लुम्बिनी क्षेत्रमा सदभाव बिगार्ने प्रयास, बापुको कार्यक्रमको विरोधमा जुलुस र सभा

प्रवचनमा सहभागी हुन १ सयभन्दा धेरै देशबाट बापुका हजारौं अनुयायी लुम्बिनी आइसकेका छन् । लुम्बिनी विकास कोषले यो कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै केही व्यक्तिमा अनावश्यक भ्रम परेको बताएको छ ।

नेपालभ्युज

लुम्बिनी क्षेत्रमा सदभाव बिगार्ने प्रयास, बापुको कार्यक्रमको विरोधमा जुलुस र सभा

लुम्बिनी। बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा धार्मिक सदभाव खल्बल्याउने प्रयास भएको छ । एउटा धार्मिक कार्यक्रमका विषयमा सोमबार लुम्बिनी परिसर क्षेत्रमा जुलुस र कोणसभासमेत भएको हो ।

लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा माघ २१ गतेदेखि २९ गतेसम्म ‘श्री रामकथा प्रवचन’ कार्यक्रम राखिएको छ । प्रवचन दिन भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु आउँदैछन् ।

तर, केही बौद्धमार्गीले यसरी कार्यक्रम गर्नु आफ्नो धर्ममाथि अतिक्रमण भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले कार्यक्रमको विरोध गर्दै लुम्बिनी परिसरमा आज जुलुस निकालेका छन् ।

विरोध जुलुसमा सहभागी हुन काठमाडौं, पोखरा लगायतका शहरबाट पनि केही बौद्धमार्गी लुम्बिनी आएको बताइएको छ। लुम्बिनी विकास कोषले रामकथा प्रवचनका लागि भन्दै सभाहल भाडामा लगाएको छ ।

लुम्बिनी क्षेत्रमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विरोध प्रदर्शनमा उत्रिएकाहरूले भारतले धार्मिक अतिक्रमण गर्न खोजेको भन्दै नाराबाजी गरेका छन् ।

स्थानीय बौद्धमार्गीले भने धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेका छन् । कार्यक्रमप्रति स्थानीयको सदभाव देखिएको छ । बाहिरबाट आएकाहरूले चर्को विरोध गरेको बताइएको छ ।

उक्त प्रवचनमा सहभागी हुन १ सयभन्दा धेरै देशबाट बापुका हजारौं अनुयायी आइसकेका छन् । विकास कोषले यो कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै केही व्यक्तिमा अनावश्यक भ्रम परेको बताएको छ ।

कोषका उपाध्यक्ष सिद्धिचरण भट्टराईले पर्यटन प्रवर्द्धन हुनुका साथै अन्तर्राष्ट्रिय स्तरमै लुम्बिनी क्षेत्रको प्रचार-प्रसार हुने भएकाले कार्यक्रमका लागि अनुमति दिएको बताए ।

भारतका विभिन्न धार्मिक च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएकाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने कोषको अपेक्षा छ । कार्यक्रमका क्रममा बौद्ध दर्शन विपरित हुने गरी धार्मिक प्रवचन दिन नपाईने शर्त राखेर कोषले अनुमति दिएको छ ।

हेर्नुहोस कोषले दिएको अनुमति :

लुम्बिनी विकास कोषले विज्ञप्ति निकालेर सदभावको अपिल गरेको छ । लुम्बिनीमा निर्माण भएको हलमा बौद्ध धर्मलाई ठेस नपुग्ने गरी कसैले कार्यक्रम गर्न खोज्दा आपत्ति मान्नुपर्ने कुनै कारण नरहेको भन्दै विज्ञप्तिमा सहयोगका लागि आग्रह गरिएको छ ।

कार्यक्रममा आउने पाहुनाका कारण लुम्बिनी तथा आसपासका ९० प्रतिशत होटल बुक भइसकेका छन् । यसले होटल व्यवसायीमा उत्साह थपेको छ । नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक ६ हजार भन्दा धेरै सहभागी हुने बताइएको छ ।

कार्यक्रमका लागि मोरारी बापु दुईवटा चार्टर विमानबाट लुम्बिनी आउँदैछन् । यसले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष भट्टराईले नेपाल भ्युजसँग कुरा गर्दै भ्रम निवारण गरेर सबै पक्षबीच सहमतिको प्रयास भइरहेको जनाउँदै सहजतापूर्वक कार्यक्रम अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२औँ’ राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानमा प्रवचन दिने कार्यक्रम बनाएका थिए ।

जसअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

यसअघि, सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसअघि, सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved