सुनसरीमा ओली र प्रचण्डको छुट्टाछुट्टै चुनावी सभा

नेपालभ्युज

सुनसरीमा ओली र प्रचण्डको छुट्टाछुट्टै चुनावी सभा

काठमाडौं। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी सभा सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी जाने भएका छन्।

एमाले र जसपाको सुनसरी-४ को संयुक्त चुनावी सभा लौकहीमा आयोजना हुँदैछ। उक्त सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट जगदिश कुशियैत र नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की उमेदवार छन्।

यस्तै धरानलगायतको क्षेत्र पर्ने सुनसरी-१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड धरान जाँदैछन्।

सभालाई प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि सम्बोधन गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा मुक्साहाङ मेन्याङ्बो प्रतिनिधिसभाका उम्मेदवार छन्। यहाँ एमाले-जसपा गठबन्धनबाट जसपाका असोक राई उम्मेदवार छन्।

दलका यी दुई उमेदवारलाई एमालेबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका मनोज मेन्याङ्बोको चुनौती छ। यस्तै प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा चुनावी सभालाई पनि सम्बोधन गर्ने जनाइएको छ। सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ जान लागेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए।

सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभामा कांग्रेसका प्रवक्ता महत, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै दाहालसहितका नेताहरूको टोलीले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेल बजारमा पनि चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved