एकतावद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय, लोसपा बैठकमा अनुपस्थित

चुनावपछि पहिलो पटक बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । पाँच दलीय गठबन्धनको बैठक भनिए पनि एउटा मुख्य घटक लोकतान्त्रिक समाजवादी पार्टीका नेता भने उपस्थित भएनन् ।

नेपालभ्युज

एकतावद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय, लोसपा बैठकमा अनुपस्थित
फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आगामी दिनमा अझ एकतावद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । चुनावपछि बसेको पहिलो बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाँचदलीय गठबन्धनको बैठक भनिए पनि एउटा मुख्य घटक लोकतान्त्रिक समाजवादी पार्टीका नेता भने उपस्थित भएनन् । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकपछि कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले विज्ञप्ति बाचन गरेर सुनाएका थिए ।

विज्ञप्तिमा चुनावको नतिजाले अहिलेको गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुन: पुष्टि भएको उल्लेख छ । मुलुकका सामु देखिएका चुनौती सामना गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै चुनावी परिणामले पनि मिलेर अघि बढ्न सन्देश दिएको त्यसमा जनाइएको छ ।

चुनावका बेला गठबन्धनकारी दलबीच कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारी देखिएको भन्दै आगामी दिनमा त्यसको उचित समीक्षा र सम्बोधन गर्ने समझदारी पनि भएको कार्कीले जानकारी दिए ।

उनले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएको बताए । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै कार्कीले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । ‘आगामी दिनमा धेरै बैठकहरू हुनेछन् । धेरै कुरा स्पष्ट हुँदै जानेछ । अब पनि गठबन्धनकै सरकार बन्नेछ,’ उनले भने ।

बैठकमा नेपाली कांग्रेस. नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved