काठमाडौं । नेकपा एमालेले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टीमा वैचारिक, संगठनात्मक सुदृढीकरण र विस्तारका लागि आगामी फागुन र चैत्र दुई महिना विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘मिशन ग्रासरुट अर्थात पार्टीको जगै देखि पार्टीलाई मजबुत गर्ने उद्देश्यका साथ यो अभियान दुई महिना सञ्चालन हुनेछ ।’
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए । सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई पालिकाहरूमा खटाइने उनले जानकारी दिए । केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरू सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे ।
सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए । बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ ।
त्यसैगरी पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
Facebook Comment
Comment