राष्ट्रपति चयन : दलहरूबीच मनमुटाव बढ्दै, गठबन्धनमा समस्या आउनसक्छ ?

नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक संस्था मानेको छ । त्यसो त यसमा सर्वस्वीकार्य व्यक्ति बिनाविवाद चुनिनुपर्ने हो, तर अवस्था त्यस्तो छैन ।

राष्ट्रपति चयन : दलहरूबीच मनमुटाव बढ्दै, गठबन्धनमा समस्या आउनसक्छ ?

काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक संस्था मानेको छ । त्यसो त यसमा सर्वस्वीकार्य व्यक्ति बिनाविवाद चुनिनुपर्ने हो, तर अवस्था त्यस्तो छैन । राष्ट्रपति पदलाई लिएर प्रमुख दलहरूबीच बेलगाम प्रतिस्पर्धा देखिन्छ, अनि उनीहरू सुरू गर्छन् अनेकन् बखेडा झिक्न ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ, संविधानतः माघ २८ गतेभित्र अर्को राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्छ (संविधानमा राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै अर्को राष्ट्रपतिको चुनाव भइसक्नुपर्छ) । त्यसअनुसार आफूहरू तयारीमा लागेको निर्वाचन आयोगले जनाएको छ । त्यसमा संविधान र ऐन बाझेको कुरा सतहमा छ, त्यो पाटो फरक भयो । यहाँ त्यसको राजनीतिक पाटोमात्रै कोट्याउन खोजिएको हो ।

अतः राष्ट्रपतिको पदलाई लिएर खासगरी दुई ठूला दल; नेपाली कांग्रेस र नेकपा (एमाले) बीच हानथाप देखिन्छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरिरहेको वर्तमान सरकार एमालेकै प्रमुख समर्थनमा बनेको हो । प्रचण्ड जुन गठबन्धनबाट प्रधानमन्त्री बने, त्यो गठबन्धनको सबैभन्दा ठूलो दल नै एमाले हो ।

यता कांग्रेसको कथा भने फरक छ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा दुई/दुईपटक प्रतिनिधि सभा भङ्ग गरेपछि अपर्झटरूपमा बनेको गठबन्धनको नेतृत्व कांग्रेसले नै गरिरहेको थियो । तर, राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि पुस १० गते प्रचण्ड ओलीनिवास बालकोट पुगे, त्यसपछि उनको नेतृत्वमा सरकार बन्यो ।

यसपछि यहाँसम्म आउँदा राष्ट्रिय राजनीतिक कथाले ‘प्लट’ फेरेको-फेर्‍यै छ । यसबीचमा एमालेको प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले संसद्‌बाट असाधारण विश्वासको मत पाए । यसपछि झनै फरक पटकथा बन्यो । राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले के सोचिरहेका छन्, यसबारेको तथ्य विस्तारै आउला नै ।

तर, राष्ट्रपति पदलाई लिएर माओवादी केन्द्रले प्रष्टरूपमा बोलेको छैन । बरु उसले राष्ट्रिय सहमति भन्न छाडेको छैन । कांग्रेस र एमालेले भने आफूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने भन्दै आशंकायुक्त विश्वस्तता पेश गर्दै आएका छन् ।

कांग्रेस महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माको विश्वास छ, ‘नेपाली कांग्रेसले सिफारिस गरेको व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले त सार्वजनिकरूपमै आफूहरूले राष्ट्रपति पदलाई हेरेरै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताए । केही दिनअगाडि विराटनगर पुगेका उनले कार्यकर्ताहरूको बीचमा उभिएर भने, ‘अरु कारण नै थिएनन् । हामीले त प्रचण्डजीलाई राष्ट्रपति पद हेरेरै विश्वासको मत दिएका हौँ । अब यसमा प्रचण्डजीले के रेस्पोन्स दिनुहुन्छ, हेरौँ ।’

यसपछि कांग्रेस नेताहरू रमेश लेखक, चन्द्र भण्डारी, प्रदीप पौडेललगायतका नेताहरूले पनि सोही अभिव्यक्ति सुनाउने गरेका छन् ।

यता एमाले नेताहरूको दाबी आफ्नै खालको छ । उनीहरू भन्छन्, ‘सहमतिअनुसार नै राष्ट्रपति पद एमालेले पाउँछ ।’

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेले राष्ट्रपति पाउनेमा ढुक्क रहेको बताउँछन् । ‘के-के भइरहेको छ मलाई त थाहा छैन । तपाईंहरू नै जानिहाल्नुहुन्छ । तपाईंहरू नै देखिरहनुभएको छ । तर, राष्ट्रपतिको कुरा सहमतिअनुसार नै अघि बढ्छ,’ उनले भने ।

एमाले सचिव एवम् सांसद योगेश भट्टराईको विश्वस्तता पनि नेम्वाङको भन्दा कम छैन, भन्छन्— ‘राष्ट्रपति एमालेले पाउने त पूर्वनिर्णयकै कुरा हो । यसमा आशंका मान्नुपर्दैन ।’

उता कांग्रेस सभापति शेरबहादुर देउवाले दैनन्दिनको नेताहरूसँगको भेटघाट तथा छलफलका क्रममा राष्ट्रपति आफूहरूले पाउने ब्रिफिङ गर्ने गरेका छन् । नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतको नाम लिँदै उनले राष्ट्रपति कांग्रेसले पाउने ब्रिफिङ सुनाउने गरेको भेटघाटमा सहभागी एक नेता बताउँछन् ।

नेपालभ्यूजसँग उनले भनेका छन्, ‘उहाँ (सभापति देउवा) ले राष्ट्रपति पद हामी नै पाउँछौँ भनेर भन्नुहुन्छ, त्यसैगरी वार्ता अगाडि बढेको छ भनेर उहाँ भन्ने गर्नुभएको छ ।’

तर, प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटमा पूर्वसहमतिअनुसार नै अगाडि बढ्ने बताउने गरेका छन् । उनी प्रधानमन्त्री बन्दा (पुस १०) राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । यसअनुसार प्रक्रिया अगाडि बढ्नुपर्ने भनाइ एमालेको छ ।

यसपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन् । भर्खरै सम्पन्न स्थायी समिति बैठकमा प्रचण्डले आफू र आफ्नो दलमाथि अप्ठ्यारो परेको बताउँदै ‘अब के गर्ने तपाईंहरूको सुझाव चाहियो’ भनेर स्थायी समिति सदस्यसँग भनेका थिए । स्थायी समितिका एक सदस्यले भने, ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले के गर्छ, के गर्दा हुन्छ भन्नेबारे सोध्नुभएको थियो । यसमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने मेरो बुझाइ छ ।’

कांग्रेस र एमाले दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपतिबारे कांग्रेस-माओवादी केन्द्रको ‘भर्सन’ एउटै

राष्ट्रपति पदका सन्दर्भमा कांग्रेस र माओवादी केन्द्रको ‘भर्सन’मा फरक पाइँदैन । उनीहरू दुवैले ‘राष्ट्रिय सहमति’ गर्नुपर्ने बताइरहेका छन् । अन्य विविध विषयका लागि राष्ट्रिय सहमति कायम हुनुपर्ने बताएपनि विश्लेषकहरूले प्रमुख पद बाँडफाँटका लागि हो भनेर बुझ्छन् ।

राजनीतिक विश्लेषक झलक सुवेदीको प्रश्न छ, ‘प्रमुख पद बाँडफाँटका बेलामात्रै राष्ट्रिय सहमति चाहिने हो र ? यो सबैले सोच्नुपर्छ ।’

राष्ट्रपतिका आकांक्षीसमेत रहेका कांग्रेस वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेल राष्ट्रिय सहमति बनाएर अघि जानूको विकल्प देख्दैनन् । गत माघ ७ गते उपसभामुख चयनको प्रयोजनसहित बसेको संसद् बैठकको उनको सम्बोधन राष्ट्रिय सहमतिबाहिर गएन । उनले भनेका थिए, ‘अबको एउटै विकल्प भनेको राष्ट्रिय सहमति हो, सबै दलहरू मिलेर जानू हो ।’

नेता पौडेलका अलवा रमेश लेखक, एनपी साउदलगायतका नेताहरूले पनि राष्ट्रिय सहमतिको अभिव्यक्ति दिनु आफ्नो जिम्मेवारी ठानेका छन्, दिँदै आएका छन् ।

कांग्रेसले राष्ट्रिय सहमतिको अस्त्र झिकेपछि एमाले नेताहरूले प्रश्न गर्ने गरेका छन्, ‘पुस १० अगाडि कहाँ गएको थियो राष्ट्रिय सहमतिको प्रस्ताव ? कांग्रेसको राष्ट्रिय सहमतिको प्रस्तावमा अवसरवाद झल्कियो ।’

यता माओवादी केन्द्रको बुझाइ पनि राष्ट्रिय सहमति नै छ । माओवादी केन्द्रका महासचवि देवप्रसाद गुरुङ भन्छन्, ‘मैले त अहिलेमात्रै होइन, सधैँ नै भनेको हुँ राष्ट्रिय सहमति बनाएर अगाडि जानुपर्छ भनेर । यसको विकल्प देख्दिनँ ।’

माओवादी केन्द्रका सचिवद्वय देवेन्द्र पौडेल र लीलामणि पोखरेलको संयुक्त अभिव्यक्ति छ— राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्छ, त्यो सहमति देश र जनताका लागि हुन्छ ।

पौडेल भन्छन्, ‘राष्ट्रपति पद एक सम्मानित संस्था हो । लुछाचुँडी गर्ने पद होइन, यसको गरिमा फरक छ । यसमा सम्मानित तवरले नै निर्णय लिनुपर्छ । राष्ट्रिय सहमति बनाएर मात्रै अगाडि बढ्नुपर्छ ।’ त्यसो त भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पनि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । यो निर्णय गरेर प्रधानमन्त्री प्रचण्डले सत्ता-साझेदार दल एमालेलाई विशेष सन्देश दिन खोजेको बताइन्छ ।

यसरी कांग्रेस-माओवादी केन्द्रबीच ‘भर्सन’ मिलिरहँदा एमाले भने सशंकित देखिन्छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइरहँदा नै ओलीले भनेका थिए, ‘ढोक्सा थाप्न प्रधानमन्त्रीलाई विश्वासको दिन लागेको हो भने त्यसो नगर्दा हुन्छ, माछा पर्नेवाला छैन ।’

ओलीको यो अभिव्यक्तिको बचाऊ गरेपनि राष्ट्रिपतिको दौडबाट भने कांग्रेस ‘आउट’ भएको छैन । एमालेले त पूर्वसहमति कायम हुनुपर्ने दोहोर्‍याउँदै आएको छ ।

प्रचण्डलाई घेराबन्दीको डर 

राष्ट्रपतिका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड स्पष्टरूपमा बोलेका छैनन् । राष्ट्रपति एमालेलाई दिँदा आफू घेराबन्दीमा परिने डर उनमा देखिन्छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हर्कतका कारण पनि प्रचण्डमा डर देखिन्छ ।

कांग्रेसमा पनि एमालेले राष्ट्रपति पाउँदा पछि समस्या हुने बुझाइ देखिन्छ । अहिलेको सत्ता गठबन्धनमा भएको सहमति अनुसार साढे २ वर्षपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् । मुख्य पद एमालेको कब्जामा रहँदा ओलीले जेसुकै गर्नसक्ने भएकाले सकेसम्म राष्ट्रपति नदिनका लागि कांग्रेस र माओवादी केन्द्रका नेता मतैक्य देखिन्छ ।

यता एमालेले भने प्रधानमन्त्री प्रचण्डको अस्पष्टता बढ्नूमा नेपाली कांग्रेस कारक बनेको ठान्छ । एमालेका एक पदाधिकारीले भने, ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले असाधारण विश्वासको मत पाउनुभयो । त्यसैकारण राष्ट्रपतिका सन्दर्भमा प्रष्ट बोल्नुभएको छैन । अरु कारण छैन ।’

कांग्रेसले राष्ट्रपतिको विषयलाई गठबन्धनमा गडबडी गर्ने अवसरका रूपमा समेत प्रयोग गर्न खोजेको देखिन्छ । यसलाई लिएर एमाले र माओवादी केन्द्रबीच विवाद बढे गठबन्धन नै संकटमा पर्नसक्छ । यो विषयमा अब माओवादी केन्द्रको निर्णय नै निर्णायक बन्ने देखिएको छ ।

माओवादी केन्द्रले शक्ति सन्तुलनका लागि एमालेलाई राष्ट्रपति दिन नसकिने निर्णय गर्न सक्ने सम्भावना छ । त्यसबेला एमालेको प्रतिक्रिया कस्तो आउँछ, अहिले नै भन्न सकिँदैन । किनकी गठबन्धन छाडिहाल्न उसलाई सहज छैन । त्यस्तो अवस्थामा एमालेले राष्ट्रपति पदका लागि अन्य सबै पद दाउमा लगाउँछ या गठबन्धन कायमै राखेर अघि बढ्छ, हेर्नै बाँकी छ ।

तर कतिपयले भने राष्ट्रपतिको विषयमा मौन बसेर प्रचण्डले पूरै कार्यकाल प्रधानमन्त्रीको सुनिश्चितता खोजेको हो कि भनेर आशंका पनि गरिरहेका छन् । विश्लेषक झलक सुवेदी भन्छन्, ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले केही सुनिश्चितता खोजिरहनुभएको हो कि जस्तो देखिन्छ ।’

कस्तो सुनिश्चितता (?) भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई लागेकोचाहिँ के भने उहाँ पूरै कार्यकाल प्रधानमन्त्री भइरहन चाहनुहुन्छ । उहाँ खुकुरीको धारमाथि हिँडिरहनुभएको छ । जे पनि हुनसक्ने देखिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved