बालकोट बैठकमा सहमति भए नयाँ सरकार गठनका लागि पुग्नेछ अत्यधिक बहुमत

सहमति जुटे अहिले केहीबेरमा सरकार गठनको दाबीसहित राष्ट्रपति कार्यालय जाने दलहरुको तयारी छ । तर अहिले भइरहेको बैठकमा सहभागी दलमध्ये कोको सरकारमा सहभागी हुन्छन् भन्नै अझै स्पष्ट भइसकेको छैन ।

नेपालभ्युज

बालकोट बैठकमा सहमति भए नयाँ सरकार गठनका लागि पुग्नेछ अत्यधिक बहुमत

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै बालकोटस्थित केपी शर्मा ओलीनिवासमा अहिले विभिन्न दलको बैठक बसिरहेको छ ।

अहिले त्यहाँ ४ दलका नेताहरूबीच सरकार गठनलाई लिएर छलफल भइरहेको छ । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र सचिव वर्षमान पुन छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल छन् ।

नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई बैठकमा सहभागी भएर निस्किएका छन् ।

तर बैठकमा फेरि जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी भएका छन् । चार दलको बैठक अघि राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देन पनि एमाले अध्यक्ष केपी ओलीलाई भेटेर फर्किएका छन् ।

उनी ४ दलको बैठक सुरू हुनुपूर्व बालकोट पुगेका थिए । अहिले भइरहेको बैठकमा सहमति जुटेमा नयाँ सरकारका लागि सहजै बहुमत पुग्ने देखिन्छ ।

छलफलमा रहेकामध्ये सबैभन्दा ठूलो दल एमाले हो । ऊसँग ७८ सिट छ । यस्तै माओवादी केन्द्रसँग ३२, रास्वपासँग २०, जसपासँग १२ र जनमत पार्टीसँग ६ जना सांसद छन् । यसरी हेर्दा १४८ सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ । आन्तरिक बैठकमा रहेको राप्रपाले पनि सरकारमा सहभागी हुने निर्णय गरेमा यो संख्या १६२ पुग्नेछ । राप्रपासँग १४ सांसद छन् ।

सहमति जुटे अहिले केहीबेरमा सरकार गठनको दाबीसहित राष्ट्रपति कार्यालय जाने दलहरुको तयारी छ । तर अहिले भइरहेको बैठकमा सहभागी दलमध्ये कोको सरकारमा सहभागी हुन्छन् भन्नै अझै स्पष्ट भइसकेको छैन ।

माओवादीसँग निकट रहेको एकीकृत समाजवादी सरकारमा जान्छ की जाँदैन भन्ने पनि स्पष्ट छैन । माओवादी एक्कासी बालुवाटारबाट बालकोट लागेपछि एकीकृत समाजवादी आन्तरिक बैठकमा जुटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved