नोबेल पुरस्कार विजेता बियालियात्स्की विरूद्धको मुद्दामा सुनुवाई शुरू

नेपालभ्युज

नोबेल पुरस्कार विजेता बियालियात्स्की विरूद्धको मुद्दामा सुनुवाई शुरू

मस्को । बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित बियालियात्स्कीले सन् १९९६ मा अधिनायकवादी देशको सबैभन्दा प्रमुख अधिकार समूह भायास्ना (स्प्रिङ) को स्थापना गरेका थिए ।

रुसी समाचार संस्था आरआईए नोभोस्तीले सार्वजनिक गरेको तस्बिरअनुसार बियालियात्स्की र उनका सहयोगी भ्यालेन्टिन स्टेफानोभिच र भ्लादिमिर लाबकोभिचलाई सुनुवाईको सुरुमा अदालत कक्षमा प्रतिवादीको पिंजडामा देखाइएको थियो ।

खैरो केश भएका बियालियात्स्की कालो हुडी, हरियो ट्राउजर र स्नीकर्स लगाएर पिंजडाभित्रको बेन्चमा बसिरहेको तस्बीरमा देखाइएको छ । अन्य दुई प्रतिवादीहरू उनको पछाडिको बेन्चको दुवै छेउमा बसिरहेका र चार सशस्त्र प्रहरीहरूले पहरा दिएको भिडियोमा देखाइएको छ । नोबेल पुरस्कार बिजेता बियालियात्स्की पिंजडामा गम्भीर देखिएको बताइएको छ ।

सन् २०२० मा अधिनायकवादी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्तर्राष्ट्रिय समुदायले धाँधलीपूर्ण ठहर गरेको निर्वाचनमा विजय हासिल गरेको दाबी गरेपछि ६० वर्षीय बियालियात्स्की र उनका सहयोगीलाई जेल चलान गरिएको थियो ।

रुसी नेता भ्लादिमिर पुटिनको समर्थनमा लुकाशेन्कोले विपक्षी आन्दोलनमाथि कडा दमन गरेका छन् । उनले आफ्ना आलोचकहरूलाई जेलमा राखेको वा निर्वासनमा जान बाध्य बनाएका छन् ।

चौथो प्रतिवादी दिमित्री सोलोभ्योभलाई यात्रा प्रतिबन्धको बावजुद छिमेकी पोल्याण्डमा भागेपछि उनिविरूद्ध पनि अनुपस्थितिमा नै मुद्दा चलाइएको छ ।

उनले एएफपीसँग भने, ‘मलाई यो सुनुवाईमा विश्वास छैन र यसमा के हुनसक्छ ? यो नक्कली अनुसन्धान हो ।’

‘बेलारुसमा कुनै कानून छैन, कानूनको शासन छैन । यो प्रक्रिया पूर्णतया गुन्डा सरकारको नियन्त्रणमा छ,’ सोलोभ्योभले भने ।

उच्च स्तरीय अनुसन्धानपछि निर्वासनमा रहेकी विपक्षी आन्दोलनकी नेतृ तथा स्वतन्त्र पत्रकार स्वेतलाना तिखानोभस्कायाविरूद्ध पनि अनुपस्थितिमा चलाइएको छ ।

बियालियात्स्की, स्टेफानोभिच र लाबकोभिच सन् २०२१ को जुलाईदेखि हिरासतमा छन् । उनीहरुमाथि सुरुमा कर छलीको आरोप लागेको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved