स्याङ्जामा देखियो नयाँ रोग अफ्रिकन ‘स्वाइन फिभर’, ३ सय बंगुर मरे

नेपालभ्युज

स्याङ्जामा देखियो नयाँ रोग अफ्रिकन ‘स्वाइन फिभर’, ३ सय बंगुर मरे

स्याङ्जा : स्याङ्जामा नयाँ रोग अफ्रिकन ‘स्वाइन फिभर’ देखापरेको छ । पुतलीबजार नगरपालिकामा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हो ।

फिभरका कारण पुतलीबजारका झन्डै ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।कार्यालयमा ३ सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएको कार्यालय प्रमुख डा. इन्द्रप्रसाद भट्टले बताए । ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ,’ उनले भने ।

एक महिनादेखि यो रोगको संक्रमण देखिन थालेको प्राबिधिक प्रमुख गोपाल गिरीले बताए । बंगुर झोक्राउने, खान खान रुचि नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरू देखिने, नाक र मुखबाट रगत/पानी/र्‍याल बग्ने लक्षण संक्रमित बंगुरमा देखिएको उनले बताए ।

सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहारसुसार गर्ने, दानापानी दिने व्यक्ति पनि सुरक्षित हुनुपर्ने उनले बताए । यो रोगबाट मरेको बंगुरलाई राम्ररी गाड्नुपर्ने उनले बताए ।

भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफूले पालेका ४९ वटा बंगुर मरेको बताए। माउ र पाठापाठीसहित धमाधम बंगुर मर्न थालेपछि उनलाई हजारौं रुपैयाँ बराबरको क्षति भएको छ । विगत ८/१० बर्षदेखि बंगुरपालन गर्दे आएका गन्धर्व परिवारसँग अहिले ३ वटा बंगुर मात्र छन् । ऋण-धन गरेर पालेको बंगुर एक्कासि मर्न थालेपछि गन्धर्व परिवार चिन्तामा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved