मकवानपुरमा चट्याङको जोखिम उच्च : पाँच वर्षमा २३ जनाको मृत्यु, १३८ घाइते

मकवानपुरमा चट्याङको जोखिम उच्च : पाँच वर्षमा २३ जनाको मृत्यु, १३८ घाइते

हेटौंडा । प्रि–मनसुनमा चट्याङका घटना धेरै हुने गरेका छन् । तर वर्षाको मौसम सकिने समयमा समेत चट्याङका घटना देखिने गरेका छन् । मंगलबार साँझ चट्याङ लागेर जिल्लाको राक्सिराङ गाउँपालिका २ बरेटार की स्थानीय ६२ वर्षीया कालिमाया स्याङतानको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आफ्नै घर नजिकै बारीमा वर्षासंगै आएको चट्याङ लागेर स्याङतानको मृत्यु भएको हो ।

गत वर्षको भदौ २२ गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सय ४६ घटना भएका छन् । ती घटनामा ७६ जनाको ज्यान गएको छ । दुई सय २३ जना घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । जसमा ३ सय ७२ घर परिवारलाई असर गरेको थियो । चट्याङ्गबाट यो एक वर्षमा ८५ लाख ८४ हजार बराबरको क्षती भएको छ भने २४ घर पूर्ण रुपमा क्षती पुगेको विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । नेपालमा चट्याङको उच्च जोखिम जिल्लाहरुमा मकवानपुर अग्रस्थानमा रहेको छ ।

प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत, वैशाख र जेठमा चट्याङको जोखिम धेरै हुन्छ । मकवानपुरमा गत बर्षको भदौ २२ गतेदेखि हालसम्म ८ वटा चट्याङका घट्ना घटेको र त्यसबाट ५ जनाको मृत्यु भएको छ भने १० परिवारका ११ जना घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । चट्याङ लाग्ने मौसम सकिएपनि एताकता मकवानपुरमा चट्याङका घट्ना देखिरहेका छन् ।

मकवानपुर जिल्ला चुरे पहाड र महाभारत पहाडको काखमा अवस्थित जिल्ला हो । यस जिल्लामा विगत केही वर्ष यता चट्याङ्गका घटनाहरू बढदै गइरहेको र यसबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति पनि बढ्दै गएको देखिन्छ । विगत ४२ वर्ष यताको चट्याङ्गका घटना र यसबाट भएको क्षतिलाई हेर्दा १५० वटा घटनाबाट ३३४ जनाको ज्यान जानुका साथै २५० भन्दा बढी घर प्रभावित भएका छन् ।

यसैगरी २७ घर पूर्ण रुपमा क्षति भएको छ भने १०८ वटा चौपाया क्षति हुनाका साथै ७ लाख ९५ हजार बराबरको आर्थिक क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको तथ्यांकले देखाउछ ।

चट्याङ्गको सबभन्दा बढी प्रभाव फागुन देखि श्रावणसम्म देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अनुसार यो वर्ष चट्याङ्गबाट करीब १०० घर र उक्त घरमा रहेका परिवारका ५०० मानिस प्रभावित हुने अनुमान गरेको छ ।

सोही परिस्थितिलाइ मध्यनजर गरी मकवानपुरगढि गाउँपालीका स्तरमा पालीका तथा अन्य संघ संस्थाको सहयोगमा चट्याङ्गको बढि जोखीम क्षेत्र पहिचान चट्याङ्ग प्रतिरोधक स्टेशन जडान तथा व्यवस्थापन गर्ने काम भईरहेको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको दस्तावेजमा उल्लेख छ ।

यस कार्यको अनुगमन गरि यसलाई विस्तार गर्न यस अन्तर्गत सम्पूर्ण क्षेत्रगत तहलाई समेटेर समग्र रुपमा यो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले उल्लेख गरेको छ ।

विगत केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा बाढीबाट भन्दा चट्याङ्गबाट बढी मानिसहरु मरेको देखिन्छ । विगत १० वर्षमा बागमती प्रदेशमा चट्याङ्गबाट मात्रै २३१ जना भन्दा बढिले ज्यान गुमाएको र ६२३ जना बढि घाईते भएको देखिन्छ । बागमती प्रदेशमा मकवानपुर जिल्ला चट्याङ्गबाट सबैभन्दा प्रभावित भएको देखिन्छ ।

मकवानपुरमा किन जोखिम बढि ?

पहाडी भूवनोट र पूर्वी पहाडी क्षेत्रको बंगालको खाडीसँगको निकटताले गर्दा नेपाल चट्याङ्गबाट प्रभावित छ । चुरे क्षेत्र र पहाडी भूभागहरु चट्याङ्गको बढी जोखिममा छन्, किनकी चट्याङ्गले उच्च पहाडको जमीनमा पुग्न धेरै छोटो दूरीको यात्रा तय गर्नुपर्दछ । जसका कारण मकवानपुरमा बढि चट्याङ्गका घट्ना देखिने गरेका छन् । जलवायु परिवर्तनका कारण आँधीबेहरीको आवृत्ति र तीव्रतामा बृद्धिले गर्दा नेपालमा चट्याङ्गको जोखिम अझ बढ्ने सम्भावना छ ।

विगत केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा बाढीबाट भन्दा चट्याङ्गबाट बढी मानिसहरु मरेको देखिन्छ । बागमती प्रदेशमा मकवानपुरसहित सिन्धुली, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ्ग जिल्लाहरु पनि चट्याङ्गबाट धेरै नै प्रभावित छन् । पशुहरुको चट्याङ्गबाट हुने मृत्यु दर मानिसहरुको भन्दा उच्च छ । मानिसहरु भन्दा पशुहरु चट्याङ्गबाट मर्ने सम्भावना पाँच गुणा बढी हुन्छ ।

बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञ डा श्रीराम शर्मा बताउँछन्। ‘त्यो भनेको झापा(मोरङतिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरेक्षेत्र बढी प्रभावित देखिन्छ।’

यद्यपि मृत्यु हुने मानिसको सङ्ख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको छ। डा शर्माका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ।

तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन्। मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने शर्मा बताउँछन्। विज्ञहरूका अनुसार चट्याङको आवाजले कानका जाली फुट्ने र मानिसहरू घाइते हुने पनि गर्छन्।

५ वर्षमा २१ को मृत्यु

मकवानपुरमा चट्याङबाट विगत ५ वर्षमा मात्र २३ जनाको मृत्यु भएको तथ्याङ्क विपद् व्यवस्थापन प्राधिकरणसँग छ । चट्याङबाट ५ वर्षमा मृत्यु हुनेमा महिला वढि रहेका छन् । जसमा ८ जना पुरुषको मृत्यु भएको छ भने १५ जना महिलाको मृत्यु भएको छ । विगत ५ वर्षमा ७९ वटा चट्याङको घटना देखिएकोमा १ सय ३८ जना घाइते भए । चट्याङबाट ७ वटा गाइवस्तुको समेत नोक्सान भएको छ भने ६५ लाख रुपैँया बराबरको नोक्सान भएको छ । जसबाट १ सय २२ परिवारलाई असर पर्न गयो ।

जोगिने उपाय

चट्याङप्रतिरोधी घर निर्माण गर्ने अर्थात घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नु पर्छ ।

चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत लाग्नु हुदैन । धातुको तारबार नजिक, समथर र खुला ठाउँमा नबस्ने पनि चट्याङबाट बच्ने उपाय हुन् ।

भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहनु पर्छ भने चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्नु उचित मानिन्छ । छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जानु पर्छ र गाडीभित्र भए गाडीभित्रै बस्न सुरक्षित मानिन्छ ।

चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ । अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’ मध्ये नेपाललाई एक मानेको छ ।

चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएको छ ।

त्यसैले चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ ।

कसरी पर्छ चट्याङ ?

सूर्यको तापक्रमले तातिएको जमीनको सतह तथा जलाशयबाट पानीका कण बाफ बनेर उड्दै आकाशमा पुग्छन्। पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ। गतिमान बादलभित्र पानीको बाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन्। बादलको तह बाक्लो भएर प्रकाश छिर्न नसक्ने भएपछि यो कालो देखिन्छ।

तापक्रमको भिन्नताका कारण कालो बादलको एक तहमा पानी हुन्छ भने अर्को तहमा बरफ। तिनीहरू ब्याट्रीका फरक दुई ध्रुव जस्तो धनात्मक र ऋणात्मक दुई भागमा बाँडिएर बस्छन्। तिनीहरूबीच घर्षण उत्पन्न भएर विद्युतीय चार्ज उत्पन्न हुन्छ। जब चार्जको मात्रा बढ्दै जान्छ, त्यो बादलले धान्न नसकेर चट्याङको रूपमा विद्युतीय लहर आफ्नै बाटो बनाएर पृथ्वीको सतहसम्म आइपुग्छ। यद्यपि सबै चट्याङ पृथ्वीसम्म आइपुग्दैनन्। आइपुग्नेमध्ये पनि केहीले नोक्सानी गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved