भारतबाट सामान्य कर्मचारी आउँदा नेताहरू किन लम्पसार ? : चित्रबहादुर केसी

नेपालभ्युज

भारतबाट सामान्य कर्मचारी आउँदा नेताहरू किन लम्पसार ? :  चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताएका  छन्।

उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठूलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठूलो नहुने बताउँदै भारतबाट सामान्य कर्मचारी आउँदा पनि नेपालका प्रमुखहरू  नै लम्पसार परेको आरोप लगाएका हुन् ।

‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरूको बीचमा भेटघाटको अभियान चलाउनुभयो’ केसीले भने, ‘ राष्ट्र सानो ठूलो हुनसक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भुगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर, सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठूलो हुँदैन ।’

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहर”ले राष्ट्रपतिको चुनावमा यसअघि अप्रत्यक्ष भूमिका खेले पनि यसपटक प्रत्यक्ष भूमिका खेलेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद केसीले शक्ति राष्ट्रहरुले यसपटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको दाबी गरेका हुन् ।

यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उनको भनाइ छ । सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम मात्र गरिरहेको दाबी गरे ।

‘राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रूपले नै आफ्नो देशको अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved