आज पनि धेरै ठाउँमा ठूलो पानी पर्दै, नारायणी, राप्ती बबईमा बाढीले सतर्कता तह नाघ्यो

नेपालभ्युज

आज पनि धेरै ठाउँमा ठूलो पानी पर्दै, नारायणी, राप्ती बबईमा बाढीले सतर्कता तह नाघ्यो

काठमाडौं। आज विहीबार पनि देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले वाग्मती प्रदेशको चितवनमा धेरै पानी परिरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ ।

वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।

चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ ।

यसैबीच, आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताइन । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ  । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना छ ।

यसैबीच, लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा जलस्तर खतराको तहमाथि पुगेको छ । बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए ।

त्यस्तै पश्चिम राप्तीको भालुवाङ र कुसुम मापन केन्द्रमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ । नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  । बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved