धुलिखेल–खावा सडक : दश महिना दश प्रतिशत काम, निर्माण कम्पनीलाई सात दिनको म्याद

नेपालभ्युज

धुलिखेल–खावा सडक : दश महिना दश प्रतिशत काम, निर्माण कम्पनीलाई सात दिनको म्याद

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई निर्माणको कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिइएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिएका हुन् । निर्माणकार्य अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको ४७ प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए । उनका अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सरोकारवालाबीचको छलफलमा एक हप्ताभित्र सडक निर्माणले गति नलिए निर्माण कम्पनीलाई ठेक्का नै खारेज गर्नेसम्मको चेतावनी दिइएको छ । ‘पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले बाध्य भई यसअघि तीन दिने स्पष्टीकरण सोधेका थियौं, स्पष्टीकरण पनि चित्तबुझ्दो आएको थिएन, अब सात दिनको म्याद दिएका छौँ’, मरासिनीले भने ।

मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता दिइएन भने सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रियामा समेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तीव्रता दिन एक हप्ताको ‘अल्टिमेटम’ दिइएको र समय सीमासम्म पनि निर्माण व्यवसायीले कामलाई अटेर गरेमा कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

उक्त सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग  २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनाएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम एक महिनादेखि रोकेको हो । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ । यही सडक काभ्रेपलाञ्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved