खोटाङमा गठबन्धनको पीडा : कांग्रेसको संस्थापन पक्ष नै बागी

नेपालभ्युज

खोटाङमा गठबन्धनको पीडा : कांग्रेसको संस्थापन पक्ष नै बागी

काठमाडौं। गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस जिल्लाको सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो तर, संघीय तथा प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा स्थितिमा उत्तिकै ठूलो फेरबदल भएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाका गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ) ले टिकट पाए । प्रतिनिधिसभामा माओवादी केन्द्रलाई छोड्न खोटाङ कांगे्रस तयार थिएन । प्रतिनिधिसभामा छोड्नै परे पनि प्रदेश सभाका दुवै सिट कांग्रेसले पाउला भन्ने अपेक्षा कांग्रेसी कार्यकर्ताले राखेका थिए ।

तर, प्रदेश सभाका दुई सिटमध्ये खोटाङ (क ) मा नेकपा (एकीकृत) समाजवादीका वीरबलकाजी राईले टिकट पाए ।

जिल्लाको सबैभन्दा ठूलो पार्टीको उम्मेदवारी खोटाङ (ख ) मा मात्रै सीमित भयो । त्यो पनि कांग्रेसभित्रको सबैभन्दा सानो गुट कृष्णप्रसाद सिटौला निकट भूपेन्द्र राईले टिकट पाए । कांग्रेसको संस्थापन पक्ष र शेखर–गगन गुटका नेता कार्यकर्ता हरेको हेर्‍यै भए ।

योे स्थितिले जिल्ला कांग्रेसको संस्थापन पक्ष नै बागी बन्न पुगेको छ । कांग्रेस जिल्ला सभापति विष्णुकुमार रार्ईले प्रदेश ( क ) मा कांग्रेसका बागी उम्मेदवार धर्मराज पोख्रेललाई समर्थन गर्ने निर्णय गराए । यसवापत सभापति शेरबहादुर देउवाले जिल्ला पार्टी कमिटी नै भंग गर्दिन धम्की दिएका छन्, तर, जिल्ला कांग्रेसका संस्थापनन पक्षकै नेता कार्यकर्ताले पार्टी केन्द्र र सभापति देउवाका धम्कीलाई पनि खासै महत्त्व दिएका छैनन् ।

त्यसो त, जिल्ला कांग्रेसले सेटमै बागी उम्मेदवार उठाउने तयारी गरेको थियो । प्रतिनिधिसभामा पूर्वमन्त्री सर्वधन राई, प्रदेशसभाका क्रमशः  र सुवास पोख्रेलले उम्मेदवारी फिर्ता लिए तर धर्मराज पोख्रेलले भने फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता लिएका नेताहरू पनि गठबन्धनको पक्षमा खुलेर लागेका छैनन् ।

एमालेबाट भने प्रतिनिधिसभामा विशाल भट्टराई पाचौंपटक प्रतिस्पर्धा गर्दै छन्। उनी २०५६ र २०६४ मा हारेका थिए भने २०७० र २०७४ मा विजयी भएका थिए । विशाल भट्टराईले यसपालि हारे पनि, जिते पनि जिल्ला राजनीतिमा ‘ह्याट्रिक’ गर्दैछन् । हारे हारको, जिते जितको ह्याट्रिक ।

जिल्ला राजनीतिका जानकार मोहन गुरुङ भन्छन्–‘खोटाङमा एमालेका विशाल भट्टराई लोकप्रियता निकै कमजोर हुँदै गएको छ । तर, उनको सबलता के हो भने अरु पार्टीका उम्मेदवार त्यतिका पनि छैनन् ।’ गुरुङ जिल्ला राजनीतिमा यसपटक निकै ठूलो नेतृत्व अभाव देखिएको ठान्दछन् । उनको विचारमा चुनाव नजिकिनै लाग्दा पनि मतदातामा खासै ठूलो उत्साह छैन।

देशका विभिन्न जिल्लामा जस्तो खोटाङमा भने स्वतन्त्र, नयाँ र वैकल्पिक भनिएकाहरूको पनि उम्मेदवारी र उपस्थिति छैन । सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले उम्मेदवारहरु बीच नै प्रतिस्पर्धा हुने निश्चित जस्तो देखिन्छ । जसपाले प्रतिनिधिसभामा डा.कृष्णकुमार राई, प्रदेशसभा तर्फ राकेश राई र प्रेम राईको सेट बनाएर उम्मेदवारी दिएको छ ।

तर, चुनावको मुखमा जसपाबाट डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपा विभाजनपछि जसपापंक्ति व्यापक निराशा छाएको छ । जसपा कार्यकर्ताको एउटा पंक्ति माओवादी केन्द्र प्रवेश गरेको छ भने अर्को पंक्ति ‘वैकल्पिक राजनीतिको पुनर्गठन’ सुरुवात गर्ने भन्दै कुनै पार्टीमा नलागी तटस्थ बसेको छ ।

प्रदेश सभा ‘क’ मा कांग्रेस संस्थापन पक्षले समर्थन गरेका बागी धर्मराज पोख्रेल, गठबन्धनको तर्फबाट ए. समाजवादीका वीरबलकाजी राई र एमालेका पीके राई प्रतिस्पर्धामा छन् । जिल्ला कांग्रेसले कुनै नयाँ निर्णय नलिए यिनीहरूबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ । कांग्रेसको केन्द्रले भने बागीलाई समर्थन नगर्न जिल्ला पार्टीलाई निरन्तर दबाब बनाइरहेको छ ।

प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फबाट कांग्रेसका भूपेन्द्र राई र एमालेका राम दंगाल प्रतिस्पर्धामा छन्। यी दुई बीचको प्रतिस्पर्धामा तेस्रो बलियो उम्मेदवार देखिएको छैन । राई कांग्रसभित्रको गुुटबन्दीमा सिटौला निकट हुन भने दंगाल एमाले जिल्ला अध्यक्ष । दुवैलाई जिल्ला राजनीतिमा मतदाताले नयाँ मानेका छन् ।

कांग्रेसको संस्थापन पक्ष नै बागी बनेपछि खोटाङको चुनावी माहोल रोचक र झनै अन्योलग्रस्त बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved