आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैं सकिँदै

नेपालभ्युज

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैं सकिँदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आइतबारबाट यस वर्षको बडादशैं समापन हुँदैछ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन हुने छ ।

कोजाग्रत पूर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भइ धनधान्यले पूर्ण बनाउँछिन् भनेर राती जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा मात्रै समाप्त हुन्छ ।

आइतबारका दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आकाशदीप दान पनि सुरू गरिन्छ । आकाशदीप दानका लागि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि पूर्णिमाको दिनदेखि अर्थात आइतबारैबाट सुरू हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved