सभामुखका लागि दुई गठबन्धनबीच प्रतिस्पर्धा, कसको पल्लाभारी ?

नेपालभ्युज

सभामुखका लागि दुई गठबन्धनबीच प्रतिस्पर्धा, कसको पल्लाभारी ?

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् भने नेपाली कांग्रेसकी न्यौपानेलाई अन्य तीन दलको पनि समर्थन छ ।

सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । यस्तै अर्को गठबन्धनमा कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् ।

निर्वाचनपछि सुरू हुने संसद् अधिवेशनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो समय अगावै बिहीबार (भोलि) निर्वाचन हुँदैछ । यो अधिवेशनको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । संविधानत: अब १० गतेभित्र सभामुख तथा उपसभामुख चयन भइसक्नुपर्छ ।

सभामुख निर्वाचनका लागि बिहीबार (भोलि) दिउँसो १ बजे बैठक बोलाइएको छ ।

325819249_596435648961789_9000067752878776302_n

कसको पल्लाभारी ?

निर्वाचनमा प्रतिस्पर्धा हुँदा घिमिरे नै बलियो देखिन्छन् । सभामुखको निर्वाचनमा सांसद नै मतदाता हुन्छन् । मतदाताको सङ्ख्या हेर्दा घिमिरे नै निर्वाचित हुने बलियो सम्भावना देखिन्छ ।

घिमिरेको पक्षमा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्तिका ३ सांसद छन् । राप्रपाका १५ सांसद भए पनि जेष्ठ सदस्यका हैसियतमा पशुपतिशमशेर जबराले सदन चलाउने भएकाले मत दिन पाउने छैनन् ।

यसरी हेर्दा घिमिरेको पक्षमा १५३ सांसद देखिन्छन् । दलका अलावा स्वतन्त्ररूपमा निर्वाचित केही सांसद पनि सत्ता गठबन्धनको पक्षमा देखिन्छन् । प्रभु साह, अमशेरकुमार सिंहलगायतका स्वतन्त्र सांसद संसद्‌मा सत्ता पक्षमा बस्ने गरेका छन् ।

सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत १३८ सांसद आवश्यक पर्दछ ।

यता न्यौपानेको पक्षमा ११४ सांसद देखिन्छ । कांग्रेसले नयाँ गठबन्धन बनाएको छ । उसलाई नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), र लोकतान्त्रिक समाजवादी (लोसपा) ले पनि समर्थन गरेका छन् ।

यसरी हेर्दा कांग्रेसका ८८, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ गरी न्यौपानेको पक्षमा ११४ सांसद जुट्ने देखिन्छ । कांग्रेसले प्रतिनिधि सभामा सबैभन्दा धेरै ८९ सिट जितेको थियो । तर, कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved