कर्णालीमा सरकार गठनको तयारी, नेतृत्वमा कांग्रेस र माओवादीको दाबी

कर्णालीमा सरकार गठनको तयारी, नेतृत्वमा कांग्रेस र माओवादीको दाबी

सुर्खेत। कर्णाली प्रदेशमा सरकार गठनका लागि दलहरूले तयारी तीव्र पारेका छन् । समानुपातिक सांसदको शपथलगत्तै दलहरूले सरकार गठनको प्रयास अघि बढाएका हुन् ।

कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्दै आएका छन् । कर्णाली प्रदेशसभामा ४० सांसदमध्ये नेपाली कांग्रेसका १३, माओवादी केन्द्रका १३, नेकपा (एमाले)का १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक-एक जना सांसद छन् ।

केन्द्रमा हुने राजनीतिक गठबन्धनले प्रदेश सरकारको नेतृत्वमा फरक पर्ने भएकाले अहिले गठबन्धनबाट कसले कर्णाली सरकारको नेतृत्व पाउला भन्ने अन्योल छ । तर माओवादी केन्द्र र नेपाली कांग्रेसले सरकारको दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रले कर्णाली प्रदेशमा विगतका तुलनामा माओवादी केन्द्रको मतभार बढी आएको भन्दै सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । पार्टीको बैठक बसेर प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रमा सुझाव पठाइएको माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजित शाहीले जानकारी दिए ।

‘हामीले केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार पाउनुपर्छ भनेर सुझाव दिएका छौं ।’ उनले भने,‘विगतको भन्दा बढि अहिले संघमा चार सिट र प्रदेशसमा प्रत्यक्षतर्फ नौ सिटमा विजयी भएका छौँ । त्यो आधारमा हामीले सरकारको नेतृत्वको दाबी गरेका हौँ ।’

संसदीय दलको नेता बन्न होडबाजी

कर्णालीमा संसदीय दलको नेता बन्नका लागि अहिले सांसदको होडबाजी देखिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेमा दलको नेता बन्न दुई-दुई जना आंकाक्षी देखिएका छन् ।

नेपाली कांग्रेसमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाह आंकाक्षी छन् । मुख्यमन्त्री शाही आफू नै संसदीय दलको नेता बन्ने बताइरहेका बेला शाहले अहिले उम्मेदवारी घोषणा गरेर सांसदसँग मत मागिरहेका छन् । यी दुवै नेता संस्थापन पक्षका हुन्।

माओवादीबाट राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टले दलको नेतामा आकांक्षा देखाएका छन् । तर माओवादीमा दलको नेता को हुन्छ भन्ने विषय केन्द्रको निर्णयमा भर पर्ने नेताहरूको भनाइ छ ।

एमालेमा दलको नेता बन्नका लागि प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहले आंकाक्षा राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved