मतदाताको छनोटमा युवा, विश्लेषक भन्छन्- ‘मुलुकलाई चाहिने युवा तयार भइसकेका छैनन्’

‘अहिलेका मतदाताले खोजेको जस्तो युवा नेतृत्व भेट्न गाह्रो छ । हामीले यो बुझ्नुपर्छ कि युवा, युवा मात्रै भनेर हुँदैन । कस्तो युवा चाहिने हो भन्नेमा प्रष्ट हुनुपर्छ ।’

मतदाताको छनोटमा युवा, विश्लेषक भन्छन्- ‘मुलुकलाई चाहिने युवा तयार भइसकेका छैनन्’

काठमाडौं। यो पङ्क्तिकार चुनावी प्रयोजनका लागि पश्चिम हुँदै मधेशका केही जिल्लाको साताव्यापी दौडाहामा निस्क्यो । काठमाडौंबाट चितवन हुँदै नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु र पाल्पासम्म पुग्दा सयौं मतदातासँग प्रत्यक्ष कुराकानी गर्ने अवसर जुर्‍यो ।

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको मतदानलाई सन्दर्भ बनाएर गरिएका कुराकानीका क्रममा मतदाताहरूले आफूले भोग्ने गरेको दुःख र समस्याबारे गुनासो त गरे नै, सँगै अबको आफूहरूको रोजाइ ‘युवा’ भएको पनि खुलस्त बताए ।

कुराकानीका क्रममा मतदाताहरूले थुप्रै दु:खेसो र गुनासोका पोको फुकाए । उनीहरूमध्ये कोही ‘बूढापाका नेतालाई जिताएपछि समय र आवश्यक्ताअनुसार परिवर्तन नभएको’ सुनाउँथे भने कोही ‘जितेर पठाइसकेपछि अर्को चुनावसम्म नफर्किने’ बताउँथे ।

यस लेखमा भने कुराकानी गरिएका मतदातामध्ये धेरैले उठाएको विषय युवाको सन्दर्भमाथि लेख्ने प्रयास गरिएको छ । हुन पनि यो पङ्क्तिकारले भेटेका प्रायः मतदाताहरू युवाकै पक्षमा छन् । युवाको पक्षमा खुल्दै गर्दा उनीहरूले किन (?) भन्ने सवालको जवाफ/कारण पनि दिन बिर्सेनन् । जवाफमा उनीहरूले ‘बूढापाकाहरूले समयको गति र युवामनको चाहना नबुझ्ने’, ‘बूढापाकाहरूमा देशविकासको आकांक्षा नभएको’लगायत बताए ।

दौडाहाका क्रममा झन्डै ५०० जना मतदाताहरूसँग प्रत्यक्षरूपमा कुराकानी भए । यसमा दुईतिहाइभन्दा बढी मतदाताहरूले ‘युवा’को पक्षमा रहेको बताए । यसले मुलुकको चुनावी माहोल युवाको पक्षमा छ भन्ने भनाइलाई थप परपुष्टि गर्न मद्दत गर्छ ।

हुन त, नेपाली राजनीतिक वृत्तमा युवाको बहस नौलो होइन । पछिल्लो २-३ दशकयता युवाको बहस छेडिएको–छेडिएकै छ । तर, यो बहसमै सीमित छ । भनौँ— यसले आफ्नो निश्चित आकार लिइसकेको छैन । यसका अनेकन कारणहरू होलान् । यसतर्फ नजाऔँ । समय, माग र युगअनुसार यसको व्याख्या, विश्लेषण र समीक्षा होला नै । तर, यहाँ जोड्न खोजिएको विषयचाहिँ युवाहरूको पक्षमा चुनावी माहोल छ भन्ने हो ।

हुन त ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनले पनि यसबारे केही बताएकै हो । त्यस निर्वाचनमा युवा उपस्थिति ह्वात्तै बढेको देखिएको थियो । त्यसअनुसार नै निर्वाचित हुने युवा (जनप्रतिनिधि) को आँकडा पनि ठूलै थियो । यसको लहर अझै सेलाएको भने छैन । आसन्न प्रदेश र प्रतिनिधि सभामा पनि ३० प्रतिशत बढी उम्मेदवार युवा नै छन् ।

जसै— मुलुकमा युवाहरूप्रति मात्रै आकर्षण बढेको होइन कि, पाका नेता/नेतृत्वहरूप्रतिको वितृृष्णा समेत बढेको छ । पछिल्लो दुई महिनायता सामाजिक सञ्जालहरूमा चलाइएको अभियान ‘नो नट एगेन’ यस्कै एउटा प्रारुप मान्न सकिन्छ । उसको नारा छ— युवा छानौँ, पाकालाई सम्मानसाथ बिदा गरौँ ।

काठमाडौंका मतदाता रिवाज रिमाल यससँग सहमत छन् । अब सिङ्गो देशको नेतृत्व युवाको हातमा हुनुपर्ने सुनाउँछन् उनी । ‘अब पहिले पार्टीको जिम्मा युवाले लिनुपर्छ अनि सिङ्गो देशकै नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘यसबाट नेपालको कायापलट हुनसक्छ ।’

नुवाकोटका मतदाता मदन पाण्डे प्रश्न सोध्छन्, ‘६५ वर्षमा वृद्धभत्ता पाइन्छ भन्ने अनि आफूचाहिँ ७० वर्ष कट्दासम्म चुनावै नै लडिरहने, यस्तो पनि कहीँ हुन्छ ? यो कहाँको काइदा हो ?’ अब युवाहरूले मात्रै देशको आमूल परिवर्तन गर्नसक्ने भनाइ पाण्डेको छ । उनले भने, ‘अब देशलाई युवाहरूको जिम्मामा छाड्नुपर्छ । त्यसको आवश्यक्ता पूरा गर्न अब युवाहरू तयार छन् ।’

चितवनका मतदाता अरुण वन्त दल-दल भनेर धेरै वर्षयता मतदाताहरूले बूढापाका नेताहरूलाई जिताउँदा देश भड्खारोमा फसेको बताउँछन् । ‘हामीले दल-दल मात्रै भन्यौँ । यसो हुँदा हामीले एउटै नेतालाई, उही बूढापाका नेतालाई जिताइरह्यौँ । यसले देशलाई पटक्कै राम्रो गरेन,’ वन्तले भने ।

बूढापाकाहरूबाट अब देशको विकास नहुने वन्तको जिकिर छ । ‘अब बूढापाका नेताहरू सबै परीक्षण भइसके । अब युवाहरू आउन जरुरी छ । यो कुरा मतदातालाई राम्रोसँग थाहा छ । अब बूढापाका नेताहरूबाट देश विकास हुँदैन र यो अपेक्षा राख्नु पनि हुँदैन ।’

नवलपरासी पश्चिमकी उमा दाहाल आफ्नो अभिमत युवालाई नै रहेको सुनाउँछिन् । तर, युवा हुनु नै योग्यता हो भन्ने कुरामा भने आफूलाई विश्वास नलाग्ने उमाको भनाइ छ । ‘हो युवा आउनुपर्छ । तर, सक्षम युवा आउनुपर्छ । युवा हुनु नै योग्यता हो भन्नेचाहिँ हुँदैन,’ उनले भनिन् ।

रुपन्देहीका गोविन्द अर्याल अब युवा छान्ने ध्याउन्नमा छन् । ‘देश विकास गर्ने नेता चाहिएको हो र देश विकास कसले गर्छ भन्दा युवाहरूले गर्छन् । बूढाहरूले गर्दैनन् रहेछ भन्ने त प्रमाणित भइसक्यो । यिनीहरूले गर्ने भए त उहिल्यै गरिसक्थे नि । अबचाहिँ युवाहरू आउनुपर्छ,’ अर्यालको मत छ ।

रुपन्देहीकै मतदाता धर्म यादव चुनावसँग वाक्क छन् । ‘चुनाव त धेरै आयो । नेताहरू पनि धेरै आए, गए । तर, हाम्रो अवस्थाचाहिँ कहिल्यै गएन । अब त चुनावसँग वाक्क लागेको छ,’ उनले भने । तपाईं कस्तो नेताको आवश्यक्ता देख्नुहुन्छ ? भन्ने जिज्ञासामा भने उनले युवा नै भने । ‘अब त पढेलेखेको, समय बुझ्ने, जनताका दुःख बुझ्ने युवा चाहियो नि,’ उनले भने ।

कपिलवस्तुका मतदाता लालबहादुर केसी ८५ वर्ष पुगे । तर, उनी पनि युवाकै पक्षमा छन् । ‘बहुदल आएपछि धेरै नेताहरू आए । तर, जनताहरूको अवस्था भने फेरिएन । धेरै नेताहरूलाई जिताइयो । चुनावअगाडि यस्तो गर्छु, उस्तो गर्छु भनेर आए, जितेर गए । त्यसपछि कहिल्यै फर्केनन् । अबचाहिँ एकपटक युवालाई हेर्ने विचार छ,’ उनले भने । उनी युवाहरू परीक्षणमा रहेको विश्लेषण गर्छन्, भन्छन्— ‘युवाहरू अहिले परीक्षणमा छन् । अब यो चुनावमा जितेका युवाहरूले आफूलाई प्रमाणित गरे भने देशको माहोला युवाकै पक्षमा बन्छ । म चाहन्छु, युवाहरूले आफूलाई प्रमाणित गर्न सकून् ।’

यी केही जिल्लाका प्रतिनिधि मतदाताहरूका अवधारणा हुन् । यहाँ उल्लेख नगरिएका धेरै त्यस्ता मतदाताहरू भेटिए, जसले युवालाई नजिताइ नहुने दृष्टान्त सुनाए । जे होस्, यो प्रयोगले मुलुकको चुनावी माहोल युवाको पक्षमा छ भन्ने कुरालाई थप बलियो बनायो ।

०००

तर, मतदाताहरूले खोजेको जस्तो युवा भेट्न गाह्रो हुने राजनीतिक विश्लेषक हरि बताउँछन् । ‘युवा युवा भनेर हुँदैन,’ उनी भन्छन्, ‘अहिलेका मतदाताहरूले जस्तो युवा नेतृत्व खोजेका हुन्, त्यस्तो युवाहरू भेट्न गाह्रो छ । हामीले यो बुझ्नुपर्छ कि युवा युवा मात्रै भनेर हुँदैन । कस्तो युवाचाहिँ चाहिने हो भन्नेमा प्रष्ट हुनुपर्छ ।’

नेतृत्व लिन चाहने युवाले पहिले आफूलाई तयार गर्नुपर्ने विश्लेषक रोका बताउँछन् । ‘ओलीलाई बा बनाउने पनि युवाहरू नै हुन् । देउवालाई दाइ बनाउने पनि तिनै युवाहरू हुन् । त्यो भएर युवाहरूले पनि आफू कुन बाटो हिँडेको छु भनेर ख्याल गर्नुपर्छ । यदि यस्तैखाले युवाहरू नेतृत्वमा आउने हो भने त बूढापाकाहरू भन्दा खत्तम पो हुने हो कि ? यसरी पनि सोच्नुपर्छ,’ उनले भने ।

अर्का विश्लेषक पुरञ्जन आचार्य अहिलेका युवाहरू सतही मात्रै भएको बताउँछन् । ‘कार्यक्रम, विचारधारा र सिद्धान्तको आँखाबाट हेर्दा अहिलेका युवाहरू सतही मात्रै देखिन्छन् । एक हिसाबले भन्दा चाकरी–चाप्लुसीमा व्यस्त भए युवाहरू । यो एउटा देशका लागि निकै दर्दनाक अवस्था हो,’ उनले भने ।

यद्यपि, पनि हरेक क्षेत्रमा युवाहरू आउनुपर्छ र अघि बढ्नुपर्छ भन्ने मतकै पक्षमा छन् विश्लेषकद्वय रोका र आचार्य । उनीहरूको संयुक्त मत छ— युवा नै आउनुपर्छ भन्ने पक्षमा हो । कुरा कति हो भने युवाहरूमा पनि सक्षम युवाहरू आउनुपर्छ भन्ने हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved