मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

कांग्रेसमा मिल्यो, तर शेखर–गगनमा अर्को लफडा !

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं। सत्तामा भागबण्डा नमिलेपछि पार्टी सभापतिसँग असन्तुष्ट रहेको नेपाली कांग्रेसको शेखर–गगन समूहले मागेजति मन्त्री पाएपछि सरकारमा जाने भएको छ।

तर, यही समूहका प्रभावशाली नेता तथा कांग्रेस महामन्त्री गगनकुमार थापा भने भागबण्डा मिले पनि आफूले मागेको भाग नपाउँदा डा.शेखर कोइरालासँग असन्तुष्ट देखिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले ८ मन्त्रालय पाउँदा पनि शेखर समूहको असन्तुष्टिका कारण मन्त्रीको नाम दिन सकेको थिएन। जसका कारण ८ मध्ये ४ जनाले मात्रै शपथग्रहण गरेका थिए।

डा. शेखर समूहले ३ मन्त्रालय माग्दा नपाएपछि कांग्रेसभित्रकै झगडाले मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको थिएन। यही कारण त्यसको केही समयसम्म पार्टी सभापति शेरबहादुर देउवासँग नेता कोइरालाको भेटघाट र टेलिफोन संवादसमेत बन्द थियो।

मागेजति मन्त्रालय नपाएर सभापतिसँग रुष्ट रहेका डा. कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर जनमत पार्टीले छाडेको एक मन्त्रालय कांग्रेसलाई थपिदिन आग्रह गरेका थिए। थप मन्त्रालय पाउँदा आफूहरूको भागमा भनेजति मन्त्रालय पर्ने र सरकारमा सहभागि हुने आशय कोइरालाले व्यक्त गरेपछि प्रचण्ड सकारात्मक भएका थिए।

कांग्रेस भित्रको झगडा थामपुर भएसँगै प्रचण्ड सरकारमा थप ५ जना मन्त्री र एकजना राज्यमन्त्री थपिने भएका छन्। जसमा ३ मन्त्री र एक राज्यमन्त्री डा.शेखर समूहले पाउने छ। त्यसैगरी, २ मन्त्री संस्थापनको भागमा पहिल्यै तय भइसकेको छ।

कोइराला पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएसँगै झगडा मिल्यो भनिए पनि डा.शेखर समूहभित्रै अर्को झगडा सुरु भएको कांग्रेस स्रोतको दाबी छ। पार्टी महामन्त्री गगनकुमार थापाले शेखर समूहले पाएका मन्त्रालय मध्यबाट जीवन परियार वा प्रदीप पौडेललाई मन्त्री बनाउनुपर्ने अडान राखेको थियो। तर,कोइरालाले नमानेपछि गगन रुष्ट भएको स्रोतको भनाइ छ।

‘महामन्त्रीज्युले बैठकमा आफ्ना कुरा राख्नुभयो, तर सबै कुरा उहाँले भनेजस्तै मात्रै पनि कहाँ हुन्छ र ?’ बैठकमा सहभागी एक नेताले भने–‘पार्टी हित सोंच्ने की व्यक्ति हित भन्ने कुरा मुख्य हो। हामी समग्र पार्टीमा गयौँ उहाँ व्यक्तिमा जानुभयो।’

यद्यपि, थपिएका मन्त्रीका विषयमा पार्टी र आफ्नो समूहमा कुनै ठूलो विवाद नरहेको ती नेताको भनाइ थियो। स्रोतका अनुसार प्रदीप पौडेलको विषयमा शेखर कोइरालाभन्दा पनि पार्टी सभापति देउवा नै सकारात्मक नभएको बुझिन्छ।

कांग्रेस संस्थापनका एक नेता भन्छन्–‘प्रदीप पौडेल मात्रै होइन गगन थापा, विश्वप्रकाश शर्मालगायत केही नेता यो पाँचवर्षे कार्यकालभरि नै मन्त्री हुने सम्भावना छैन।’

कांग्रेसभित्रको भागबण्डा मिलेपछि भोलिसम्म शेखर पक्षबाट उपसभापति तथा स्याङ्जाका सांसद धनराज गुरुङ, मोरङबाट निर्वाचित सांसद डिगबहादुर लिम्बू र कपिलवस्तुका सांसद सुरेन्द्र आचार्य मन्त्री बन्ने सूचीमा छन्।

शेखर समूहले थप बोनस पाएको राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्कीको नाम नेताहरूले लिएका छन् । यद्यपि, यसमा टुङ्गो लाग्न बाँकी छ। संस्थापन पक्षबाट भने मोहन बस्नेत र एनपी साउद थपिने पक्का छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved