उपनिर्वाचन

पहिलो संविधानसभामा ३ वटै क्षेत्र जितेको माओवादीले अहिले उम्मेदवारसमेत उठाउन सकेन

स-साना दलहरूले पनि आफ्नै उम्मेदवार खडा गर्दै गर्दा प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रलाई भने उपनिर्वाचन ‘हर्ष न विस्मात’ को अवस्था छ ।

पहिलो संविधानसभामा ३ वटै क्षेत्र जितेको माओवादीले अहिले उम्मेदवारसमेत उठाउन सकेन

काठमाडौं । चितवन-२, बारा-२ र तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राय: सबै दलहरूले उम्मेदवारी दिँदा सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) भने चुपचापप्राय: छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी (जपा) लगायतका साना दलहरूले उम्मेदवार उठाइरहेको सन्दर्भमा प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्र भने ‘मतदाता’ मात्रै भएको भन्दै कतिपय समर्थकहरूले आलोचनासमेत गर्थ थालेका छन् ।

माओवादी केन्द्रभन्दा दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) आफ्नै उम्मेदवार उठाएका छन् । कांग्रेसले चितवन जीतनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर बारा २ मा जसपा अध्यक्षसमेत रहेका गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार बनाएको छ । उसले चितवन-२, तनहुँ-१ र बारा-२ मा क्रमश: रामप्रसाद न्यौपाने, सर्वेन्द्र खनाल र पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । गठबन्धनमा मत विभाजन भएको र त्यसको फाइदा आफूहरूलाई हुने नेता विष्णु रिजाल बताउँछन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छैन । उसले तनुहँ-१ मा प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भनेको थियो । तर, अन्तिममा आएर उनले पनि उम्मेदवारी दर्ता नगराउने भएका छन् । उसको अवस्था पनि माओवादी केन्द्रकै जस्तो देखिने भएको छ ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनवटै क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ । उसले तनहुँ १ मा केन्द्रीय सदस्य शोभा गुरुङ, चितवन २ मा पूर्वजिल्ला अध्यक्ष जीवलाल पुरी र बारा-२ मा युवा नेता सोनालाल साहलाई उम्मेदवार बनाएको छ । लोकतन्त्रको नाममा ‘मनपरीतन्त्र’ चलाउनेहरूविरुद्ध आफूहरूले उम्मेदवारी दिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ बताउँछन् ।

जसपाले भने बारा-२ मा उम्मेदवारी दिएको छ । त्यहाँ अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनलाई कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धनसम्बद्ध दलहरूले समर्थन गर्दैछन् । उनले त्यहाँ आफैँ उठ्नका लागि त्यहाँबाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएका छन् ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तनहुँ-१ र चितवन-२ छाडेर बारा-२ मा उम्मेदवार उठाएको छ । माओवादी केन्द्रबाट जनमत प्रवेश गरेका शिवचन्द्रप्रसाद कुशवाहा त्यहाँ उम्मेदवार छन् । उनी त्यही क्षेत्रबाट निर्वाचित सभासदसमेत हुन् ।

यस्तै, नागरिक उन्मुक्तिले पनि तीनवटै क्षेत्रमा आफ्नै उम्मेदवार बनाएको छ । बारा-२ मा रामचन्द्र चौधरीलाई उम्मेदवार बनाएको उसले चितवन-२ र तनहुँ-१ मा क्रमश: राजेश अधिकारी र भीम सुनारलाई उम्मेदवार बनाएको छ ।

यसरी स-साना दलहरूले पनि आफ्नै उम्मेदवार खडा गर्दै गर्दा प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रलाई भने उपनिर्वाचन ‘हर्ष न विस्मात’ को अवस्था छ । माओवादी केन्द्रले आफैँले किन उम्मेदवार नबनाएको भन्ने प्रश्नमा एक पदाधिकारी मूलत: २ कारण देखाउँछन् ।

पहिलो— उपनिर्वाचन हुन लागेको चितवन २, तनहुँ १ र बारा २ मा गत निर्वाचनमा माओवादी केन्द्रले जितेको नहुनू । ती पदाधिकारीले भनेका छन्, ‘गत निर्वाचनमा यी कुनै पनि क्षेत्रमा हाम्रो पार्टीले जितेको थिएन । त्यसैले पनि हामीले दाबी नगरेका हौँ ।’

गत निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जितेका हुन् भने तनहुँ-१ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल र बारा-२ बा जसपाका रामसहाय प्रसाद यादव जितेका हुन् । ती पदाधिकारी थप्छन्, ‘माओवादी केन्द्रले जितेको कुनै पनि क्षेत्र रिक्त भएको छैन । त्यसैले, हामीले दाबी नगरेका हौँ ।’

दोस्रो— गठबन्धन भएकाले । ती पदाधिकारी गठबन्धन भएको कारण पनि आफूहरूले दाबी नगरेको बताउँछन् । ‘गठबन्धन छ । त्यसमा शक्ति सन्तुलन मिलाएरै लानुपर्‍यो । यस्तो अवस्थामा हामीले दाबी गरेनौँ,’ उनले भनेका छन् ।

यदि, गठबन्धन नभएको भए आफूहरूले सबै क्षेत्रमा उम्मेदवार दिएको हुने उनले बताए । उनले भनेका छन्, ‘निर्वाचनको हिसाब निर्वाचनमै, सरकारको हिसाब सरकारमै भनेर भन्दा पनि चौतर्फीरूपमा सन्तुलन मिलाउनुपर्छ भन्ने हामीलाई लागेर यसो गरेका हौँ ।’

तपाईंहरू भन्दा सानो दलहरूले र गठबन्धनमै रहेका दलहरूले आफैँले उम्मेदवारी दिएका छन् नि ? भन्ने प्रश्नमा ती पदाधिकारीको प्रष्टोक्ति छ, ‘त्यो दु:खद् हो । उहाँहरू गठबन्धनप्रति मर्यादित देखिनुभएन । गठबन्धनमा भइसकेपछि त्यसो नगर्नुपर्थ्यो । यसले बाहिर राम्रो सन्देश गएन भनेर हामीले भनेकै थियौँ । उहाँहरूले उम्मेदवारी दर्ता गराएका गल्ती गर्नुभयो ।’

यद्यपि आफूहरूले गठबन्धनका तर्फबाट बनेका उम्मेदवारहरूलाई भरपुर सघाउने भनाइ उनको छ ।

०००

०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले यी ३ वटै क्षेत्रमा जित निकालेको थियो । तर, अहिले उम्मेदवार समेत उठाउन सकेको छैन । ०६४ को संविधानसभा निर्वाचनमा बारा-२ बाट माओवादीका शिवचन्द्र कुशवाहाले चुनाव जितेका थिए। ०७९ को प्र्तिनिधी सभा निर्बाचनमा समेत निकटतम प्रतिस्पर्धी रहेका कुशवाहा अहिले जनमत पार्टीबाट उम्मेदवार छन्। यहाँ माओवादीको जनाधार राम्राे हुँदाहुँदै पनि सत्ता गठबन्धनका उम्मेदवार यादवलाई सघाउने भएको छ।

त्यसैगरी, ०६४ को संविधानसभा निर्वाचनमा चितवनका २ र ३ माओवादीले जितेको  क्षेत्र हो । यहाँबाट हाल एमाले उपाध्यक्ष रहेका रामबहादुर थापा बादल र नारायण दाहालले चुनाव जितेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृह जिल्ला चितवनमा  ०६४ को संविधान सभामा अरु २ क्षेत्रमा पनि माओवादी उम्मेदवार विजयी भएका थिए। जहाँबाट अमिक शेरचन र चित्रबहादुर श्रेष्ठले समेत चुनाव जितेका थिए।

माओवादीको जनाधार बलियाे भएकै कारण स्वयं प्रचण्डपुत्री रेणु दाहाल दुईपटक भरतपुर महानगरकाे मेयरसमेत निर्वाचित भएकी छिन्।  तर, पनि माओवादीले उम्मेदवारी दिने कुरा छलफलमा समेत आउन सकेन।

तनहुँ-१ मा पनि  ०६४ को संविधानसभा चुनाव माओवादीले नै जितेको थियाे। माओवादी नेता सुरेश आले मगरले चुनाव जितेको याे क्षेत्रमा समेत माओवादीले उम्मेदवारी दिन सकेन। चितवन र तनहुँमा गएको मंसिर ४ को निर्वाचनमा पनि माओवादीको उम्मेदवार थिएन।

०६४ को संविधानसभादेखि ०७९ वैशाखसम्म आउँदा माओवादीले उम्मेदवारसमेत उठाउन नसक्नुलाई माओवादीकै कमजोरी रहेको नेताहरू स्वीकार गर्दछन्।

एक माओवादी नेताका अनुसार  तनहुँ-१ बाट नाम सिफारिस भएकामध्ये श्रीराम ढकालले स्वास्थ्यको कारण उम्मेदवार नहुने बताएका थिए भने ओमकुमारी पौडेलले गठबन्धनको साझा उम्मेदवार बन्न नपाउँदा एकल उम्मेदवारी दिन मानिनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved