एमाले अध्यक्ष ओलीमाथि भीम रावलको प्रहार, लगाए यस्ता गम्भीर आरोप

नेता रावलले एकल रुपमा नाम सिफारिस हुँदा पनि आफूलाई टिकट नदिइएकोमा चरम असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष ओलीमाथि दर्जनौं गम्भीर आरोप लगाएका हुन् । रावलले ओलीमाथि गुटबन्दी गरेको, विदेशी शक्तिसँग लम्पसार परेको, पार्टी नेताकै हत्या प्रयास गर्नेसँग तालमेल गरेको, निरंकुशतावादीसँग साँठगाँठ गरेको, प्रधानमन्त्री हुँदा आधा समय अस्पताल र बालुवाटारमा बिताएको जस्ता कैयौं आरोप लगाएका छन् ।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीमाथि भीम रावलको प्रहार, लगाए यस्ता गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । ओलीले पार्टीमा गुटबन्दी गरेको, निरंकुशतावादीलाई बोकेको, विदेशी शक्तिसँग लम्पसार परेको देखि पार्टी नेताकै हत्याको दुस्प्रयास गर्नेसँग चुनावमा तालमेल गरेको रावलको आरोप छ ।

काठमाडौंमा आज बिहीबार पत्रकार सम्मेलन गरेर नेता रावलले एकलरूपमा नाम सिफारिस हुँदा पनि आफूलाई टिकट नदिइएकोमा चरम असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष ओलीमाथि दर्जनौं गम्भीर आरोप लगाएका हुन् । रावलले भनेका छन् ‘ मेरो नाम एकलरूपमा सिफारिस भएको थियो, तर म सँग कुनै परामर्श नगरी सिफारिस नै नभएको र पार्टीमा कुनै पनि योगदान नभएको व्यक्तिलाई टिकट दिइएको छ । यो निर्णय स्वेच्छाचारी, षड्यन्त्रमूलक र स्थानीय नेता कार्यकर्ताको घोर अपमान गर्ने खालको छ ।’

आफूलाई टिकट नदिन सुरुवातबाटै षड्यन्त्र गरिएको जानकारी पाएको भन्दै रावलले त्यसकै लागि पहिले आफू चुनाव नलड्ने प्रचार गरिएको दाबी पनि गरेका छन् । ‘मैले चुनाव नलड्ने भनि पहिले नै प्रचार गरियो । तर, जिल्लामा भएको कार्यक्रममा चुनाव लड्न आफू तयार रहेको भन्दै मन्तव्य दिएपछि नयाँ प्रचार सुरु गरियो ।’ रावलले भने. ‘चुनाव नलड्ने प्रचारको खन्डन भएपछि आफू सम्पर्कविहिन भएको भनेर प्रचार गरियो । त्यसपछि मैले जिल्लाको कार्यक्रममा व्यस्त रहेको र नियमित सम्पर्कमा रहेको बताए ।’

रावलले त्यसपछि पनि कु प्रचारको क्रम नरोकिएको बताए ।  “त्यसपछि टिकट चाहिने हो भने माफी माग्नुपर्ने भन्दै प्रचार गरियो । अनि अध्यक्ष ओलीले रावलको मात्रै एकल नाम किन सिफारिस गरिएको भन्दै सदूरपश्चिमका नेतालाई भनेको जानकारीमा आयो ।” उनले थपे, ‘तर मेरो मात्र नभई अध्यक्ष ओलीलगायत धेरै ठाउँमा एकल नाम पठाइएको थियो । तर ति कुनै पनि छलफलको विषय भएनन् । टिकट दिएर पनि हराउन सकिन्छ कि भन्ने थियो तर त्यो पनि नसकिने निष्कर्षमा पुगेपछि उम्मेदवारी रोकिएको भन्ने सुनियो ।’

अछामबाट एकल सिफारिसमा परे पनि रावललाई टिकट नदिएर एमाले अध्यक्ष ओलीले उक्त क्षेत्रमा सिफारिसमै नपरेका माओवादीबाट प्रवेश गरेका झपट बोहरालाई उठाएका छन् । रावल पत्रकार सम्मेलनमा अध्यक्ष ओलीप्रति निकै आक्रामक रूपमा पेश भएका छन् ।

साथै उनले अध्यक्षमाथि केही प्रश्न गरेका छन् । युनिफिकेसन चर्चसँग आबद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाउन लागेको, एमालेका कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई उम्मेदवार बनाएको, आफैँले प्रतिक्रियावादी भनेको राप्रपासँग तालमेल गरेको, अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्याको दुस्प्रयास गर्ने र एमालेलाई नस्लवादी भन्ने जसपा सँग तालमेल गरेको, लोसपाका नेतालाई विहान पार्टी प्रवेश गराएर दिउँसो टिकट दिएको भन्दै रावलले यसो गर्न कुन कुन सिद्धान्त विधि र अनुशासनले दिन्छ भन्दै सोधेका छन् ।

उनले सोधेका छन् ‘यसरी नै समाजवादी आउँछ ? जवज भनेको यही हो । नयाँलाई अवसर दिने हो भने पार्टी अध्यक्ष र निकटमा लागु भएको खै त ?’

अध्यक्ष ओलीमाथि रावलले विगतका विषय समेत उठाएर आक्रमण गरेका छन् । संसदमा ओलीभन्दा आफ्नो आवस्यकता रहेको संकेत गर्दै उनले प्रश्न गरेका छन् ‘संसदमा अत्यन्त संवेदनशिल विषयमा छलफल हुँदा समेत सहभागी नहुने, आफूलाई मन लागेको बेला मात्र आउने,  दुई तिहाइको सरकार हुँदा आधाभन्दा बढी समय अस्पताल र सरकारी निवास बालुवाटारमा विताउने ओलीले उम्मेदवार हुन पाउने तर सक्रियताका साथ संसद र समितिमा आवाज उठाउनेले एकल सिफारिस हुँदा पनि नपाउने किन ?’

कम्युनिष्ट शिद्धान्तविरोधीसँग मिलेर सरकार बनाउने र त्यस्तैसँग गठबन्धन गर्ने ओली प्रवृत्ति रहेको भन्दै उनले यस्तो गर्न महाधिवेशनले निर्देश गरेको छ ?  मनपरी गर्ने हो भने पार्टीलाई माक्सवादी लेनिनवादी किन भन्ने ? जस्ता प्रश्न पनि गरेका छन् ।

२०७५ साल यताको गुटवन्दीको चर्चा गर्दै उनले प्रधानमन्त्रीमा आधा-आधा कार्यकाल हुने भनि ओलीले प्रचण्डसँग गरेको सहमति नै त्यतिबेला विभाजन गुटबन्दीको मुख्य स्रोत भएको रावलको ठहर छ । स्थायी समितिलाई थाहा नदिइ गरिएको उक्त सम्झौताकै कारण पार्टीमा विग्रह आएको भन्दै रावलले त्यतिबेला केन्द्रीय कमिटी बैठक बोलाउन पटक-पटक आग्रह गर्दा पनि ओलीले अश्विकार गरेको प्रसंग पनि उठाएका छन् ।

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले आरोप लगाए ।  उनले १० बुँदे सहमति गर्नेलाई चुनावमा टिकट दिँदा भेदभाव गरिएको गुनासो पनि गरेका छन् ।

रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने भन्दै विगतमा पार्टी विरोधी रहेकाको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका छन् । रावलले देशभक्त, मार्क्सवादसँग प्रतिबद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

उनले जे-जे भए पनि आफू पार्टी नछोड्ने र यही बसेर संघर्ष गर्ने जानकारी पनि दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved