रस-युक्रेन युद्ध–२०२२

यस्ता थिए रुसले युक्रेनमाथि आक्रमण गर्नुका ७ कारण

रुस-युक्रेन युद्ध किन र कसरी भड्कियो ?  युद्ध हुनुका खास कारणहरू के थिए ? यसबारे अझै धेरै मानिसमा जिज्ञासा छ ।

नेपालभ्युज

यस्ता थिए रुसले युक्रेनमाथि आक्रमण गर्नुका ७ कारण

नेपाल भ्युज। बिदा हुन लागेको यो वर्ष, सन् २०२२ मा विश्व राजनीतिको सबैभन्दा ठूलो र महत्त्वपूर्ण घटना युक्रेन युद्ध बन्यो । सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको थियो ।

३ महिनामै हारजित हुने अपेक्षासहित रुसले युक्रेन युद्ध सुरुवात गरेको थियो । तर, युक्रेन युद्धको १ वर्ष वित्न अब करिब ३० दिन मात्रै बाँकी छ । यी ३० दिनमा युद्ध अन्त्य हुने कुनै सम्भावना देखिएको छैन ।

रुस-युक्रेन युद्धले मानवीय क्षति, हताहती र संकट मात्र ल्याएन, विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्‍यो । लाखौं युक्रेनी र रुसीहरू देश छोडेर अन्य युरोपेली देशतिर भागे । विश्व अर्थतन्त्रमा उर्जा, इन्धन र खाद्यान्नको चर्को मूल्य वृद्धि भयो ।

रुसी राजनीतिमा राष्ट्रपति पुटिनको निरंकुश र अधिनायकवादी शासन झनै कसिलो भयो । विश्वभरि राष्ट्रवादको नयाँ लहर र दक्षिणपन्थी राजनीतिले बढाबा पायो ।

रुस-युक्रेन युद्ध किन र कसरी भड्कियो ?  युद्ध हुनुका खास कारणहरू के थिए ? यसबारे अझै धेरै मानिसमा जिज्ञासा छ ।

पहिलो र दोस्रो विश्वयुद्ध जस्ता ठूला र नरसंहारकारी युद्धको क्षति भोगेको र अनुभवबाट शिक्षा लिइसकेको मानव समाजले फेरि एक्काइसौं शताब्दीमा अर्को ठूलो युद्ध किन निम्त्याएको होला ?

अनिर्णित र लामो हुँदै गएको युक्रेन युद्धको कारण तेस्रो विश्व युद्ध भड्किने त हैन ? यो आशंका अझै समाप्त भएको छैन ।

रुस–युक्रेन युद्धका मुख्य ७ कारण भने यस्ता थिए ।

१. इतिहासदेखिको लामो सम्बन्ध

रुस र युक्रेन इतिहासका विभिन्न कालखण्डमा कहिले एकै र कहिले भिन्नै राज्य बन्दै आएका देश थिए । पछिल्लोपटक सन् १९२३ देखि १९९१ सम्म रुस र युक्रेन एउटै देश सोभियत संघका अंग थिए । स्टालिनको शासनकालमा युक्रेनको रुसीकरण गर्ने तीव्र प्रयत्न भयो । युक्रेनी भाषा लगभग लोप हुने स्थितिमा पुगेको थियो । यसबाट युक्रेनी जनतामा उत्पन्न निराशालाई चिर्न स्टालिनपछिका सोभियत शासक निकिता ख्रुश्चेभले क्रिमिया युक्रेनी प्रदेशमा पारे ।

रुसीहरू आफ्नो सभ्यता र संस्कृतिको प्रारम्भिक केन्द्र युक्रेनको राजधानी शहर किभलाई मान्दछन् । मुख्य रुसी शहर पिटर्सवर्ग र मस्कोको सभ्यता किभ सम्यताको विस्तार मानिन्छ ।

रुसी र युक्रेनी परिवारहरू बीच व्यापक बिहेबारी हुन्छ । दुवैका नातागोता दुवै देशतिर पर्दछन् । तसर्थ, रुसीहरू युक्रेनलाई भिन्नै देश हैन, रुसकै अंग मान्दछन्।

२. युक्रेनमा रुसीहरूको जनसंख्या

इतिहासदेखिको सभ्यता, संस्कृति र पारिवारिक सम्बन्ध मात्र हैन, युक्रेनमा रुसी मूलका मानिसको अहिले पनि ठूलो जनसंख्या छ ।

युक्रेनको कुल जनसंख्याको करिब एक तिहाई जनसंख्या रुसी मूलको वा रुसी मूलका परिवारसंग बिहेबारी भई दोहोरो पारिवारिक सम्बन्ध भएका छन् ।

करिब ४ करोड जनसंख्या भएको युक्रेनमा १ बढी करोड जनसंख्या रुसी मूलको वा रुसीसँग पारिवारिक सम्बन्ध भएको बताइन्छ ।

३. क्रिमिया

सोभियत शासक निकिता ख्रुश्चेभले सन् १९५४ मा क्रिमियालाई रुसबाट युक्रेन प्रदेशको सीमामा पारेका थिए । क्रिमिया शताब्दी लामो समयदेखि रुसी प्रायदीप थियो ।

क्रिमियाका अधिकांश बासिन्दा रुसी मूलका छन् । ख्रुश्चेभ उक्राइनी थिए । तसर्थ, उनले गृहप्रदेशको हितका लागि क्रिमिया युक्रेनतिर पारेको आरोप रुसीहरूले त्यही बेलादेखि लगाउँदै आएका थिए ।

सन् १९९१ मा सोभियत संघ विभाजित हुँदा क्रिमिया युक्रेनतिरै रह्यो । तर, रुसी मूलका क्रिमियालीहरूले क्रिमिया रुसमा गाभ्नुपर्ने माग गर्न थाले । सन् २०१४ मा रुसले क्रिमिया गाँभ्यो । त्यसपछि युक्रेन–रुस सम्बन्ध बिग्रिदै र दुश्मनी बढ्दै गयो ।

४. युक्रेनी राष्ट्रवादको भावना

सोभियत शासनकालमा युक्रेनी भाषा, संस्कृति र धर्म परम्परा लोपोन्मुख हुँदै गएका थिए। स्टालिनकालमा गरिएको व्यापक रुसीकरणले युक्रेनी भाषी जनतामा स्थानीयता र राष्ट्रवादको भावना वृद्धि हुन थाल्यो ।

सन् १९९१ म युक्रेनको स्वतन्त्रतापछि युक्रेनी भाषा, संस्कृति र चर्च परम्परालाई पुनर्स्थापित गर्न थालियो । युक्रेनीहरू रुससँग मनोवैज्ञानिक रुपले टाढा र पश्मिच युरोपतिर नजिक हुन थाले ।

रुसीहरूले युक्रेनीहरूमा बढ्दो राष्ट्रवादको भावनालाई मन पराएनन् ।

५. युक्रेनको भूराजनीति र व्यापार

युरोपमा युक्रेनको भूराजनीतिक महत्त्व निकै ठूलो छ । यसले पश्चिम र पूर्वी युरोपबीच जोर्नीको काम गर्दछ । युक्रेन रुसपछि युरोपको दोस्रो ठूलो क्षेत्रफल भएको देश हो । यो देश पश्चिम युरोपका शक्ति राष्ट्र बेलायत, जर्मनी, फ्रान्स, इटालीभन्दा ठूलो छ । तर, अरुको तुलनामा जनसंख्या निकै कम छ ।

युक्रेन खाद्यान्न, विशेषतः गहुँको मुख्य उत्पादनकर्ता देश हो । त्यसैगरी, युरोपको ऊर्जा आपूर्तिमा पनि युक्रेनको योगदान रहन्छ । रुसले युक्रेनको भूराजनीतिक महत्त्वलाई कम आँक्न सक्दैनथ्यो ।

६. फेरि महाशक्ति बन्ने रुसी आकांक्षा

रुस इतिहासका विभिन्न कालखण्डमा एक विशाल साम्राज्य र महाशक्ति रहँदै आएको देश हो । सन् १९९१ मा सोभियत संघ विभाजन हुनुअघि संघलाई अमेरिकासँगै विश्वका दुई ठूला महाशक्ति राष्ट्रमध्ये एक मानिन्थ्यो । सोभियत संघको विभाजनपछि रुसको त्यो विश्व प्रभाव, वर्चश्व र हैसियत कमजोर भयो ।

तर, रुसी जनता र शासकमा फेरि विश्व शक्ति राष्ट्र हुने महत्त्वाकांक्षा र सपना मरेको थिएन । रुस फेरि विश्व शक्ति राष्ट्र बन्न पूर्व सोभियत गणराज्यहरूलाई एक ठाउँमा ल्याउनुपर्ने हुन्छ ।

युक्रेनमाथि आक्रमण गरी रुसले त्यही महत्त्वाकांक्षाको पुनर्जागरण गरेका हुन सक्दछन् । रुसी यसलाई युक्रेनमाथिको हस्तक्षेप र आक्रमण नभएर ‘रुसको पुनर्एकीकरण’ ठान्दछ ।

७. युक्रेनको पश्चिमा देशहरूसँगको निकटता

पश्चिम र पूर्वी युरोप इतिहासदेखिकै प्रतिस्पर्धी भूक्षेत्रहरू हुन । रुस पूर्वी तथा मध्य युरोपको प्राचीन साम्राज्य हो भने पश्चिम युरोपतिर मूलतः बेलायत, फ्रान्स, जर्मनी, इटली, पार्चुगल, स्पेन आदि देशका वर्चश्व रहँदै आएको थियो ।

युक्रेनी स्वतन्त्रतापछि युक्रेन पश्चिमा देशहरूसँग धेरै नजिक नहोस्, रुस निकट रहेरै स्वतन्त्रताको उपभोग गरोस् भन्ने रुसी चाहना थियो । युक्रेनी राजनीतिक घटनाक्रमले त्यसो हुन दिएनन् ।

युक्रेनमा बढ्दो राष्ट्रवादी भावनासँगै रुस निकट र रुसी मूलका राजनीतिज्ञहरूले चुनाव हार्न थाले र युक्रेनी मूलका राष्ट्रपतिले चुनाव जित्न थाले ।

युक्रेनले पश्चिम युरोपसँगसँगै अमेरिका र नेटोसँग समेत राम्रो सम्बन्ध बनाउन थाल्यो । वर्तमान राष्ट्रपति जेलेन्स्की युक्रेनी मूलका हुन् । उनी रुससँग दूरी राख्ने र पश्चिमसँग निकट हुने सोचका राजनीतिज्ञ हुन् । यसरी रुस युक्रेनसँग चिढिँदै गएको थियो ।

सन् २०२२ को सम्झना अरु धेरै कारणले पनि होलान्, तर यसको एक मुख्य कारण युक्रेन युद्ध भड्किएको वर्ष हुनेछ । भन्न सकिन्न, युद्ध अन्त्य भएको जस भने कुन वर्षले पाउने हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved