आलेख

ब्राजिलमा ‘कु’ गर्ने बोल्सोनारोको असफल प्रयास

बोल्सोनारो समर्थकको आन्दोलनमा उनका धेरै सहयोगी घाइते भएका थिए । घटना र दृष्य हेर्दा लाग्थ्यो– चरम दक्षिणपन्थी बोल्सोनारोवादीहरूले ‘कु’ गर्ने प्रयत्न गरेका थिए तर, असफल भए ।

ब्राजिलमा ‘कु’ गर्ने बोल्सोनारोको असफल प्रयास

ब्राजिलको राष्ट्रपति भवनको दोस्रो तलामा १९औं शताब्दीका प्रधानमन्त्री ड्युक अफ क्याक्सियसको तस्वीरमा एडोल्फ हिटरलको जस्तो नीलो जुँगा टाँसिएको थियो । आधुनिकतावादी कलाका किंवदन्ती एमिलियानो डि. काभाल्कान्टीको त्यो अर्बौं पर्ने उत्कृष्ट कृतिलाई सातपटक छुरा प्रहार गरियो।

दरबारको प्रेस कक्षसमेत चरम दक्षिणपन्थीहरूको क्रोधबाट बच्न सकेन । उनीहरूले आइतबार दिउँसो यस भवनमा रहेको राष्ट्रपति कार्यालय, राष्ट्रिय कांग्रेस र सर्वोच्च अदालतमा समेत आक्रमण गरे ।

अस्कार नेइमारको लोभलाग्दो वृत्तकार रचनाभित्र पस्दै चरमपन्थीहरूले प्रेस कोठामा गएर आराम गरे । अर्को कोठामा थुप्रिएका फोटोग्राफरअगाडि उभिएर शौच गरे ।

आइतबारको क्रोधमय दिन र त्यसपछिका अकल्पनीय अवसादपूर्ण दृष्यपछि दरबारमा पुन: प्रवेशको चाँजो मिलाउन पसेका कर्मचारीका अनुसार भवनमा जताततै ‘पिसाब फेरेको, दिशा गरेको र बियरको गन्ध’ थियो । चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका कट्टरपन्थी अनुयायीले तोडफोड गरेको २४ घण्टापछि सोमबार दिउँसो द गार्जियनले ब्रासिलियामा २ वटा भवनको भ्रमण गरेको थियो ।

प्लानाल्टो दरबार र राष्ट्रिय कांग्रेसको भवन दुवै अस्कर नेइमार र शहरी योजनाकार लुसियो कस्टोको सन् १९५० तिरको नयाँ र अग्रगामी ब्राजिल बनाउने साहसी दृष्टिकोणको केन्द्रमा रहेका वास्तुकलाका रत्न थिए ।

ती दुवै यसअघिका प्राकृतिक प्रकोपबाट प्रभावित देखिन्थे । तिनका बाहिर झ्यालहरू भने अक्टोबरको चुनावी नतिजाबाट हतास बोल्सोनारोवादीहरूको परिणाम उल्ट्याउने प्रयत्नसँगै चकनाचुर भए । चुनावमा तिनका कट्टरपन्थी नेता जायर बोल्सोनारो आफ्ना वामपन्थी प्रतिस्पर्धी लुइस इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए।

सिनेट म्युजियमका फलकहरू अझै पढ्न सकिन्छ । त्यहाँ लेखिएको छ–‘कृपया कलाकृतिहरूलाई नछुनु होला।’ तर, जब प्रदर्शनकारी कोठामा पसे, तिनको ध्वंशात्मक क्रियाकलापले यस्ता कुनै कुराको वास्ता गरेन । तिनले सयौं वर्षको ब्राजिलियन कला र राजनीतिक इतिहासलाई ध्वस्त पार्न थाले ।

सिनेटका पूर्वसभापति रेनान कोल्हेरोस र जोसे सार्नेको तस्वीरमा चक्कु प्रहार गरिएको थियो । प्रदर्शनमा राखिएको ब्राजिलको एकप्रति संविधानलाई डिस्प्लेको सिसामाथिबाटै हिर्काइएको थियो । फ्रेममा अड्किएका सिसाहरू फुटेका थिए।

बाहिर भने उनीहरूले आफ्नै उपद्रो र भ्रान्त संकथनका कलाकृति छोडेका थिए । लुलाको चुनावी विजयसँगै ब्राजिल कम्युनिस्टहरूको नियन्त्रणमा गएको र यसलाई अन्त्य गर्न बोल्सोनारो समर्थकको अर्धसैनिक विद्रोह आवश्यक भएको माग गर्दै थिए ।

‘बदमासहरू’ एक सफाइ महिला मजदुर ती उपद्रोद्वारा सरकार फेर्न सकिन्छ भन्ने विश्वास गर्नेहरूप्रति रिस पोख्दै थिइन् । उनी र अरु दर्जनौं कर्मचारी कांग्रेस भवनको काँचले ढाकिएको नीलो र हरियो कार्पेटको क्षति निरीक्षण गर्दै थिए । नजिकै सिनेटका वर्तमान सभापति रोड्रिगो पाचेकोको कार्यकक्ष भताभुङ र खाली थियो ।

यसको एक छेउमा एक चिनियाँ एक्स–रे मेसिन थियो । भुइँ सिसाका टुक्राले ढाकिएको थियो । इन्टरनेटका तार छततिर तर्ल्याङतुर्लुङ झुन्डिएका थिए । टेबलमा दुई फुटेका डेस्कटप कम्प्युटर थिए । तिनका मदरबोर्ड बाहिरतिर निस्किएका थिए ।

राष्ट्रपति भवनमा अनावश्यक र बचकनापूर्ण विनासका उस्तै दृष्य असरल्ल देखिन्थे । प्रवेशद्वारका ढुंगा उप्किएका थिए । यो त्यही ठाउँ थियो, एक हप्ता अघि मात्रै लुलाले सयौं अतिथिका अगाडि आफ्नो कार्यकाल सुरु गरेका थिए । उनले आशा व्यक्त गरेका थिए– ‘४ वर्षको विभाजन र घृणापछि वातावरणीय संरक्षण र मेलमिलापको नयाँ प्रगतिशील युग सुरुवात हुनेछ ।’

अघिल्लो दिनको उपद्रोबाट भएको फोहोर सफा गर्न सफाइ मजदुर सिंगमरमरको भुइँमा माछा मार्ने जालजस्तो बिछाएर पानीको फोहोरा हानिरहेका थिए । ‘जताततै बोतल, सिसा र रबरका गोली छन्’ एक सफाइ मजदुरले सिसा पछाडिबाटै पाइएका वस्तुबारे भने ।

दंगाकारीलाई यी ठाउँ ब्राजिलका सुरक्षित र पवित्र स्थान हुन् भन्ने लागेको हुनुपर्दछ ताकी यहाँ गरिएको विनाशले उनीहरूको क्रोधको विचित्रतालाई व्यक्त गर्न सकोस । यस्ता संवेदनशील राजनीतिक भवनहरूमा यस्तो कसरी गर्न सकिन्छ भन्ने प्रश्नहरू समेत उनीहरूले उब्जाए ।

भीड राष्ट्रपति लुलाको कार्यकक्षसम्म भने पुग्न सकेन । तर, अन्य धेरै कोठाहरूमा लुटपाट र तोडफोड गरियो । राष्ट्रपतिको सुरक्षाका लागि खटेका सुरक्षाकर्मीले निबवाला कलम प्रयोग गरेर करिडोरमा घुमाउरा रेखाहरू कोरेका थिए । फुटाइएका झ्यालबाट कुर्सी बाहिर फ्याँकिएका थिए र सोफामा आगजनी गरिएको थियो।

राष्ट्रपति लुलाका एक निकटतम् सहयोगी सेल्सो ओमरिमका अनुसार उनको र प्रथम महिला रोजान्जेला लुला दा सिल्भाको कार्यालयसमेत तोडफोड गरिएको थियो । उपद्रोकारीले प्रथम महिलाको कार्यकक्षतिर फोहोर फाल्दा खुबै मज्जा मानेका थिए।

ओमरिमो, (ब्राजिलका पूर्वरक्षामन्त्री) ले भने कि सुरक्षा बल र गुप्तचर संस्थाहरू कसरी यस्तो खतराको सम्भावना पत्ता लगाउन र रोक्न असफल भए भनेर थाहा पाउने प्रयास भइरहेको छ । ‘कसरी यस्तो हुन सक्दछ ? दंगा हुन थालेपछि मात्रै प्रतिरोध गरिएको जस्तो देखिन्छ ? हुन दिइएको त हैन भन्ने आशंका छ’ उनले भने ।

बर्खास्त गर्न खोजिएको तेस्रो भवन सर्वोच्च अदालतमा भने पत्रकारलाई प्रवेश निधेष थियो । सोमबार यस भवनमा संघीय प्रहरीका विशेषज्ञले बोल्सोनारोवादीले छोडेका फिंगर प्रिन्ट, अन्य प्रमाण र भग्नावशेषको स्थिति उतारिरहेका थिए । तर, सर्वोच्च अदालतको सेतो भित्तेचित्रमा रहेको मुखडा भने बोल्दै थियो । त्यहाँ नारा लेखिएको थियो– ‘म आएँ, म जित्छु, तिमी हार्‍यौं , तिमीले गुमायौं ।’

‘द गार्जियन’ को टोली त्यहाँ पुग्दा कालो पोसाक लगाएका बम डिस्पोजल टोलीका एक सदस्यले पत्रकारलाई पछि हट्न भने । त्यहाँ ग्रिनेटजस्तो एक वस्तुलाई नियन्त्रित विष्फोटन गराउने प्रयत्न हुँदै थियो, जो भवनको प्रवेशद्वारमै थियो ।

केही मिनेटपछि ‘थ्रि पावर प्लाजा’ मा कान फुट्ने आवाजसहितको विष्फोटन भयो । यो भवनलाई कोस्टा र नेइमारले ब्राजिलको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको राजनीतिक शक्तिको सद्भावका रूपमा प्रतिकात्मक अभिप्रेरणाबाट खडा गरेका थिए । ‘यो दृष्य मुटु चिरिने खालको छ, तर आशा गरौँ कि राम्रा दिनहरू आउनेछन्’ अदालतको सुरक्षामा खटिएका एक सैन्य अधिकारीले भने ।

बोल्सोनारो समर्थकको आन्दोलनमा उनका धेरै सहयोगी घाइते भएका थिए । घटना र दृष्य हेर्दा लाग्थ्यो– चरम दक्षिणपन्थी बोल्सोनारोवादीहरूले ‘कु’ गर्ने प्रयत्न गरेका थिए तर, असफल भए ।

द गार्जियनबाट अनुदित ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved