कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

अब देउवाले सत्ता गठबन्धनको बैठक बोलाएर सरकार गठनको प्रक्रिया थप सक्रियता लिने देखिएको छ।

नेपालभ्युज

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । ६४ मत प्राप्त गर्दै देउवा संसदीय दलको नेता निर्वाचित बनेका हुन् ।

उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्, उनीहरू सबै मतदान केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबार पुगेका थिए ।

संसदीय दलको नेता चयनका लागि बिहान ८ बजेदेखि मतदान भएको थियो।

निर्वाचित भएसँगै अब प्रधानमन्त्रीको उम्मेदवार देउवा नै बन्न पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐनमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने प्रावधान छ ।

निर्वाचित भएपछि यसअघि नै पाँच पटक प्रधानमन्त्री भइसकेका देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

संस्थापन पक्षबाट प्रधानमन्त्री एवम् सभापति देउवा र इतर समूहबाट महामन्त्री थापा उम्मेदवार थिए । देउवा दलको नेता हुँदै पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् । थापा पहिलोपटक दलको नेताका लागि निर्वाचन लडेका हुन् ।

पार्टीको १४औं महाधिवेशनमा प्रकाशमान सिंहको खेमाबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा खेमाबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेलसमेतको समर्थनमा थापालाई भएपछि देउवामाथि चुनौती थपिएको थियो ।

तैपनि देउवाले बाजी मार्न सफल भए । सभापति देउवालाई पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन थियो ।

देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना

कांग्रेस सभापति देउवाले दलको नेताको निर्वाचनपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका थिए । अब त्यो बाटो खुला भएको छ ।

गठबन्धनमा रहेका दलहरूले पनि कांग्रेसकै मुख ताकेका थिए ।

अब नयाँ सरकार गठन प्रक्रियाले तीव्रता लिने नेताहरूले बताएका छन् । कुनै एक दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार सरकार गठनका लागि १० मंसिरसम्म दाबी पेस गर्न राष्ट्रपति विद्यादेखि भण्डारीले आह्वान गरिसकेकी छिन्।

अब देउवाले सत्ता गठबन्धनको बैठक बोलाएर सरकार गठनको प्रक्रिया थप सक्रियता लिने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved