बारले भन्यो : प्रधानन्यायाधीशका कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन

नेपालभ्युज

बारले भन्यो : प्रधानन्यायाधीशका कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ। बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यावहारिक भूमिका निर्वाह गर्न नसकेको बताए ।

उनले २०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विसंगति विकृति हटाउन नेतृत्व गर्ने भन्ने भए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताए। झिनामसिना कुराहरूमा सुधार भएको तर, जनताले चाहेको खास कुराको समाधान हुन नसकेको बताए।

उनले भने, ‘न्यायपालिका भित्र न्याय सम्पादन सन्तोषजनक छैन। अहिलेका वर्तमान प्रधानन्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा २०७५ मंसिर, पुस, माघतिरको पत्रपत्रिका, अनलाइन हेर्‍यौं भने हाम्रो न्यायपालिका भित्रको विसंगति विकृति हटाउनको लागि न्यायिक नेतृत्व प्रधानन्यायाधीशले यसमा नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरू हामीले पाएका थियौं। तर, अहिले व्यवहारमा हेर्दा सुधारका झिना मसिना कुराहरू भए, तर जनताले चाहेको खास कुरा अझ पनि समाधान हुन सकेको छैन।’

नेपाल बार एसोसिएसनले न्याय सम्पादनमा भएका विकृति विसंगति हटाउनुपर्ने भन्दै प्रधानन्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले बताए।

बारले एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणालीमार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिएअनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ।

यस्तै, अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ।

साथै, न्यायाधीश र नेपाल बार एसोसिएसनको पदाधिकारीको सम्पत्ति पारदर्शीरूपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउनसमेत माग गरेको छ। अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्नसमेत बार एसोसिएसनले माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved