भारतको पञ्जाबमा खालिस्तानविरुद्ध कठोर कारबाही, एकदिनमै सय भन्दा बढी पक्राउ

नेपालभ्युज

भारतको पञ्जाबमा खालिस्तानविरुद्ध कठोर कारबाही, एकदिनमै सय भन्दा बढी पक्राउ

काठमाडौं । भारतको पञ्जाब प्रदेश सरकारले अमृतपाल सिंह खालसा नेतृत्वको ‘वारिस पञ्जाब दे’ संगठनविरुद्ध व्यापक प्रहरी कारबाही सुरु गरेको छ । कारबाही सुरु गर्नु अगाडी केन्द्रीय गृहमन्त्री अमित शाह र पञ्जाबका मुख्यमन्त्री भगवन्त मानबीच मार्च २ मा लामो छलफल भएको थियो ।

केन्द्रमा भाजपा र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ । यी दुई पार्टीबीचको सम्बन्ध यतिखेर राम्रो छैन । तर, खालिस्तान विद्रोही विरुद्धको कारबाहीमा भने दुवै पार्टीका सरकार एक भएका छन् ।

प्रहरी कारबाहीका क्रममा पञ्जाबमा इन्टरनेट सेवा बन्द गरिएको छ भने ‘वारिस पञ्जाब दे’ संगठनका कार्यकर्ताको घरमा व्यापक खानतलासी र गिरफ्तारी गरिएको छ । संचार माध्यमका अनुसार अहिलेसम्म १०० भन्दा बढी खालिस्तानी कार्यकर्ता प्रक्राउ परेका छन् ।

केही महिना अघिदेखि पञ्जाबमा खालिस्तान आन्दोलन चर्किदै गएको थियो । दुबईमा बस्दै आएका एक युवा उद्यमी अमृतपालसिंह खलसाले पञ्जाब फर्किएर आन्दोलनलाई गति दिएका थिए ।

कतिपय संचार माध्यमले प्रक्राउ पर्नेमा खालिस्तानी नेता अमृतपाल सिंह खालसा समेत भएको बताए पनि पञ्जाब प्रहरीले त्यसको पुष्टि गरेको छैन । बरु उनको नाममा ‘फरार आतंककारी’ को सुचना जारी गर्दै ‘आत्मसमर्पण गर्न भनिएको छ ।

‘वारिस पञ्जाब दे’ संगठन पञ्जाबी कलाकार दीप सिद्दुले सुरुवात गरेका थिए । गत बर्षको फेब्रुअरीमा एक सडक दूर्घटनामा उनको निधन भएपछि त्यसको नेतृत्व २९ बर्षीय युवा अमृतपाल सिंह खालसाले गर्दै आएका छन् ।

फेब्रुअरी २४ मा अमृतसरको अजनाला प्रहरी कार्यालयमा आक्रमण भएको थियो । उप्त घटनामा अमृतपाल सिंह खालसाका समथर्कले थानामा आक्रमण गरी आफ्ना साथीलाई छुटाउने प्रयत्न गरेका थिए । त्यसक्रममा झडप हुँदा केही प्रहरी समेत घाइते भएका थिए ।

मार्च १–२ मा नयाँ दिल्लीमा भएको जी–२० मन्त्रीस्तरीय बैठकको सुरक्षा माहोललाई दृष्टिगत गरी केन्द्र र प्रदेश सरकारले कारबाही केही समय स्थगन गरेका थिए । सरकारले खालसा समथर्कविरुद्ध कठोर कारबाही गर्ने संकेत पाइपछि अमृतपाल सिंहले एक भिडियो सन्देशमार्फत् ‘आफ्नो हत्या हुन सक्ने’ बताएका थिए ।

छिमेकका हिमाञ्चल र हरियाणा सरकारले पनि पञ्जाब सरकारको कारबाहीलाई सहयोग गर्न सुरक्षा व्यवस्था कडा बनाएका छन् । केन्द्र सरकारले अतिरिक्त सुरक्षा बल पञ्जाब पठाएको छ ।

खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सुरुवात भएको थियो । सन् १९८४ मा अपरेशन ब्लुस्टारमा यसका नेता जर्नेल भिन्डरवालेको मृत्यु भएपछि यो आन्दोलन सेलाएको थियो । यही क्रममा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै शिख अंगरक्षकद्धारा मारिएकी थिइन ।

भारत–पाक विभाजनपछि दुईदेशमा बाँडिएको पञ्जाब र भारतको हिमाञ्चल प्रदेशलाई समेत मिलाएर भिन्नै खालिस्तान देश बनाउन चाहने अलगाववादी अभियानलाई खालिस्तान आन्दोलन भनिन्छ । अमृतपाल सिंह खालसालाई भारतीय संचार माध्यमले भिन्डरवाले–२ भन्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved