उपनिर्वाचन : रोचक प्रतिस्पर्धा, देखिनसक्छ नसोचेको परिणाम !

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २, तनहुँ १ र बारा २ तीनवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

नेपालभ्युज

उपनिर्वाचन : रोचक प्रतिस्पर्धा, देखिनसक्छ नसोचेको परिणाम !

काठमाडौं। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २, तनहुँ १ र बारा २ तीनवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, अर्थविद् डा. स्वर्णिम वाग्ले, सुशासन पार्टीका अध्यक्ष एवम् नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल प्रतिस्पर्धामा उत्रिने लगभग पक्का देखिएको छ ।

चितवन २ मा लामिछानेसँग प्रतिस्पर्धा गर्न कांग्रेसले जीतनारायण श्रेष्ठलाई अगाडि सारेको छ भने एमाले मौन छ । यो क्षेत्रमा मंसिर ४ को चुनाव प्रतिस्पर्धीभन्दा तेब्बर बढी मत ल्याएर लामिछानेले नै जितेका थिए । यहाँ एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अगाडि सार्ने देखिन्छ । लामिछाने, श्रेष्ठ र न्यौपाने तीनैजना युवा नेता हुन् ।

यसैगरी, तनहुँमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले छाडेको यहाँ कांग्रेसको मत बलियो छ ।

तर, हिजो मात्रै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई यही क्षेत्रबाट रास्वपाले र प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई एमालेले उम्मेदवार बनाउने कुराले त्यहाँको चुनावी भिडन्त थप रोचक हुने देखिन्छ ।

भट्टराई कांग्रेसभित्र अवसर नपाएका र जनतामा भिजेका नेता मानिन्छन् भने वाग्ले अर्थविद् भएको तर पार्टीमा अवसर नपाएर कांग्रेस छाडेका व्यक्ति हुन् । खनाल यसअघि काठमाडौं ६ बाट पराजित एमाले नेता हुन् ।

उता उपराष्ट्रपति रामसहाय यादवले छाडेको बारा २ को चुनावमा पनि यसपटक थप रोचक मोडमा पुगेको छ। गएको मंसीर ४ को निर्वाचनमा सप्तरीबाट पराजित जसपा अध्यक्ष यादवसँग जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा, लोसपा वरिष्ठ नेता महतो र नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सुशासन पार्टीका अध्यक्ष रहेका खरेल रास्वपाबाट चुनाव लड्ने तयारीमा छन् भने कुशवाहा माओवादी केन्द्र छाडेर जनमत प्रवेश गरेका नेता हुन् । यादवलाई टक्कर दिन राजेन्द्र महतो उठाउने लोसपाको तयारी हुँदा यहाँको चुनावी भिडन्त पनि रोचक बन्नेछ ।

यहाँ एमालेले उम्मेदवार कसलाई उठाउने भन्ने निर्णय गर्न बाँकी छ । कांग्रेस र माओवादीले चाहिँ आफ्नै उम्मेदवार उठाउने भन्दा पनि कसलाई समर्थन गर्ने भन्ने टुङ्गो छैन ।

यसरी हेर्दा रविलाई चितवनमा गठबन्धनका उम्मेदवार श्रेष्ठले टक्कर दिँदै गर्दा एमाले उम्मेदवारले त्यसको फाइदा लिन पनि सक्छन् । यो क्षेत्रमा एमालेको मत बलियो छ । मंसिरको चुनावभन्दा अगाडी यो क्षेत्र एमालेले जितेको थियो ।

तनहुँमा अहिलेसम्म कांग्रेसले आफ्नो बलियो पकड राख्दै आएको भए पनि स्वर्णिम वाग्लेको पार्टी परित्याग र रास्वपाको उपस्थितिले यहाँ कांग्रेस कमजोर बन्नसक्ने केही विश्लेषकको बुझाइ छ । तर,यहाँ एमालेको मत भने कमजोर नै छ ।

एमाले फुटेपछि गठन भएको एकीकृत समाजवादीको उपस्थितिले यहाँ एमालेको मत काटिन सक्छ । समाजवादीले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने चर्चा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved