दशैंसँग जोडिएका संस्कृति लोप हुँदै

दशैंसँग जोडिएका संस्कृति लोप हुँदै

नुवाकोट। उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका-७ शिखरवेसीमा बस्थे। उनलाई दशैंको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ। रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो। थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ।

उनले भने, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो। कङ्क्रीटका घर धेरै बने। रङरोगनले घर सजिएका छन्। दशैंको समयमा रातो र कमेरो माटोले सजिएका घर खोज्न गाउँ नै पस्नुपर्छ। त्यो पनि न्यून भेटिन्छ।”

दशैं भन्ने वित्तिकै पिङको सम्झना आउँछ। पिङमा पनि रोटे, जाते र लिङ्गे। विशेष गरी लिङ्गे पिङ वरपिपलको चौतारामा राखिन्न्थ्यो। पिङ खेल्न वल्लो–पल्लो गाउँका बालबालिकादेखि तन्नेरी आउँथे। पालो पाउनै गाह्रो हुन्थ्यो। तर अहिले सडक निर्माणको नाममा चौतारा मासिनुको साथै पिङ लोप हुने अवस्थामा पुगिसकेको गुनासो छ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद गुरागाईंको।

“अधिकांश गाउँलाई सडक सञ्जालले छोएको छ। सडक निर्माणको क्रममा सार्वजनिक स्थानमा रहेका चौतारा मासिएका छन्। पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ”, दुप्चेश्वर गाउँपालिका–५ का बासिन्दा रहेका गुरागाईंले भने, “श्रमदानमार्फत सामूहिक रुपमा सामाजिक काम गर्ने प्रचलन न्यून बन्दै गएको छ। सरकारमार्फत बजेट आओस् भन्ने अपेक्षा गरिन्छ। तर हामीले हाम्रो गाउँ पुग्ने सडकको स्तरोन्नति गर्र्न स्थानीयबाटै श्रमदान हुन्छ, चन्दा सङ्कलन हुन्छ। चार पाङ्ग्रे सवारीसाधन भएकाले पाँच हजार, दुई पाङ्ग्रे हुनेले दुई हजार र नहुनेले कम्तीमा पनि एक हजार रकम सङ्कलन गरेर सडक मर्मतको काम गर्छौँ।”

दशैंलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैयाँ धान लगाउने प्रचलन समेत रहेको थियो। हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउथ्यो। तर अहिले न त घैयाँ धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै।

पढाई तथा रोजगारीको सिलसिलामा गाउँ छाडेकाहरु दशैको आगमनसँगै आफ्नो थातथलो फर्कने पक्ष अहिले कायमै छ। “अघिपछि आफ्नै काममा व्यस्त भइन्छ। आफ्नो एकल परिवार जहाँ जसरी रहेपनि दशैंमा आफ्नै पुर्खेउली थलो जाने गरेका छौँ”, स्याङ्जा घर भएका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “दशैं र गाउँ एकअर्का बीचको परिपुरक जस्तै लाग्छ। खाने र खेल्नेभन्दा पनि गाउँमा केही रचनात्मक क्रियाकलाप गर्नलाई अवसरको रुपमा दशैंलाई लिनु आवश्यक छ।”

यी र यस्तै दशैंका प्रसंग उठेका हुन्, जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा। कार्यक्रममा सहभागी भएका व्यक्तिले दशैं र संस्कृतिसँग उठाएका विषयको संरक्षणको लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता रहेको छ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीको।

“दशैंको लागि माटो खन्दा, पिङ खेल्दा, चङ्गा उडाउँदा सावधानी अपनाइएन भने अप्रिय घटना भइरहेको हुन्छ। घटनाले गर्दा पनि कतिपय स्थानमा यस्ता संस्कृति लोप हुने अवस्थामा पुगेको छ”, जिसस प्रमुख ठकुरीले भने, “हाम्रो यस्ता चाडपर्व र संस्कृति पर्यटनसँग पनि जोडिएको हुन्छ। त्यस्ता संस्कृतिको जगेर्नाको निमित्त स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढाउन समन्वय गर्नेछु।”

मासुका विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दशैंलाई लिने गरिएको छ। मासु मात्र नभई सन्तुलित भोजनको सेवन गर्नलाई कार्यक्रमका सहभागीले आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved