उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

नेपालभ्युज

उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी। उत्तर कोरियाले पुनः लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृंखला जारी राखेको छ ।

पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

“हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको छ,” दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भनेका छन् ।

उनका अनुसार आज प्रक्षेपण गरिइको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आह्वान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताए । जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र ६ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताए ।

जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्ने बताइएको छ ।

पैतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved