-बायाँ गर्ने छुट कुनै पनि कांग्रेस कार्यकर्तालाई नभएको बताएका छन्।

सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमै रहेको व्यक्तिले चुनावको बेलामा पार्टीलाई धोका दिएमा पाप लाग्ने समेत बताए। उनले कांग्रेस एकजुट हुनुपर्ने बेला आएकोमा समेत जोड दिए।

चितवन-२ को उपनिर्वाचनमा कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ गठबन्धन दलको साझा उम्मेदवार छन्। उनकै पक्षमा भोट माग्न भरतपुर पुगेका थापाले आफू पनि भगवानमा विश्वास गर्ने मान्छे भएकोले कांग्रेस नेता कार्यकर्ताले पाप धर्म सम्झेर मत दिनसमेत आग्रह गरे।

‘मलाई विश्वास छ तपाईंहरू पनि धार्मिक हुनुहुन्छ । खुलेर लाग्नुभएको छ भने तपाईंहरूको निर्णय हो । तर, बाहिर बाहिर गर्छु भित्र भित्र गर्दिनँ भन्न मिल्दैन’ उनले भने–‘मनमा जसको हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’

राजनीति दलको कार्यकर्ता भइसकेपछि पार्टीको कुरा पार्टीमा छलफल र बहस गर्नुपर्ने पनि उनको भनाइ थियो। ‘चुनावमा आइसकेपछि तलमाथि गर्न मिल्दैन । सिंगो पार्टी नै बदल्नुछ । कांग्रेसलाई नयाँ बनाएर छाड्ने हो’ उनले भने–‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान् । यथोचित समयमा बसेर छलफल गरौंला।’

उनले कांग्रेससँग असन्तुष्ट रहेका हिजोका बागी उम्मेदवार र तीनका सहयोगीको मतसमेत यसपटक जितनारायणलाई जानेमा आफू विश्वस्त रहेको समेत बताए। थापाले भने–‘तपाईंसँग जे असन्तुष्टि छ त्यो पछि छलफल गरौंला अहिलेलाई रूखमा भोट दिनुस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved