सिन्धुका पहिरोपीडित भन्छन्- ‘जसले हाम्रो समस्या बुझ्छ उसैलाई भोट’

सिन्धुका पहिरोपीडित भन्छन्- ‘जसले हाम्रो समस्या बुझ्छ उसैलाई भोट’

काठमाडौं।  ‘भूकम्प पनि यही नै आयो, बाढी पहिरो पनि यही नै आउँछ, हिउँदमा त जेनतेन गरेर बसेकै हुन्छौँ, तर वर्षा लागेसी घरबार छाडेर आफन्तको शरणमा पुग्नुपर्छ । ओत लाग्ने छानो दिए खाना त दिनभर जोहो गरेर ल्याउँथें भन्नुपर्ने अवस्था आउँछ ।’ बाह्रबिसे नगरपालिका-२ घट्टेखोलाका ५५ वर्षका गोपाल विकको रोदन हो यो ।

हरेक वर्ष वर्षा सुरु भएसँगै भोग्नुपर्ने आफ्नो कथा सुनाउँदा उनको आँखा रसाइरहेका थिए । उनी थप्छन् ‘घट्टे खोलाले बसीखप्न दिएन । सधै‌ं वर्षामा घर छाड्यो हिउँद लागेपछि फेरि घर सरसफाइ गर्‍यो, यस्तै छ हाम्रो नियति’।

अन्य ठाउँमा जमिन नभएपछि त्यही ठाउँको दु:खसँग पौंठेजोरी खेल्नुपर्ने आफूहरूको बाध्यता रहेको उनको गुनासो छ ‘अन्त जाउँ जमिन छैन के गर्नु ? जसरी नि यही बस्नुपर्दो रहेछ ’ ।

गाउँ निर्वाचनमय बनेको छ । गाउँका टोल र बस्तीहरू पार्टीका झण्डा र ब्यानरले रङ्गीचङ्गी देखिएका छन् । तर, गोपाललाई कुनै रौनक छैन, बरु आफ्ना व्यथा कसलाई सुनाए राहत पाइन्छ भन्ने आशा छ । उनलाई वर्षायाम कहिल्यै नआइदिए जस्तो लाग्छ । उनी आफ्ना जनप्रतिनिधिले समस्या समाधान गर्दिए हुन्थ्यो भन्ने चाहन्छन् ‘अब जसले हाम्रो समस्या समाधान गर्दिन्छ उसैलाई भोट दिने हो, कि हामीलाई सुरक्षीत स्थानमा सार्नुपर्‍यो नभए यो पहिरो र बाढी नियन्त्रण गर्दिनुपर्‍यो ।’

उनीजस्तै सोही ठाउँमा ५८ वर्षका तिलकबहादुर भण्डारीलाई पनि वर्षाको समयमा ओत लाग्ने ठाँउको पिरलोले सताइरहेको छ । २०७७ सालमा आएको पहिरोका कारण कच्ची घर चर्किएको पीडा पोख्छन्- ‘अरू केही पीर छैन त्यही हो बर्खा लागेसी कहाँ जाने भन्ने चिन्ता छ । दुई वर्षअघि आएको बाढीले घर नै चर्काइदियो अहिले पनि त्यही चर्केको घरमा बसिरहेका छौँ ’

उनले सरकारले केही रकम दिए पनि त्यो पर्याप्त नभएको बताए । उनी पनि आफ्नो ठाउँको समस्या समाधान गर्ने प्रतिबद्धता खोज्दै छन् । जसले समाधान गर्ने अठोट गर्छ उसैलाई मत दिने उनको योजना छ । उनले केही उम्मेदवारहरूले आफूलाई प्रतिबद्धता जनाएको समेत जानकारी दिए ।

यता वडानम्बर २ कै तारादेवी भण्डारी पनि स्थानीयको समस्या समाधान गर्ने उम्मेदवारलाई नै आफ्नो मत जाने बताइन् । ‘घट्टेखोला पहिरोले २७ घरमा क्षती पुगेको हो तर १४ घरको मात्रै टिपोट गरिएको रहेछ । घर भन्दा पनि जग्गा सबै बगायो अब घर कहाँ बनाउने भन्ने यहाँका बासिन्दा चिन्तित छन् यहाँको समस्या जसले समाधान गर्छ उसैलाई हाम्रो भोट ’

उनले सबै उम्मेदवारहरूले यहाँको समस्यालाई मनमा राखेर समाधानका लागि पहल गर्न आग्रह गरिन् । यो ठाउँको भौगोलिक रूपमा अध्ययन गरेर समस्या समाधान कसरी गर्ने भन्ने दायित्व अबको सांसदको जिम्मेवारी हुने उनको भनाइ छ । यता सोही ठाउँकै प्रेमकुमार राउत भने यो ठाउँमा सडकको समेत समस्या रहेको सुनाए ।

उनी भन्छन्- ‘बाह्रबिसेबाट कर्थलीसम्मकै सडकको अवस्था निकै दयनीय छ ठाउँ-ठाउँमा पहिरो छ यातायातको पनि समस्या नै छ ’ बाह्विसेका नगरपालिका दुई सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र एकमा पर्छ । संघीय संसद, प्रतिनिधि सभा सदस्यका लागि यो क्षेत्रमा १४ जनाले उम्मेदवारी दिएका छन् ।

तर, मुख्य प्रतिस्पर्धा भने लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध) र एमालेका उम्मेदवार सरेश नेपालबीच हुने देखिएको छ । यस क्षेत्रबाट जित निकाल्न सरेशका लागि गठबन्धन नै मुख्य चुनौती हो । गठबन्धनबाट असन्तुष्टहरूको भोट तान्ने रणनीतिमा लागेका सरेश गठबन्धन कसिलो नबनोस् भन्ने पक्षमा छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ मा बलेफी, जुगल, सुनकोसी, भोटेकोसी, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रबिसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. २, ३, ४, ९ र १० वडा पर्दछन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा पहिलो स्थानमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथो स्थामा एकीकृत समाजवादी छन् ।

नेपाली कांग्रेसले ३४ हजार ७ सय ६१ मत पाएको थियो भने नेकपा एमालेको २७ हजार ५९ र नेकपा माओवादी केन्द्रको १९ हजार ३३४ मत छ । एकीकृत समाजवादीले २ हजार ३११ मत पाउँदा राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved