देशका सबै जिल्लामा डेंगु संक्रमण, काठमाडौंका अस्पतालमा एउटै वेडमा दुई जना बिरामी

संक्रमणका कारण हालसम्म ३६ जनाको मुत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार  एकै दिन डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

देशका सबै जिल्लामा डेंगु संक्रमण, काठमाडौंका अस्पतालमा एउटै वेडमा दुई जना बिरामी

काठमाडौं। डेंगु संक्रमण ७७ जिल्लामै फैलिएको छ । मंगलबार हुम्ला र मुस्ताङका एक–एक जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमण ७७ वटै जिल्लामा पुगेको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २७ हजार पाँच सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, संक्रमणका कारण हालसम्म ३६ जनाको मुत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार  एकै दिन डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

दसैँ नजिकिदै गर्दा डेंगु संक्रमण भयावह बनेको छ । डेंगु नियन्त्रलाई तीन वटै तहका सरकारले बेवास्ता गरेका कारण संक्रमण भयावह बन्दै गएको जनस्वाथ्यविद् बाबुराम मरासिनीले बताए ।

सरकारले डेंगु संक्रमण देखिनासाथ नियन्त्रणमा ध्यान नदिएको उनले बताए । मरासिनीले भने ‘डेंगु देखिनासाथ नियन्त्रण गरेको भए अहिलेको अवस्था भोग्नै पर्दैनथ्यो, रोग देखिएको एक दुई दिनमै नियन्त्रण गर्न पहल गरेको भए पैसा पनि कम लाग्थ्यो क्षति पनि कम हुन्थ्यो । तर, अब पैसा पनि धेरै लाग्छ क्षति पनि धेरै भोग्नुपरेको छ ।’

उनले संक्रमण अझै बढ्ने चेतावनी दिए । न्युनतम तामक्रम १५ डिग्री सेल्सियस भन्दा कम नहुँदासम्म संक्रमणको जोखिम रहने उनको भनाइ छ । लामखुट्टेको नियन्त्रण गर्न नसके हिमाली जिल्लामा पुगेका लामखुट्टे अझै विकसित भएर चिसोमा समेत बाँच्न सक्ने हुने भएकाले त्यसतर्फ सचेत रहन उनले सुझाव दिए ।

काठमाडौंका ठूला अस्पतालमा बिरामीको चाप घट्यो

डेंगु संक्रमित बढिरहे पनि काठमाडौंमा ठूला अस्पतालमा भने चाप केही घटेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पछिल्लो एक हप्तामा बिरामीको चाप घट्दो क्रममा रहेको अस्पतालका इमर्जेन्सी वाडमा कार्यरत डा. निरोज शर्माले बताए ।

उनले भने ‘दैनिक एक सय ९० जनासम्म बिरामी हेरेको रेकर्ड छ । तर, पछिल्लो एक हप्ता भयो बिरामीको चाप अलि घटेको छ । अहिले दैनिक सरदर एक सय २०, कहिले एक सय ३० जना बिरामी आइरहनुभएको छ ।’

उनले सुरुवाती दिनमा एउटै बेडमा दुई जनासम्म राखेर सेवा दिनुपरेको तर अहिले केही कम भएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

यस्तै, काठमाडौंको वीर अस्पतालमा पनि पछिल्लो एक हप्तामा बिरामीको चाप घटेको छ । दुईजना बिरामी एउटै बेडमा राखेर उपचार गर्नुपरेको अस्पतालका इर्मेजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा इमेर्जेन्सीमा कार्यरत एक डाक्टरले भने ‘मैले यो जानकारी दिन मिल्दैन माथिबाट अनुमति लिनुपर्छ तर मेरो अनुभवमा अहिले पछिल्लो एक हप्ता बिरामीको चाप भने घटेको छ ।

दैनिक चार सय भन्दा धेरै बिरामी आउनुभएको थियो तर यो एक हप्तामा भने कही कमी आएको छ अहिले दैनिक दुई/तिन सय बिरामी आउनुभएको छ , ‘उहाँहरूमध्ये ८० प्रतिशतमा डेंगु पुष्टि भएको छ । सुरुवातमा दिनमा एउटै वेडमा दुईजना राखेर उपचार गर्नुपर्थ्यो अहिले अलि चाप घटेको छ ।’

सिभिल अस्पतालको एउटा बेडमा दुई जना बिरामी

निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालमा पनि एउटा बेडमा दुईजना बिरामी राखेर सेवा दिनुपरेको छ । अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप थेग्न नसकेपछि एउटै बेडमा दुईजना राखेर सेवा दिनुपरेको जनाइएको छ । अस्पतालले सूचना नै निकालेर एउटा बेडमा दुई जना बसिदिन आग्रह गरेको छ ।

 

आकस्मिक वार्डमा कार्यरत डा. विश्वास अधिकारीले दैनिक २ सय भन्दा बढी बिरामी आउने गरेको सुनाए । तर, पछिल्लो एक हप्तामा भने बिरामीको संख्या स्थिर रहेको उनको भनाइ छ ।

उनले भने, ‘उनले एक महिनाको तथ्यांक हेर्दा घट्दो क्रममा नरहे पनि पछिल्लो एक हप्तामा भने स्थिर छ ।’ उनले अहिलेको अवस्था हेरेर डेंगु नियन्त्रणमा छ भन्नु उचिन नहुने बताए । यही अवस्था रहे एक दुई हप्ताभित्र संक्रमण केही हदसम्म नियन्त्रणमा आउन सक्ने बताए ।

निजामती कर्मचारी अस्पताल

डेंगुको जोखिम कायमै छ

डेंगुप्रतिको बेवास्ताले संक्रमण भयावह बन्दै गएको छ । शरीर दुखाइ, मांसपेशी र टाउको दुखाइजस्ता लक्षणसहितका बिरामी अस्पतालका वार्डसँगै समुदायस्तरमा अत्यधिक बढ्न थाले पनि अझैसम्म संक्रमणलाई गम्भीर रूपमा लिइएको छैन ।

स्थानीय सरकारले पनि यसमा प्रभावकारी भुमिका खेल्न नसकेको स्वाथ्यकर्मी बताउँछन् ।अस्पतालमा केही कमी देखिए पनि गाउँ-गाउँमा संक्रमण बढिरहेको चिकित्सकको आशंका छ ।

डा‍. निरज शर्मा भन्छन् ‘अहिले चाडपर्वको समय भएकाले अस्पतालमा बिरामी घटेको होला तर यो भयावह छ । जबसम्म लामखुट्टे र यसका लार्भा नियन्त्रणमा आउन सक्दैन त्यतीबेलासम्म यसको जोखिम कायमै रहन्छ ।’ उनले दशैँपछि फेरि काठमाडोैंका अस्पतालहरूमा चाप बढ्न सक्ने बताए ।

उनले भने ‘काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्नेहरू अहिले घर गाउँ फर्किएका छन् , दशैँ मानेर फर्किएपछि फेरि अस्पताल भरिभराउ नहोला भन्न सकिँदैन त्यसैले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बचौँ ।’

एडिस जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ ।

घरवरिपरि पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्न सके डेंगु नियन्त्रण गर्न सकिने उनले बताए । नेपालमा सन् २००४ मा पहिलोपटक डेंगुको बिरामी फेलापरेको थियो । त्यसयता डेंगुको सङ्क्रमण बढ्दो क्रममा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved