दार्चुलाको बाढी पहिरोमा हराएका १० जना अझै भेटिएनन्, मन्त्रीसहितको टोली घटनास्थलमा

नेपालभ्युज

दार्चुलाको बाढी पहिरोमा हराएका १० जना अझै भेटिएनन्, मन्त्रीसहितको टोली घटनास्थलमा

दार्चुला। दार्चुलामा शुक्रबार राती र शनिबार विहानको बाढी पहिरोमा परेर वेपत्ता भएका १० जना अझै भेटिएका छैनन् । बाढीपहिरोमा चार जना महिला र छ जना पुरुष गरी १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । जसमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन्। आठ जना घाइते भएका छन् । ज्यान गुमाउनेको पहिचान पनि खुलेको छ। त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन्।

पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्‍याएर उपचार भइरहेको छ भने २० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन ।

महाकाली नगरपालिका बङ्गाबगरमा पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी जम्मा नौ वटा सवारीसाधन पनि बाढी पहिरोमा बगेका छन् । त्यस्तै ४२ घर जगैदेखि बगेका छन् भने वटा घरमा आंशिक क्षति भएको छ। चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताए ।

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ। बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति भएको छ। झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ। सदरमुकाम खलङ्गामा खानेपानीको समेत हाहाकार मच्चिएको छ।

स्थानीय बलवीर ठगुन्नाले शनिबार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताएर। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन्।

यसैबीच, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुसहितको टोली राहत लिएर घटनास्थलमा पुगेको छ ।  धनगढीबाट राहत सामग्री बोकेर सेनाको वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved