प्रचण्डको भाषण- कांग्रेस झुट भन्नेले शान्ति सम्झौता पनि झुट भन्न सक्नुपर्छ

‘जनताको सर्वोच्च संस्थाको रूपमा रहेको संसद् दुई/दुईपटक विघटन गर्ने षड्यन्त्रहरू भए । जसको दायरा हामीले सोचेभन्दा निकै ठूलो थियो । त्यसलाई हामीले परास्त गर्‍यौँ र अहिले हामी निर्वाचनको सम्मुखमा छौँ । यदि त्यसबेला सन्तुलन नमिलेको देश दुर्घटनामा गइसकेको हुन्थ्यो ।’

नेपालभ्युज

प्रचण्डको भाषण- कांग्रेस झुट भन्नेले शान्ति सम्झौता पनि झुट भन्न सक्नुपर्छ
फाइल तस्वीर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको दोहोर्‍याएका छन् । बागमती प्रदेशस्तरीय गठबन्धनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हाम्रो लागि मंसिर ४ को निर्वाचन सामान्य एउटा निर्वाचन मात्रै होइन,’ अध्यक्ष प्रचण्डले भने ।

मंसिर ४ को निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाइँ भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो निर्वाचनमा दुईवटा गठबन्धनहरू छन् । एउटा व्यवस्था बचाउनुपर्छ भन्ने, जुन हामी छौँ र अर्कोचाहिँ अहिलेको व्यवस्था सिद्ध्याउने मानसिकता भएको गठबन्धन हो । यसलाई परास्त गर्नुपर्छ ।’

उनले कांग्रेस-कम्युनिस्टबीचकै गठबन्धन प्राकृतिक हुने रहेछ भन्ने थाहा पाएको पनि बताए । आफूले वामपन्थी-वामपन्थीबीच एकता हुँदा सजिलो हुने भनेर त्यसको प्रयास पनि गरेको तर, त्यो केही नेताको सनकका कारण असफल भएको बताए । ‘हामी यहाँ जत्ति छौँ, सबै हिजोको १२ बुँदे सहमतिको पक्षधर र हस्ताक्षरकर्ता छौँ । हामी संविधान र व्यवस्था बचाउन चाहन्छौँ भने उतापट्टिको गठबन्धनमा निरङ्कुशवादी छन् । जो फेरि पछाडि नै फर्किन चाहन्छन्,’ अध्यक्ष प्रचण्डले भने ।

गठबन्धन र गठबन्धनको सरकार सानो कसरतले नबनेको प्रचण्डको भनाइ थियो । ‘जनताको सर्वोच्च संस्थाको रूपमा रहेको संसद् दुई/दुईपटक विघटन गर्ने षड्यन्त्रहरू भए । जसको दायरा हामीले सोचेभन्दा निकै ठूलो थियो । त्यसलाई हामीले परास्त गर्‍यौँ र अहिले हामी निर्वाचनको सम्मुखमा छौँ । यदि त्यसबेला सन्तुलन नमिलेको देश दुर्घटनामा गइसकेको हुन्थ्यो ।’

उनले आपसलाई भोट दिन गाह्रो हुन नहुने बताए । ‘कांग्रेसलाई झुट भन्नेले शान्ति सम्झौता पनि झुट हो भन्न सक्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौताकै दिन मैले कांग्रेसलाई छाप लगाइसकेँ । गिरिजाबाबूले शान्ति सम्झौतामा हस्ताक्षर गरेकै दिन हँसिया हथौडामा छाप लगाइसक्नुभयो । अनि शेरबहादुर देउवा र प्रचण्डलाई नेता मान्ने साथीहरूलाई किन छाप लगाउन गाह्रो भयो ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved