आगलागीमा घाइते भएका सांसद भण्डारी बोल्न सक्ने भए

नेपालभ्युज

आगलागीमा घाइते भएका सांसद भण्डारी बोल्न सक्ने भए

काठमाडौं। घरकै ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी सामान्य बोल्नसक्ने अवस्थामा छन् ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार भण्डारीलाई एन्टिबायोटिक थप गरिएपछि इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उपचारमा संलग्न वरिष्ठ डाक्टर अमोल मात्रेका अनुसार ५ लिटर अक्सिजनमा मात्र राख्ने भनिए पनि प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ । भण्डारीको सबै पारामिटरहरू नर्मल रहेको उनीसँगै गएका सहयोगी एवं व्यवसायी योगराज कँडेलले जनाएका छन् ।

पछिल्लो समयमा दाजु चन्द्र भण्डारी बोल्न थालेको भन्दै योगराजले सामाजिक सञ्जालमा समेत लेखेका छन ।‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनुभयो, यहाँ म सँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टि हटाउन लगाउ भन्नुभयो’ भण्डारीसँगै मुम्बईमा रहेका योगराजले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अघिल्लो साताको बुधबार शंखमुलस्थित निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर भण्डारी घाइते भएका थिए । उनीसँगै घाइते भएकी उनको ८६ वर्षीय आमाको भने भोलिपल्टै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका भण्डारीलाई कीर्तिपुरमा उपचार हुन नसकेपछि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved