प्रचण्ड–लेखराजको त्यो सम्बन्ध, जसलाई ०३८ सालमा पेस्तोलले जोडेको थियो !

प्रचण्ड–लेखराजको त्यो सम्बन्ध, जसलाई ०३८ सालमा पेस्तोलले जोडेको थियो !

काठमाडौं। आइतबार बिहान बुद्ध एयरको काठमाडौं–धनगढी नियमित उडानमा भीआईपी यात्रु थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। साथमा उनको कार्यालय टिम पनि सँगै थियो।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै नेकपा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घर पुगे।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै भट्ट निवास पुग्नु आकस्मिक थिएन । सुरक्षा निकाय र माओवादीका केही नेतालाई यो विषयमा जानकारी थियो। प्रधानमन्त्री आउने कुरा भट्ट निवासलाई पनि अग्रिम जानकारी थियो।

प्रचण्ड आफैंले भट्टलाई फोन गरेर आउँदैछु भनेका थिए। भट्ट परिवारका अनुसार बिहान ८ बजेतिर प्रधानमन्त्री प्रचण्डले फोन गरेर ‘म सुदूरपश्चिमको कार्यक्रममा आउँदैछु, तपाईंकोमा पनि पस्ने मन छ’ भनेका थिए। जवाफमा लेखराजले पनि हुन्छ आउनुस् भन्दै खाना (लन्च)को अफर गरेका थिए। परिवारका सदस्यका अनुसार त्यहाँ प्रधानमन्त्रीले ‘लन्च’ खाएनन् ।फलफूल मात्रै खाएर बिदा भए।

०३८ सालमा पेस्तोलले जोडेको सम्बन्ध

प्रचण्ड–लेखराज सम्बन्ध २०३८ सालदेखिको हो। माओवादी जनयुद्धका एक कुशल कमान्डर र प्रचण्डका अति विस्वास पात्रको रूपमा चिनिएका भट्टसँग प्रचण्ड को सम्बन्धमा केही वर्षदेखि ‘ब्रेकअप’ भयो। नेकपा विभाजनसँगै भट्टले नेकपा एमाले रोजे । त्यसपछि ४० वर्षदेखिको प्रचण्डसँगै माओवादी सम्बन्धबाट पनि भट्ट टाढिए।

प्रचण्डको सम्बन्ध लेखराजसँग मात्रै होइन उनको घर र परिवारसँग समेत निकट थियो। लेखराजको घरमा प्रचण्डका लागि छुट्टै कोठा थियो र अझै पनि छ। त्यसैगरी, लेखराजका परिवार र छिमेकीले समेत प्रचण्डलाई त्यही घरको सदस्य सम्झिन्छन्।‘यो घर मेरो पनि हो, त्यसैले आएँ, त्यो माथिको कोठा मेरै हो’ आइतबार पनि प्रचण्डले यसै भने।

२०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्दासम्म प्रचण्ड–लेखराज सम्बन्ध गाढा थियो । तर, जब ०७७ मा सर्वोच्च अदालतको आदेशले नेकपा फुट्यो त्यसपछि प्रचण्ड–लेखराजको सम्बन्ध पनि टुट्यो। लेखराज एमालेतिर लागे ।

नेकपा विभाजनपछि पहिलोपटक २०७७ साल माघ १८ मा जब भट्टको गृहजिल्ला कैलाली पुगेर प्रचण्डले लेखराजका विरुद्धमा आक्रोश पोखे त्यसपछि दुईजनाबीच बोलचाल बन्द भयो। अध्यक्ष प्रचण्डले त्यो बेला भट्टका बारेमा भनेका थिए–‘मैले हुर्काएर मन्त्री बनाएको मान्छे ओलीको वरिपरि घुम्ने दलाल भएको छ।’

प्रचण्डले कैलालीमै पुगेर त्यो भाषणमा भट्टलाई ‘आफूले सुदूरपश्चिमको नायक मानेको तर, केपीको वरिपरि घुम्ने दलाल मात्रै होइन दलालको पनि दलाल भए’ भन्दै होच्याएका थिए। प्रचण्डले अझै थपेका थिए,‘पत्याइनसक्नु भयो । दुईचार रात त मलाई टेन्सनै भएको थियो।’

प्रचण्ड त्यति आक्रोशित हुनुको कारण उनीहरू धेरै निकट थिए। भारतको गोरखपुरमा ०३८ सालमा युवक संगठनको भेला हुँदै गर्दा उनीहरू भेटिएका थिए। संगठनका केन्द्रीय अध्यक्ष प्रचण्ड थिए भने भेलामा केन्द्रीय सदस्य भट्टले प्रचण्डलाई ‘जनयुद्धको सफलताका लागि’ एउटा पेस्तोल उपहार दिए । त्यही बेलादेखि प्रचण्ड र लेखराजबीच घनिष्ट सम्बन्ध थियो।

०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गर्दा पहिलो भूमिगत हुने १९ जनामा भट्ट पनि थिए। जनयुद्धदेखि शान्ति प्रक्रियासम्म भट्टले पार्टी र प्रचण्डका लागि ठूलै योगदान दिए। तर, छुट्ने बेलामा ‘दलाल’ को संज्ञा दिएपछि भट्टले ईख लिएर प्रचण्डलाई वास्ता गरेका थिएनन्।

हुन त, प्रचण्डसँग जनयुद्धकालीन कमान्डरहरू भट्टभन्दा सिनियर नेताहरू मोहन वैद्य, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, मणि थापा, प्रभु शाह, टोपबहादुर रायमाझीलगायत धेरै नेता साथमा छैनन्।

प्रचण्डले लेखराजलाई दलाल भनेपछि लेखराज समर्थक एक कार्यकर्ताले फेसबुकमा लेखेका थिए–‘अध्यक्ष कमरेड प्रचण्ड २०३८ सालमा अत्तरियास्थित लेखराज भट्टको निवासमा आउँदा लेखराज भट्टको आमाले सेवा गरेको बिर्सनुभयो ?के आमा दलाल थिइन् त ? लेखराज भट्टले पेस्तोल दिँदा के उहाँ दलाल हुनुहुन्थ्यो ? लखनउमा बसको देखि रेलको टिकट काट्ने कमरेड निशा र राकेश दलाल भए ? तपाईंको कुन छोरी र ज्वाईंले जनयुद्धमा कहिले कुनदिन योगदान गरे ? छोरीहरूले बन्दुक बोकेको जनमुक्ति सेनाको जिम्मेवारी बहन गरेको प्रमाण सार्वजनिक गरेर देखाउनुस् ?’

प्रचण्ड-भट्टको सम्बन्ध पञ्चायतदेखि जनयुद्धकाल हुँदै शान्ति प्रक्रियाको ४० वर्षसम्म कति निकट र विस्वासमा टिकेको थियो भन्ने कुरा कुनै समय भट्टले आफ्नो गाउँमा प्रचण्डलाई मोटरसाइकलमा बोकेर हिँडिरहेको तस्वीरले समेत पुष्टि गर्दछ।

०६३ को असार पहिलो हप्ता डोटीको विपीनगर प्रशिक्षणपछि अत्तरियास्थित भट्टको घरमा आउँदै गर्दाको उक्त तस्वीर पत्रकार भोजराज भाटले खिचेका थिए।

नेकपा विभाजन हुनु अघिसम्म धनगढी जाँदा प्रधानमन्त्री प्रचण्ड लेखराजको घर पुगेर खाना खाएर मात्रै अन्यत्र जाने गर्थे। तर, २०७५ पछि उनीहरूको सम्बन्ध चिसियो। त्यसपछि उनले धनगढी जाँदा पनि भट्टलाई भेट्ने गरेका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved