फेसबुक ‘लाइभ’ गरेर आत्महत्याको प्रयास, प्रहरीले समयमै थाहा पाउँदा गायकको ज्यान बच्यो

कलाकार शक्ति सार्वजनिक महत्त्वको कुनै कुरा सुनाउन वा आफ्नो प्रतिभा देखाउन लाइभमा आएका थिएनन्। निराशा पोख्दै थिए। उनको अस्वाभाविक गतिविधि देख्नेहरूलाई अनुमान लगाउन कठिन थिएन कि, ‘शक्तिले लाइभमार्फत दुनियाँलाई थाहा दिएर आफैँलाई सिध्याउँदैछन् भन्ने।’

फेसबुक ‘लाइभ’ गरेर आत्महत्याको प्रयास, प्रहरीले समयमै थाहा पाउँदा गायकको ज्यान बच्यो

काठमाडौं। ‘‘कसैले गलत नसोचिदिनुहोला। यो खबर मेरो घरसम्म नपुर्‍याइदिनुहोला। कहिल्यै देखाउनेछैन यो अनुहार, हजुरहरूको अगाडि। सोच्नुहोला यो शक्ति चन्द बालुवामा बिलायो, पानीमा हरायो, आगोमा जल्यो, सम्झिनुहोला प्लिज’’ लोक तथा दोहोरी गायक शक्ति चन्द शनिबार राति ९ बजे फेसबुक लाइभमा आएपछि भनेका शब्द हुन् यी।

धेरैले रुचाएका कलाकार शक्ति सार्वजनिक महत्त्वको कुनै कुरा सुनाउन वा आफ्नो प्रतिभा देखाउन लाइभमा आएका थिएनन्। निराशा पोख्दै थिए।

उनको अस्वाभाविक गतिविधि देख्नेहरूलाई अनुमान लगाउन कठिन थिएन कि, ‘शक्तिले लाइभमार्फत दुनियाँलाई थाहा दिएर आफैँलाई सिध्याउँदैछन् भन्ने।’

लाइभमा शक्तिले आफ्नो अनुहार देखाएका थिएनन्। आफ्नो छायाँ मात्र देखाइरहेका थिए। उनी हिँडिरहेका देखिन्थे। रात छिप्पिँदै थियो।

उनी हिँडेको कच्ची (पिच नभएको सडक) कहिले अध्याँरो त कहिले मोटर गाडीको लाइटले उज्यालो देखिन्थ्यो। आफू कता जाँदै छु भन्ने उनले बताएका थिएनन्।

उनले लाइभ ६ मिनेट १९ सेकेन्डपछि ‘बन्द’ गरे। उनले लाइभमा बोलेको शब्द नै काफी थिए कि उनले अप्रिय निर्णय लिँदैछन् भन्ने बुझ्न। लाइभ हेरिरहेका पत्रकार कमल सरगमले शक्तिलाई फोन गरे।

उनको लोकेसन सोधे। तर, शक्तिले लोकेसन नबताई आफूलाई नखोज्न भन्दै फोन काटे। तुरुन्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कन्ट्रोल रुमको १०० मा यसबारे खबर पुग्यो।

खबर पाउनेबित्तिकै प्रहरी तात्यो। नतातोस् पनि किन नेपालमा फेसबुक लाइभ गरेर केहीले यसअघिकै जीवन सिद्ध्याइसकेका थिए।

सामाजिक सञ्जालमार्फत युवाहरूमा आफ्नो जीवन सिद्ध्याएका गम्भीर घटना भइसकेकाले आइतबार राति प्रहरीलाई अर्को चुनौती थपिएको थियो।

तुरुन्तै साइबर ब्युरोमा समन्वय गरेर लोकेसन हेरियो। लोकेसन पत्ता लाग्यो ‘शिवपुरी जङ्गल’। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महानगरीय प्रहरी प्रभाव बुढानीलकण्ठको टोलीलाई त्यसतर्फ पठायो।

यी सबै प्रक्रिया पूरा हुँदासम्म करिब साढे ९ भइसकेको थियो। बुढानीलकण्ठ वृत्तबाट गएको टोली केहीबेरमै जंगलमा शक्ति भएको स्थानमा पुग्यो। शक्ति, एकसुरमा अगाडि बढ्दै रहेछन्। उनलाई सकुशल फेला पारियो।

उनले फेसबुक लाइभमा भनेजस्तो पानीमा बिलाउन पनि पाएनन्, आगोमा जल्न पनि पाएनन्। ज्यान सकुशल रहन पायो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने ‘‘हामीले बडो मेहनतका साथ उहाँलाई फेला पार्न सफल भयौँ। विभिन्न निकायको समन्वयमा उहाँको लोकेसन ट्र्याक गरेर पुग्न सफल भयौँ। राति उहाँलाई फेला पारेलगतै मनोपरामर्षका लागि लग्यौँ। आफन्तको जिम्मा लगाएका छौँ।’’

सुसाइड नोट बन्दै ‘फेसबुक लाइभ’

विदेशमा फेसबुकमा पूर्व जानकारी देखाएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ। त्यो क्रम नेपालमा समेत देखिन थालेको छ।

फेसबुकमा ‘लाइभ स्ट्रिमिङ’ गर्दै आत्महत्या गर्नेको सङ्ख्या नेपालमा तीन पुगिसकेको प्रहरीको तथ्याङ्कमा छ। लाइभ स्ट्रिमिङ गर्दै आत्महत्याको सुरसार गर्दागर्दै प्रहरी तथा आफन्त पुगेर बचाएको कैयौं घटना छन्।

१८ असार २०७७ मध्यरातमा दाङ तुलसीपुरकी २३ वर्षीय एलिसा गौतम फेसबुक लाइभमा आएर आत्महत्या गरेकी थिइन्। लाइभमा उनको अस्वाभाविक गतिविधि देख्नेले जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरीको साइबर ब्युरोसम्म खबर पुर्‍याए । तर, उनको कोठासम्म प्रहरी नपुग्दै उनले आत्महत्या गरिसकेकी थिइन्।

२१ असोज २०७५ मा चितवन कालीकानगर बस्ने २५ वर्षीय निश्चल तामाङलाई पनि प्रहरीले बचाउन सकेन। ९ बजेतिर फेसबुक लाइभमा देखापरेका ट्याटु आर्टिस्ट निश्चलले आफूलाई सिद्ध्याउन पासो लगाए।

उनले आत्महत्या गर्न लागेको सूचना नजिकका साथीभाइ र प्रहरीले थाहा त पाएपछि लोकेसन पत्ता लगाएर आफन्तलाई सम्भावित घटनाबारे खबर दिन सफल भएपछि प्रहरीले उनलाई बचाउन सकेन।

५ फागुन २०७६ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कालीमाटी क्षेत्रमा रहेका एक युवालाई बचाउन सफल भयो। फेसबुक लाइभमा आएर आत्महत्या गर्न खोजेका ती युवककहाँ पुग्न प्रहरी केही सेकेन्ड मात्रै ढिलो भएको भए उनले आफ्नो ज्यान लिइसकेका हुन्थे।

कस्तो हुन्छ आत्महत्याको जोखिममा भएकाको व्यवहार ?

आत्महत्याको जोखिममा भएका व्यक्तिले संकेत पहिल्यै देखाउने हुँदा रोकथामको पहल तत्कालै गर्नुपर्ने मनोविद्हरूको सुझाव छ। समयअनुसार पहिले सुसाइड नोट छाड्ने गरेजस्तै अहिले लाइभ स्ट्रिमिङलाई प्रयोग गरिएको मनोविद् करुणा कुँवर बताउँछिन्।

‘‘माध्यम जे भए पनि आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य सही नहुनु नै हो। तर, आत्महत्या गर्न तयार भएका धेरैजसो मानिसले अगाडि सूचना दिने गर्छन्। आफूले किन गर्दै छु भन्ने लेखेर वा बोलेर अभिव्यक्त गर्ने गर्छन्। कतिपयले आफूले आत्महत्या गर्दै छु भनेर पनि जानकारी दिने गरेका छन्,’’ उनी भन्छिन् ‘‘सामाजिक सञ्जालमा लेखिएका निराश स्ट्याटस र लाइभबाट आत्महत्या गर्न खोज्दा कसैको साथ चाहिरहेको र उद्धारको आश गरिरहेका पनि हुन सक्छन्। कुनै मान्छे कुन कारणले त्यो घटना गर्न उन्मुख भयो ? त्यो पत्ता लगाएर त्यो समाधानको प्रयास गराउनुपर्छ। साथी तथा परिवारले उसलाई सहयोग गर्नुपर्छ। त्यो अवस्थामा उसलाई सफल जीवनमा फर्काउन सकिन्छ।’’

जसले आत्महत्याको प्रयास गर्दै छ उसलाई ‘एक्लो छैनौ, हामी छौँ’ भन्ने सानो आशाको किरण दिन सकियो भने मात्रै पनि बचाउन सकिने कुँवर बताउँछिन्।

यद्यपि, आत्महत्या भनेको अन्तिम अवस्था भएकाले त्योभन्दा पहिलै यसको समस्या पहिचान गर्न सकिएमा सम्भावित दुर्घटना टार्न सकिने मनोविद् बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved