आमनिर्वाचन

अवकाशपछि राजनीतिमा दाउ लगाउँदै सुरक्षा निकायका पूर्वाधिकारीहरू

चुनावी भीडमा प्रहरीका पूर्व अधिकारीहरु पनि देखिएका छन् । अवकाशपछि उनीहरू अहिले सक्रिय राजनीतिमा लागेका छन् । केही अघिल्लो चुनावदेखि नै राजनीतिमा सक्रिय भएकाहरु चुनावी मैदान उत्रिएका छन् । केहीले भने पहिलो पटक राजनीतिको दाउ खेल्न लागेका छन् । 

अवकाशपछि राजनीतिमा दाउ लगाउँदै सुरक्षा निकायका पूर्वाधिकारीहरू

काठमाडौं। आगामी मंसिर ४ गते प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० पदका लागि निर्वाचन हुँदैछ । प्रतिनिधि सभातर्फ कुल दुई हजार ४१२ र प्रदेश सभातर्फ तीन हजार २२४ उम्मेदवार चुनावी मैदानमा छन् ।

यो भीडमा प्रहरीका पूर्व अधिकारीहरू पनि देखिएका छन् । अवकाशपछि उनीहरू अहिले सक्रिय राजनीतिमा लागेका हुन्। केही अघिल्लो चुनावदेखि नै राजनीतिमा सक्रिय भएकाहरु चुनावी मैदान उत्रिएका छन् । केहीले भने पहिलो पटक राजनीतिको दाउ खेल्न लागेका छन् ।

सर्वेन्द्र खनाल 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका छन् । एमालेले उनलाई काठमाडौं ६ बाट उम्मेदवार बनाएको हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्यलाई साकार पार्न आफूले योगदान गर्न राजनीतिमा आएको उनले बताए ।

पहिलेदेखि नै एमालेको सहयोगी रहेका खनाल पछिल्लो पटक भने पार्टीमै प्रवेश गरेर चुनावमा उठेका हुन् । खनाल केपी ओली प्रधानमन्त्री भएका बेला सांसद अपहरण काण्डमा मुछिएर विवादमा आएका थिए । नेता महेश बस्नेतसँग निकटको सम्बन्ध बनाउँदै उनी एमालेको राजनीतिमा खुड्किलो चढिरहेका छन् ।

खनाललाई कांग्रेस नेता भीमसेनदास प्रधान मुख्य प्रतिस्पर्धी छन् । प्रधानले २०७० र २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । २०७४ मा  एमाले र माओवादी एक ठाउँमा हुँदा पनि प्रधान १६ हजार ७८५ मत पाएर विजयी भएका थिए।

माओवादीका झक्कु सुवेदीको १५ हजार ४८५ मत आयो । यो पटक माओवादीले कांग्रेसलाई साथ दिँदै छ भने एमाले पनि फुटेको अवस्था छ । त्यसैले एमालेबाट उम्मेदवार बनेका खनाललाई चुनाव जित्न त्यति सहज भने छैन ।

रमेश खरेल 

नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् ।

काठमाडौं १ मा कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहका पुत्र प्रकाशमानले ह्याट्रिक गरिसकेका छन् । २०६४ पछिका सबै चुनाव उनले जितेका छन् ।

खरेलसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, एमालेका किरण पौडेल र स्वतन्त्र उम्मेदवार पुकार बम पनि प्रतिस्पर्धी छन् । यी सबैलाई पन्छाएर जित निकाल्नुपर्ने चुनौती खरेलका सामुन्ने छ ।

गत स्थानीय चुनावको परिणाम हेर्दा काठमाडौं-१ मा स्वतन्त्रको जनमत बलियो देखिन्छ । तर त्यो बेला कांग्रेस र एमालेका धेरै कार्यकर्ताले पनि मेयरमा स्वतन्त्रलाई मत दिएका थिए ।

आमा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका खरेल राजनीतिमा कुशल नेतृत्वको वातावरण निर्माणको प्रयास गर्ने बताउँछन् । खरेलले आफ्नो प्रतिवद्धतापत्रमा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि बढाउने, सीमानामा पिल्लरसहितको हरितबार लगाउने, विदेशीएका नेपालीलाई स्वदेश फर्काउने एजेन्डा बनाएका छन् ।

नवराज सिलवाल 

नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले प्रतिनिधिसभाका सदस्यका लागि ललितपुर १ बाट उम्मेदवारी दिएका छन् । २०७४को निर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गरेका सिलवाल नेकपा एमालेबाट चुनाव लड्दै छन् ।

डीआईजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरीयताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको सरकारसँग निरन्तर संघर्ष चल्यो । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आईजीपी नियुक्ति गर्‍यो । त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए ।

अदालतले सिलवालको रिट खारेज गरेपछि उनी राजीनामा दिएर एमाले प्रवेश गरेका थिए । गत निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेर सिलवाल जित निकाल्न सफल भएका थिए । तर २०७४ मा सिलवाललाई सघाएको माओवादी केन्द्र अहिले कांग्रेसको साथमा छ । गत निर्वाचनमा सिलवालसँग पराजित भउका कांग्रेसका उदयशमशेर जबरा यो पटक पनि प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा सिलवालले २६ हजार ९५१ मत ल्याउँदा उदयले २० हजार ७२९ मत पाएका थिए। उदयशमशेर यो क्षेत्रबाट चौथोपटक चुनाव लड्न लागेका हुन्। सिलवालले आफू राजनीतिमा रहँदासम्म देश र जनताको हितमै काम गर्ने बताए ।

कृष्णभक्त ब्रह्माचार्य 

सशस्त्र प्रहरीका पूर्व डीआईजी कृष्णभक्त ब्रह्माचार्य पनि चुनावी मैदानमा उत्रिएका छन् । उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सशस्त्र प्रहरीको २ नं. बाहिनी पतिको जिम्मेवारी सम्हालेर बर्दिबासमा रहेका बेलामा भारतबाट नेपालतर्फ हुँदैआएको घुसपैठ तथा चोरी निकासीलाई निस्तेजपार्न उनको भुमिका मुख्य थियो ।

नेपालको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न गतिशील नेतृत्व स्थापना गर्न उम्मेदवारी दिएको उनले बताए ।  ललितपुर ३ मा सत्तागठबन्धनबाट माओवादीकी पम्फा भुसाल उम्मेदवार बनेकी छन् । भुसाल यो क्षेत्रबाट २०६४ र २०७४ मा निर्वाचित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved