काठमाडौं ९- पुराना श्रेष्ठ र धमलालाई युवा नेता पाण्डेको कडा चुनौती

कांग्रेसका मत नै निर्णायक हुने देखिन्छ । कांग्रेसका मत खर्लप्पै लैजान सके धमलाले जित्नेछिन् । तर त्यस्तो हुने सम्भावना कम देखिन्छ । कांग्रेसका धेरै मत धमलालाई भन्दा मिलनलाई जान सक्छन् ।

नेपालभ्युज

काठमाडौं ९- पुराना श्रेष्ठ र धमलालाई युवा नेता पाण्डेको कडा चुनौती

काठमाडौं। काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा ७२ हजार १ सय ७३ मतदाता छन्। क्षेत्रफलका हिसाबले काठमाडौंका अन्य क्षेत्रको तुलनामा ठूलो रहेको यहाँबाट मतदाताले पुरानै नेता जिताउलान् की नयाँ अनुहारलाई ‘डेब्यू’ गराउलान्, चर्चाको विषय बनेको छ।

काठमाडौं महानगरपालिका, चन्द्रागिरि र नागार्जुन नगरपालिकाका केही वडा यस क्षेत्रमा पर्छ। काठमाडौंका वडा नम्बर १२, १४, २१ र २२ र चन्द्रगिरिका १, १२, १३, १४ र १५ क्षेत्र नबर ९मा पर्छ। साथै नागार्जुनका ६, ७, ८, ९ र १० वडा पनि यही निर्वाचन क्षेत्रको हो।

यहाँबाट निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला  र विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डे मुख्य प्रतिस्पर्धी छन् ।

राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराए पनि यीनै तीनजनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

अघिल्लो चुनावमा जितेका एमालेका श्रेष्ठ २०४८ मै सांसद भएका थिए। २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट सांसद् बनेका श्रेष्ठ लगभग त्यतिबेलै जन्मेका मिलन पाण्डेसँग प्रतिस्पर्धामा छन्।

श्रेष्ठले २०४८, २०५१ (काठमाडौं ७), २०७४ मा काठमाडौं ९ बाट जितेका थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका उनी यसपटक फेरि मैदान उत्रेका छन् ।

२०७० को संविधानसभा निर्वाचनमा काठमाडौं २ को उपनिर्वाचनमा श्रेष्ठ कांग्रेसका दीपक कुँइकेलसँग पराजित भएका थिए।

स्थानीय तह चुनावको नतिजा अनुसार मतदातामाझ बलियो देखिएको कांग्रेसको उम्मेदवार यस क्षेत्रमा छैन। एमालेभन्दा धेरै मत रहेको कांग्रेसले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी धमलालाई समर्थन गरेको छ ।

धादिङकी धमला पहिलो संविधानसभा निर्वाचन २०६४ मा धादिङ २ बाट संसद् प्रवेश गरेकी थिइन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विज्ञान तथा प्रविधिमन्त्री रहिसकेकी धमला अहिले काठमाडौंमा बस्छिन्।

काठमाडौं– ९ का अर्का प्रतिस्पर्धी मिलन पाण्डे हुन् । २०७४ सालमा पनि यो क्षेत्रबाट विवेकशीलबाट उम्मेदवार बनेका उनी झन्डै पाँच हजार मत ल्याएर तेस्रो भएका थिए।

एमालेका श्रेष्ठ २२ हजार ८५२ मतका साथ विजयी हुँदा कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत पाए । मिलनले ४ हजार ९४६ मत ल्याएका थिए ।

स्थानीय तह निर्वाचनमा काठमाडौं ९ मा पर्ने वडाहरूको मतपरिणाम हेर्ने हो भने झिनो मतले कांग्रेस अगाडि छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले जम्मा १९ हजार ९ सय मत प्राप्त गरेका थिए।

एमालेका वडाध्यक्षका उम्मेदवारले १९ हजार २ सय मत पाएका थिए। यहाँ माओवादीको मत निकै कम छ । नागार्जुनका ६ र १० मा मात्रै १०० मत कटाएको माओवादीले काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ मा मात्रै उम्मेदवारी दिएको थियो। जसमा माओवादी उम्मेदवारले ६७ मत मात्रै पाएका थिए ।

फरक राजनीतिक विचार बोकेका दलबीचको गठबन्धन र उम्मेदवार छनोटमा देखिएको असन्तुष्टिका कारण गठबन्धनभित्र मत ‘ट्रान्सफर’ नहुने चिन्ता छ । स्थानीय तहको परिणाम हेर्दा माओवादी उम्मेदवार धमलालाई कांग्रेसको मत ‘ट्रान्सफर’ नभए ठुलो समस्या हुनेछ ।

अघिल्लो पटक तेस्रो भएका मिलन पाण्डेको चर्चा यसपटक पहिले भन्दा धेरै छ । उनले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलहरूप्रति आम नागरिकमा बढेको वितृष्णाको फाइदा मिलनले उठाउन सक्छन् ।

यता एमाले अध्यक्ष ओलीलाई कठिन घडीमा सधैँ साथ दिने कृष्णगोपाल श्रेष्ठ आक्रामक स्वभावका छन्। त्यही स्वभावका कारण  पहिले जस्तो उनको लोकप्रियता छैन ।

यस्तोमा कांग्रेसका मत नै निर्णायक हुने देखिन्छ । कांग्रेसका मत खर्लप्पै लैजान सके धमलाले जित्नेछिन् । तर त्यस्तो हुने सम्भावना कम देखिन्छ । कांग्रेसका धेरै मत धमलालाई भन्दा मिलनलाई जान सक्छन् ।

किनकी यो क्षेत्र छाडेकोमा धेरै कांग्रेसी असन्तुष्ट देखिन्छन् । त्यसैले धेरै मत मिलनलाई जान सक्ने सम्भावना छ । त्यसो भयो भने दुवै पुरानालाई पछार्दै मिलनले नै यो क्षेत्रबाट बाजी मार्न सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved