‍पुस १० अघिको गठबन्धनमा फर्कने कांग्रेसको प्रयास सफल होला ?

यसकै कारण पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन भत्किने र पुरानै अर्थात् कांग्रेस नेतृत्वकै गठबन्धन ब्युँतिन सक्ने आकलन सुरू भएको छ ।

‍पुस १० अघिको गठबन्धनमा फर्कने कांग्रेसको प्रयास सफल होला ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा ३२ सिट जितेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते अर्कै गठबन्धनबाट प्रधानमन्त्री बने ।

पुस १० अगाडिसम्म कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेका प्रचण्ड प्रधानमन्त्री भने नेकपा (एमाले) नेतृत्वको गठबन्धनबाट बने । त्यसबेला प्रधानमन्त्री माओवादी केन्द्रले पाउँदा राष्ट्रपति एमालेले लिने मौखिक सहमति बनेको थियो ।

त्यही सहमतिअनुसार एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान दोहोर्‍याइरहँदा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफूअनुकूल ‘कोर्स करेक्सन’ को प्रयासमा रहेको नेपाली कांग्रेस पनि राष्ट्रपति फुत्काउन लागिरहेको छ ।

यसकै कारण पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन भत्किने र पुरानै अर्थात् कांग्रेस नेतृत्वकै गठबन्धन ब्युँतिन सक्ने आकलन सुरू भएको छ । हुन पनि वर्तमान राजनीतिक ‘सिनारियो’ यसो हुन सक्दैन भन्न सकिने खालको देखिँदैन ।

यसलाई पुस १० गतेअघिको गठबन्धनमा सामेल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बोलेको कुराले थप पुष्टि गर्नसक्छ । आइतबारमात्रै उनले वर्तमान ‘गठबन्धन कुनै पनि बेला टुट्न सक्ने’ दाबी गरे । स्मरण रहोस्— त्यसअघि उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए । उनले थपे, ‘यदि गठबन्धन टुटिहाले अचम्म मान्नुपर्ने छैन ।’

त्यसो त पुस १० अघिकै गठबन्धन ब्युँताउन विशेषगरी कांग्रेस नेताहरूले सक्रियता बढाएका छन् । उनीहरुले शृङ्खलाबद्धरूपमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिरहेका छन् । दिन बिराएर कांग्रेस नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकै हुन्छन् ।

आइतबार साँझमात्रै रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गगनकुमार थापा र कृष्णप्रसाद सिटौलालगायतका नेता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा राष्ट्रपतिका बारेमा मात्रै नभइ फरक गठबन्धनका सन्दर्भमा समेत छलफल भएको बालुवाटार स्रोत बताउँछ । ‘त्यसमा नयाँ गठबन्धनबाट अघि बढ्दा पो सबैका लागि राम्रो हुन्छ कि भन्नेसम्मका कुराकानी भएका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।

कांग्रेस नेताहरू वर्तमान गठबन्धन टुट्यो भने राम्रै हुने बताउँछन् । नेता एनपी साउद भन्छन्, ‘खासमा एमालेसँग त गठबन्धनमा बस्ने नैतिक आधार नहुनुपर्ने हो । तर, ऊ गठबन्धनमै छ । यदि यो गठबन्धन टुट्यो भने राम्रै होला ।’

तर, कांग्रेसको अहिलेको प्रमुख ध्येय भने गठबन्धनभन्दा राष्ट्रपति नै रहेको उनी दाबी गर्छन् । ‘अहिलेचाहिँ राष्ट्रिय सहमतिमार्फत कांग्रेसले राष्ट्रपति लिने भन्ने हो । र, यो सम्भव पनि छ,’ उनले भने ।

कांग्रेसका अर्का एक नेता भने वर्तमान गठबन्धन टुट्नैपर्नेमा जोड गर्छन् । यो गठबन्धन नटुटेसम्म संविधानसमेत सुरक्षित नरहने तर्क गर्दै उनले भने, ‘यो गठबन्धन टुट्यो भने कांग्रेस नेतृत्वमा अर्को गठबन्धन बन्छ । त्यसपछि ढुक्कसँग सरकार अघि बढ्छ ।’

‘कांग्रेस नेतृत्वमा गठबन्धन बने ठिकै हुन्छ’

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई पनि एमाले नेतृत्वको गठबन्धनमा ‘बस्न नपाए हुन्थ्यो’ भन्ने लाग्ने गरेको नेताहरूको भनाइबाट पुष्टि हुन्छ ।

माओवादी केन्द्रका एक पदाधिकारीले एमालेभन्दा कांग्रेस ठिक पार्टी भएको उल्लेख गर्दै नेपालभ्यूजसँग भने, ‘पछिल्लो समयका राजनीतिक कर्मअनुसार त एमालेभन्दा कांग्रेस धेरै ठिक देखियो नि ।’ प्रधानमन्त्रीको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको दुई/दुईपटकको संसद् विघटनलाई लक्षित गर्दै ती नेताले भने, ‘राष्ट्रघात गर्नेहरूसँग एकैठाउँ बस्नु खासरूपमा मनले मानेको छैन ।’

यद्यपि राष्ट्रिय सहमतिमै राष्ट्रपति कांग्रेसले नै पाए गठबन्धनबाट एमाले पनि नबाहिरियोस् भन्ने चाहना रहेको सुनाउँछन् माओवादी केन्द्रका उपाध्यक्ष मातृकाप्रसाद यादव । ‘राष्ट्रिय सहमति भनेकै त्यही हो । सबै दल र नेताले आफूलाई राष्ट्रहितमा समाहित गरून् भन्ने त हो नि । त्यसका लागि दायित्व पनि बराबरी हुनुपर्‍यो । दायित्व बराबरी हुनका लागि दामासाहीरूपमा पाउनुपर्‍यो,’ उनले भने ।

तर, आफूहरूको जोड गठबन्धनबाट एमाले बाहिरियोस् र कांग्रेस भित्रियोस् भन्ने नरहेको उनले प्रष्ट्याए । ‘चाहना नहुँदा-नहुँदै त्यस्तो भयो भने हुने कुरा भइहाल्छ ।’ उनले थपे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved