विप्लव-वैद्य समूहबाट चुनाव विथोल्ने चेतावनी : कस्तो छ सुरक्षा रणनीति ?

२९३० मतदान केन्द्रलाई सरकारले अति संवेदनशीलको रूपमा हेरेको छ। २४३८ मतदान केन्द्र संवेदनशील भनेर छुट्ट्याइएको छ। मतदान स्थलको अवस्था हेरिकन सुरक्षा व्यवस्था मिलाइएको छ।

विप्लव-वैद्य समूहबाट चुनाव विथोल्ने चेतावनी : कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं। लोकतान्त्रिक प्रणालीमा चुनाव पर्व जस्तै हो । मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मत माग्न घरदैलोमा व्यस्त छन्। मुलुक चुनावमा होमिइरहँदा एउटा खबर आयो ‘‘नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचन खारेज अभियान चलाउने।’’

संसदीय व्यवस्थाले जनताको आवाज नबोलेको भन्दै पार्टीको नवौँ महाधिवेशनले चुनाव खारेजी अभियानले चलाउने निर्णय गरेको उसले बताएको छ।

चुनाव बिथोल्ने प्रयासमा को-को छन् ?

विप्लव समूहसहित, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जनाए। त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

चुनाव बिथोल्ने धम्कीपछि सुरक्षा निकाय झस्किएको छ। यसअघि गुप्तचर संयन्त्रले प्रहरी मुख्यालयमा बुझाएको प्रतिवेदन अनुसार विप्लव समूहको कार्यशैलीले फेरिएको भन्दै फरक रणनीति बनाएको थियो।

अब भने ‘निर्वाचन सुरक्षा रणनीति र योजना’ पुनरावलोकन गर्ने जनाइएको छ। यसका लागि आवश्यक छलफल र सम्बन्धित निकायसँग समन्वय भइरहेको सुरक्षा निकायले जनाएका छन्।

निर्वाचनको विरोध गर्नेमा सबैजसो माओवादीबाट छुट्टिएर गएका स-साना शक्ति रहेको सुरक्षा निकायको विश्लेषण छ। यि दलले अहिलेको संसदीय व्यवस्थाप्रति नै असहमति जनाएका छन् ।

सुरक्षा रणनीति परिवर्तन हुँदै

मुलुकको शान्ति सुरक्षाको पछिल्लो अवस्था सामान्य छ। तैपनि निर्वाचनका समयमा केही सुरक्षा चुनौती हुने सरकारको विश्लेषण छ। चुनौती रहे पनि यो चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सुरक्षा निकायको भनाई छ।

केही समूहले निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि त्यसलाई मध्यनजर गरेर सुरक्षा रणनीति परिवर्तन गरिने निर्वाचन आयोगले पनि जनाएको छ। यो वर्ष चुनाव बहिष्कार होला भन्ने आयोगले ठानेको थिएन। निर्वाचनका सन्दर्भमा आम सहमतिकै वातावरण बन्ला भन्ने लागे पनि त्यसो नभएपछि सुरक्षा योजना परिवर्तन गर्ने तयारी गरेको आयोगका पदाधिकारी बताउँछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन् ‘‘जुनजुन समूहले चुनाव बिथोल्छु भनेका छन्। उनीहरूलाई वार्तामा ल्याएर कन्भिन्स गराउने सरकारको काम हो। हामीले भने सुरक्षा निकायसँग गम्भीर रूपमा छलफल गरेर चुनाव विरोधी गतिविधिलाई कडा निगरानी गर्न भनेका छौँ। सोही अनुसार सुरक्षा योजना बनाएर लाग्दै छौँ।’’

यस्तो छ सुरक्षा निकायको तयारी

गृह मन्त्रालयले स्थानीय तहकै निर्वाचनलाई आधार मानेर चुनावलक्षित ‘एकीकृत सुरक्षा रणनीति’ बनाएको छ। पछिल्लो समय विप्लव, वैद्यलगायतका समूहको चेतावनी आएपछि सुरक्षाकर्मी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेको छ।

२०७४ को चुनावमा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो। यसपटक १ लाख १५ हजार भर्ना गरिएको छ। यसबाहेक निर्वाचन सुरक्षाका लागि ७५ हजार नेपाली सेना पनि परिचालन हुनेछन्। ७२ हजार नेपाल प्रहरी र ३५ हजार सशस्त्र प्रहरी परिचालन गरिने छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनावी खारेज अभियान’ घोषणा गरेपछि सुरक्षा निकायले ती समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। कतिपय स्थानमा निर्वाचन बिथोल्ने सामग्रीसहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइसकिएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पछिल्लो सुरक्षा खतरालाई हेरेर निर्वाचन सुरक्षा रणनीतिमा परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन्।

“हामीले खराबभन्दा खराब अवस्थालाई पनि सजिलै नियन्त्रणमा लिन सक्ने योजना बनाउँदै छौं। ती योजनाहरू तुरुन्तै परिवर्तन हुन पनि सक्नेछन्। लडाइँ-झगडा हुने कहीँ गोली बारुद पड्कने अवस्था आयो भने कसरी नियन्त्रण गर्ने वा त्यो घटना हुनै नदिन के गर्ने भन्ने सबै रणनीतिक योजना बनाइसकेका छौँ’’ उनले भने।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनावी खारेज अभियान’ घोषणा गरेपछि सुरक्षा निकायले ती समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। कतिपय स्थानमा निर्वाचन बिथोल्ने सामग्रीसहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइसकिएको प्रहरीले जनाएको छ।

कहाँ-कहाँ छ सुरक्षा थ्रेट ?

विभिन्न सुरक्षा निकायको छलफलपछि अति संवेदनशील, संवेदनशील र सामान्य गरेर मतदान स्थलको वर्गीकरण गरिनेछ। निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ वटा मतदानस्थल निर्धारण गरिएको छ।

मतदानस्थल अन्तर्गत २१ हजार ९ सय ६५ बढी मतदान केन्द्र तोकिएको छ। यी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील, सामान्य सुरक्षा थ्रेट भनेर वर्गीकरण गरिएको छ।

२९३० मतदान केन्द्रलाई सरकारले अति संवेदनशीलको रूपमा हेरेको छ। २४३८ मतदान केन्द्र संवेदनशील भनेर छुट्ट्याइएको छ। मतदान स्थलको अवस्था हेरिकन सुरक्षा व्यवस्था तयारी गरिएको छ।

सुरक्षा चुनौतीपूर्ण भएका क्षेत्रलाई संवेदनशील, अति संवेदनशील र सामान्य गरी छुट्टाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार २९३० मतदान केन्द्रलाई सरकारले अति संवेदनशील स्थानका रूपमा हेरेको छ। २४३८ मतदान केन्द्र संवेदनशील स्थलका रूपमा छुट्ट्याएको छ। मतदान स्थलको अवस्था हेरिकन सुरक्षा व्यवस्था तयारी गरिएको छ।

विषेशगरी हिमाली तथा उच्च पहाडी क्षेत्रका केही मतदान स्थलमा बिथोल्न चाहने शक्तिको प्रभाव हुनसक्ने सुरक्षा निकायको आकलन छ। भौगोलिक विकट्ताका कारण सुरक्षा निकाय एक स्थानबाट अर्को स्थानमा सजिलै पुग्न नसक्ने कतिपय क्षेत्रलाई पनि अति संवेदनशीलको सूचीमा राखिएको छ ।

यसबाहेक मधेश प्रदेशको केही मतदानस्थल केन्द्र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ। यसअघिका निर्वाचनमा झडप भएका, द्वन्द्व सिर्जना भएका मतदान स्थललाई यसपटक पनि संवेदनशीलमा राखिएको सुरक्षा निकायको भनाइ छ।

मतदातालाई तर्साउने वैद्य-विप्लवको योजना

यसअघि, वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचन छिटफुटबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । त्यो बेला निर्वाचनमै सहभागी दलका कार्यकर्ताले मतपत्र पेटिका लुटेर भागेका थिए। कतिपय मतदान स्थलमा दुई पक्षका कार्यकर्ताबीच झडप भयो । तर निर्वाचन बिथोल्ने बताएका शक्तिको खासै असर भएन ।

यसपटकको चुनावमा भने विप्लव समूहलगायतले चुनावमा भौतिक कारबाहीसम्म गर्ने योजना बनाएको रिपोर्ट प्रहरीको विशेष गुप्तचर ब्युरोले पाएको छ। उनीहरूको नियत मान्छे मार्ने र ठूला क्षति गर्ने नरहे पनि तर्साएर मतदातालाई मतदान केन्द्रसम्म जान नदिने वातावरण बनाउन सकिन्छ की भन्नेमा केन्द्रित रहेको प्रहरीले सूचना पाएको छ।

एक उच्च अधिकारीले नेपाल भ्युजसँग भने, ‘‘विप्लव, वैद्यलगायतका कार्यकर्ताले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने र त्रास सिर्जना गर्नेसम्मका रिर्पाेट पाएका छौँ। विभिन्न जिल्लाका रहेका उनीहरूका कार्यकर्तालाई प्रहरी कार्यालय र केन्द्रबाट खटिएका गुप्तचरले अहिले खोजी गरिरहेको र पक्राउ गर्ने तयारी छ।’’

स्थानीय तहको चुनावमा स्वेच्छाले धरपकड दिएका विप्लव, वैद्य समूहका कार्यकर्ता अहिले भूमिगतजस्तै छन्। नेतृत्वले आफ्ना कार्यकर्तालाई सकभर ‘पक्राउ नपर्ने गरी कारबाही थाल्नु’ भन्दै गोप्य प्रशिक्षण दिइरहेको पनि प्रहरीको गुप्तचर ब्युरोलाई सूचना पाप्त भएको छ।

सुरक्षा विज्ञ भन्छन् सूक्ष्म निगरानी बढाउनुपर्छ

विप्लव समूहसहित चुनाव बिथोल्ने चेतावनी दिएका समूहका गतिविधिमाथि सूक्ष्म निगरानी बढाउनुपर्ने सुरक्षा विज्ञको सुझाव छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्- ‘‘पछिल्लो परिस्थितिको विश्लेषण गर्नुपर्छ। जसरी हिजोको उनीहरूको गतिविधिसँग अहिलेको विप्लवलाई जोडेर सतही विश्लेषण गरिँदै छ त्यो नै गलत छ। पछिल्लो परिस्थिति फरक छ।

नेता कार्यकर्ता कति छन् ? के कस्ता हातहतियार प्रयोग गरिरहेका छन् ? सबै सूक्ष्म अध्ययन गर्नुपर्छ। कुनै घटना गराउनुपूर्व नै रोक्ने गरी सुरक्षा संयन्त्र तयारी गर्नुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved