गोर्बाचेभको ऐतिहासिक भाषण : लेनिनको समर्थन गर्दै स्टालिनको आलोचना

हाम्रो इतिहासमा स्टालिनको भूमिकाबारे अझै थुप्रै बहस छन । उनी साँच्चै नै एक अति विवादास्पद व्यक्तित्व थिए । इतिहासको बस्तुनिष्ठ मूल्यांकन गर्दा उनले समाजवादका लागि गरेका योगदानको पाटो, उनले शक्तिको दुरुपयोग गर्दा भएको राजनीतिक हानी बिर्सन मिल्दैन । उनले गरेको शक्तिको दुरुपयोगको हाम्रो जनताले धेरै ठूलो मूल्य चुकाउन पर्‍यो ।

नेपालभ्युज

गोर्बाचेभको ऐतिहासिक भाषण : लेनिनको समर्थन गर्दै स्टालिनको आलोचना

१.  सन् १९१७ को अक्टोबर क्रान्ति, मानव जातिको सामाजिक प्रगति र वास्तविक इतिहासको गणना सुरुवात गर्ने ती किंवदन्तीमय र अविस्मरणीय दिनहरूको ७० बर्ष पूरा भएको छ।
विगत–यसका परिघटना र बीरता हाम्रा समकालिनलाई रोमाञ्चित गर्न असफल हुने छैन । हाम्रो इतिहास एउटै छ, यो उल्टाउन नमिल्ने खालको छ। यसले जनाउने भावना जस्तोसुकै होस, त्यो नै हाम्रो इतिहास हो र त्यसलाई हामी सम्मान गर्छौ।

आज हामी अक्टोबरका ती दिनतिर फर्किन्छौं, जसले संसार हल्लाएका थिए । हामी तिनमा बलियो आत्मिक बल, उपदेशात्मक पाठहरू खोज्छौं, फेला पार्छौ‌ । अक्टोबर क्रान्तिको समाजवादी विकल्प सही भएको देख्छौं । मार्क्स र एंगेल्सजस्तै लेनिन पनि क्रान्तिको प्रतिरक्षात्मक बल जनमिलिसियामा हुनेछ भन्ने विश्वास गर्नु हुन्थ्यो । तर, ठोस अवस्थाहरूले फरक प्रकारको ठोस समाधानलाई प्रेरित गर्‍यो। जनतामाथि थोपरिएको गृहयृद्ध र बाह्य हस्तक्षेपले नयाँ दृष्टिकोणका लागि आव्हान गर्यो । लेनिनको आदेशमा मजदुर किसानको लाल सेना गठन भयो ।

यो एक नयाँ प्रकारको सेना थियो, जसले आफूलाई गृहयुद्ध र विदेशी हस्तक्षेपलाई प्रतिरोध गर्न कहिल्यै न ओइल्याउने गौरवले आवृत्त गरेको थियो । ती वर्षहरूले भरखरै स्थापित सोभियत गणतन्त्रमाथि अनेक गम्भीर परीक्षण गरेका थिए । त्यसमा समाजवाद नै हुने कि नहुने भन्ने आधारभूत र निर्णायक प्रश्न समेत थियो ।

नयाँ आर्थिक नीति ( नेप) का मानकहरू समाजवाद निर्माणको वस्तुगत आधार तयार गर्न तिर निर्देशित थिए। आजका दिनमा हामी लेनिनका अन्तिम रचनाहरू, लेनिनको नयाँ आर्थिक नीतिमा बारम्बार जान्छौं । र त्यसबाट आजका लागि हामीलाई आवश्यक पर्ने सबै मूल्यवान तत्वहरू निकाल्ने प्रयास गर्छौ । पक्कै पनि, लेनिनको नयाँ आर्थिक नीति र आज हामीले गर्न खोजेका कामलाई समान ठान्नुचाहिँ गल्ती हुनेछ ।

सन् १९२० मा नयाँ आर्थिक नीति ल्याउदा सबैभन्दा महत्वपूर्ण आर्थिक गठतत्व मानिएको निजी तथा व्यक्तिगत खेतीकिसानी आज छैन । तर, नयाँ आर्थिक नीति त्यतिमै मात्र सीमित थिएन, त्यसले अझ टाढाको लक्ष्य राखेको थियो। त्यसको कार्यभार एक नयाँ प्रकारको समाज बनाउनु थियो ।

‘नेप समाजवादी रूस बन्छ’ भन्ने त्यो समयको सबैभन्दा ठूलो प्रश्नबारे सोच्दा लेनिनले भविष्यको समाजको तस्वीर विस्तारमा कोर्नुभएन नत कुनै उत्तर नै दिनु भयो । तर, त्यसका मार्ग र साधन भने समाजवादलाई उन्नत गर्न लक्षित थिए । यान्त्रिकीमा आधारित उद्योगहरूको निर्माण, सहकारी बोर्डको स्थापना, कामदार वर्गलाई राज्यको संचालक शक्तिका रूपमा स्थापन, ‘बरू थोरै राम्रो होस, तर राम्रो होस्’ भन्ने सिद्धान्तमा राज्य संचरना व्यवस्थित गर्ने कार्य,आम जनसमुदायको साँस्कृतिक विकास र राष्ट्रहरूको संघको अझ सुदृढीकरणमार्फत् देशको अनुहारलाई आधारभूतरूपमै नयाँ समाज व्यवस्थातर्फ आकारित गरिएको थियो ।

२.    लेनिनपछिको अवधि, त्यो भनेको सन् १९२० र १९३० का वर्षहरूले सोभियत राज्यको इतिहासमा विशेष स्थान राख्दछन्। दशकौंदेखि हामी बारम्बार त्यो समयमा फर्किरहेका हुन्छौं, र त्यो स्वभाविक पनि छ । इतिहासको कुरा आधारभूत रूपमा ऐतिहासिक उत्तरदायित्वको चेत र ऐतिहासिक सत्यहरूको आधारमा गरिनुपर्दछ ।

पहिलो कुरा– ती आँधीमय वर्षको महत्त्व हाम्रो देश र समाजवादको भाग्यसँग जोडिएको थियो । दोस्रो– ती वर्षले हाम्रो देशमा र देशबाहिर पनि कहिल्यै अन्त्य नहुने बहसको सृजना गरेका थिए । त्यो बेलाका प्रयासमा समाजवाद निर्माणको प्रयत्नलाई पुँजीवादको साँचो विकल्प थिएन कि भन्ने अर्थमा बदनाम गर्ने प्रयास भइरहेको हुन्छ।

र अन्तिम कुरा– हामीलाई हाम्रो इतिहासका सबै अवधिको तथ्यपूर्ण मूल्यांकन चाहिन्छ । विशेषतः अहिले पूर्ण क्षमतामा पेरेस्त्रोइकालाई हिडाउन। विगतका सबै वीरताको श्रेय तिर्न हामीले गल्ती र गलत बुझाइहरूबाट पाठ नसिक्ने भन्ने हुँदैन। लेनिनपछिको सन् १९२० र सन् १९३० का बर्षहरू बारे भन्न सकिने पनि यही कुरा हो।

लेनिनका रचनामा क्रान्ति उत्तर समाजका बारेमा पर्याप्त चित्रण नहुनु स्वाभाविक थियो । तसर्थ, ती वर्षहरूमा विचारधारात्मक संघर्षले नै व्यवहारलाई निर्देशित गर्न सक्दथ्यो । ती सबै संघर्षको सार हाम्रो देशमा समाजवाद निर्माण हुन सक्दछ कि सक्दैन भन्ने नै थियो । देशको आर्थिक पुनर्निर्माण र औद्योगिकीकरण आवश्यक नै थिए र ती कार्यहरू सामान्यतः लेनिनले कोर्नुभएका रूपरेखा अनुरूप नै थिए । तर, नयाँ समाजवादी समाज निर्माणका लागि लेनिनका प्रस्तावना र सिफारिस पर्याप्त हुने थिएनन् । त्यस अर्थमा ती वर्षहरूमा वैचारिक संघर्ष आवश्यक थियो नै तर, पार्टी नेतृत्वमा भएको बदलापूर्ण व्यक्तिगत प्रतिस्पर्धाले वैचारिक संघर्षलाई जटिल बनाइदियो ।

लेनिनले यो जोखिमबारे अगाडि नै चेतावनी दिनुभएको थियो। ‘पार्टी महाधिवेशनलाई पत्र’ मा उहाँले जोड दिनुभएको थियो–‘ यो सानो कुरा हैन वा सानो कुरा नै हो भने पनि यस्तो प्रकारको सानो कुरा हो, जसले निर्णायक महत्त्व राख्दछ।’ नभन्दै त्यो सत्य सावित भयो ।

३.   यो कुरा सबैभन्दा पहिले लियन त्रोतस्कीमा लागू हुन्छ, जसले लेनिनको मृत्युपछि पार्टीको शीर्ष नेतृत्वका लागि सधैँ अत्यधिक ढोंग प्रदर्शन गरेका थिए । लेनिनका शब्दमा उनी– गठी र धोकामा अत्यन्त आत्मविश्वस्त राजनीतिज्ञ थिए। त्रोतस्की र उनको समूहले पूँजीवादी घेराबन्दीभित्र समाजवाद निर्माणको संभावना अस्वीकार गरेको थियो । त्रोतस्कीवाद त्यो बेलाको यस्तो राजनीतिक विचारधारा थियो जसले क्रान्तिकारी वामपन्थको छद्म बयानबाजीभित्र पलायनवादको खेती गर्दथ्यो ।

यो सबै प्रकारले लेनिनवादमाथि एक आधारभूत आक्रमण थियो । यो कुरा व्यवहारतः समाजवाद, क्रान्ति र देशको भबिष्यसँग जोडिएको थियो । यस्तो अवस्थामा त्रोतस्कीवादका समाजवाद विरोधी सारलाई अस्वीकार गर्न र आम जनता सामु नङग्याउन जरुरी थियो ।

यसले अवस्थालाई झनै जटिल बनाउथ्यो कि नयाँ विपक्षी नेता ग्रिगोरी जिनोवियेव र लेभ कामेनेभ त्रोतस्कीवादी समूहसँग मिलेर काम गर्दै थिए । आफू अल्पमतमा छौं भन्ने उनीहरूलाई थाहा थियो, तर अनेक बहस र बखेडा झिकेर पार्टीलाई नै काठी लगाएका थिए । अन्ततः पार्टीले केन्द्रीय कमिटीको लाइनको रक्षा र प्रतिपक्षका विचारलाई वैचारिक र सा‌ंगठनिक रूपमा खण्डित गर्‍यो ।

संक्षिप्तमा भन्नु पर्दा कमरेड जोसेप स्टालिनको नेतृत्वमा भएको पार्टी केन्द्र विचारधारात्मक संघर्षमा लेनिनवादको रक्षाकवच थियो । यसले समाजवाद निर्माणको प्रारम्भिक रणनीति र कार्यनीति परिभाषित गर्‍यो । त्रोतस्कीवादी विचारधारालाई पराजित गर्न निकोलाई बुखारिन, फेलिक्स डेरर्जिन्स्की, सेर्गेई किरोभ, ग्रिगोरी ओर्जोनिकित्जे, जोन रुद्जुताक र अरूले महत्त्वपूर्ण भूमिका खेले ।

सन् १९३० को दशकमा बुखारिनको समूहसँग अर्को वैचारिक संघर्ष सुरु भयो । विशेषतः नयाँ आर्थिक नीतिका मानक कृषि क्षेत्रमा कसरी लागू हुन्छन् भन्ने प्रश्नबाट यो बहस उठेको थियो। धेरै अर्थमा बुखारिन र उनको समूहका विचारहरू जडतापूर्ण थिए । तिनले ठोस स्थितिको ठोस विश्लेषण गर्ने क्षमता राख्दैनथे । पछि बुखारिनहरूले आफ्नो गल्ती स्वीकार पनि गरे ।

बुखारिनबारे लेनिनको धारणा यस्तो थियो–‘बुखारिन पार्टीका एक मूल्यवान र महत्त्पूर्ण सिद्धान्तकार मात्र हैनन्, उनी समग्र पार्टीको पक्षमा सधै विचारशील पनि हुन्छन् तर,उनका वैचारिक धारणालाई मार्क्सवादको कसी लाउँदै थुप्रै कुरामा ठूल्ठूला विमति पनि राख्नुपर्ने हुन्छ। उनले द्वन्द्ववादको राम्रो अध्ययन गरेका छैनन् र राम्रो गरी यसलाई बुझेका पनि छैनन तसर्थ उनमा पाण्डित्याइँको झल्को पाइन्छ।’ तथ्यले फेरि एकपटक पुष्टि गर्‍यो, लेनिन सही हुनुहुन्थ्यो ।

सन् १९३० को दशकमा देशले औधोगिकीकरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्‍यो । तर, त्यस अवधिमा केही हानीनोक्सानी पनि भएको देखिन्छ। पार्टी र राज्य शक्तिको अतिकेन्द्रीकरण पनि हुँदै गयो । एक प्रकारले जनता यही प्रणालीमा अभ्यस्त हुन थाले । सँगसँगै लालफित्ताशाहीको पनि उदय भयो । पार्टी र राज्यको शक्तिले जस्ता सुकै समस्या एकै झट्कामा रातारात हल गर्न सकिन्छ भन्ने विश्वास बढ्न थाल्यो । यान्त्रिक औधोगिकीकरण जस्तो कृषिको सामूहिकीकरण सजिलो काम थिएन । तर, यसलाई पनि पार्टी र राज्य संरचनाले सजिलै हल गर्न सक्ने सजिलो काम ठानियो ।

४.  यति मात्र कुराले त्यो समयको जटिलताको पूर्ण चित्र दिँदैन । एकातिर समाजवाद निर्माणमा लाखौं जनता उत्साहपूर्ण ढंगले लागेका थिए, त्यसलाई हामी बिर्सन सक्दैनौं । अर्कोतिर देशमा शत्रुता, असहिष्णुता र आशंकाको वातावरण बनेको थियो । लोकतान्त्रिकरणको स्तर अनुपस्थित हुँदै गइरहेको थियो। सोभियत समाजलाई व्यक्तित्व पूजाका लागि अनुकूलन गरिएको थियो। वैधानिक प्रक्रियाको हनन र दमनका घटना बढेका थिए ।

म यो कुरा बढो स्पष्टसँग भन्न चाहन्छु कि शक्तिको दुरूपयोगबाट उत्पन्न घटना वास्तवमै अपराध थिए । पार्टी भित्र र बाहिर हज्जारौं मानिस एकमुष्ठ दमनको शिकार भएका थिए । कमरेडहरू ! यो सत्य हो, तितो सत्य । यसले पार्टी र समाजवादको नैतिक प्राधिकारमा गम्भीर क्षति पुर्‍यायो । अब भन्नुपर्छ लेनिनले कल्पना गरेको समाजवादको आर्दशलाई हामीले फेरि एकपटक पुष्टि गर्नुपर्ने भएको छ ।

हाम्रो इतिहासमा स्टालिनको भूमिकाबारे अझै थुप्रै बहस छन् । उनी साँच्चै नै एक अति विवादास्पद व्यक्तित्व थिए । इतिहासको वस्तुनिष्ठ मूल्यांकन गर्दा उनले समाजवादका लागि गरेका योगदानको पाटो, उनले शक्तिको दुरुपयोग गर्दा भएको राजनीतिक हानी बिर्सन मिल्दैन । उनले गरेको शक्तिको दुरुपयोगको हाम्रो जनताले धेरै ठूलो मूल्य चुकाउनुपर्‍यो । जसले हाम्रो सामाजिक जीवनलाई गम्भीर क्षति पुर्याएको थियो । स्टालिनले गरेका कतिपय दमन क्षमा गर्न नसकिने प्रकारका थिए ।

स्टालिनकालमा गरिएका दमन र लगाइएका आरोपलाई पछिल्ला पार्टी महाधिवेशनहरूले खारेज गरेको छ । तर, त्यति कुराले मात्र अन्यायमा परेका ती मानिसमाथि न्याय स्थापित भयो भन्न सकिन्न। सन् १९७८ को अक्टोबरमा बसेको पार्टी केन्द्रीय समितिको विस्तारित बैठक ती बिषयमा फर्किएको छ । पार्टी पोलिटब्यूरोले त्यतिखेरका घटनाको छानबिन गर्न एक कमिटी बनाएको छ। आयोगले पत्ता लगाएका तथ्य र सिफारिसको आधारमा पार्टीले थप निर्णयहरू गर्नेछ ।
इतिहासका गल्ती भनेर हामी चुप लाग्न मिल्दैनथ्यो । त्यसो गरियो भने पेरेस्त्रोइका ठीक ढंगले अघि बढ्दैन । पेरेस्त्रोइकाले आजका समस्या हल गर्न सोभियत कम्युनिष्ट पार्टीको इतिहासलाई नै न्यायपूर्ण बनाउन पर्छ भन्ने कुरामा हामी दृढ र स्पष्ट छौं ।

५.    समाजवादकै नाममा नयाँ शोषण जन्मिने अन्तर्विरोध आज झनै टटकारो गरी महसुस भएको थियो । शक्तिको दुरूपयोग र समाजवादी वैधानिकताको उल्लंघन जारी थियो । त्यो बेला स्टालिनको मृत्युपछि जनतामा नयाँ चेतना आएको थियो । विशेषतः सन् १९५६ को २० औं पार्टी महाधिवेशनपछि परिवर्तनको झोंकाले देशलाई हल्लाउन थालेको थियो । जनतामा नयाँ भावना जागेको, त्यसले मानिसको हृदय छोएको, आत्मविश्वास बढेको थियो । निकिता ख्रुश्चेभको नेतृत्वमा पार्टीेले आलोचना गरेको व्यक्ति पूजा र समाजवादी वैधानिकताको पुनर्स्थापना गर्न ममा सानो साहसले पुग्दैन ।

घरेलु तथा विदेश नीतिमा रहेका सबै रूढ प्रारूप चर्मराउन थाले । सन् १९३० र सन् १९४० को दशकमा स्थापित प्रशासनिक कमान्डको नोकरशाही पद्धतिलाई भत्काउन, समाजवादलाई थप गतिशील बनाउन, मानवीय आर्दश र मूल्य मान्यतालाई जोड दिन, लेनिनवादका सृजनात्मक भावनालाई सिद्धान्त र व्यवहारमा पुनर्जीवित गर्ने प्रयास गरिए ।

यही अवस्थामा सन् १९६४ को अक्टोबर विस्तारित बैठकले पार्टी र देशको नेतृत्वको परिवर्तन गर्‍यो । सन् १९६५ को मार्च र सेप्टेम्बरको विस्तारित बैठकले आर्थिक नयाँ तरिका सूत्रपात गर्‍यो । सुरूवातका केही वर्ष त्यसले देशलाई राम्रै गर्‍यो ।  आर्थिक तथा वैज्ञानिक सम्भाव्यता वृद्धि भए । देशको प्रतिरक्षा क्षमता सुदृढ भयो । जनताको जीवनस्तर माथि आयो । विदेश नीतिमा देशको प्रतिष्ठा बढ्यो ।

देशलाई थप नयाँ राजनीतिक इच्छा शक्ति आवश्यक थियो । लियोनिद ब्रेझनेभको शासनकालका पछिल्ला दिनहरू नयाँ चिजको खोजी र शुत्रपातका लागि उचित थिएनन । पुरानै योजना र कार्यक्रमको निरन्तरता चल्दै रह्यो । व्यवहारिक आवश्यकता र काजमा बनाइने योजना बीच गहिरो दुरी हुन थालेको थियो । अर्थतन्त्रमा नकारात्मक प्रक्रिया र प्रवृति देखिन थालेका थिए । सामाजिक, आत्मिक र नैतिक क्षेत्रमा थुप्रै विकृति र विसंगति जन्मिन थालेका थिए ।

त्यसले समाजवादप्रतिको जनताको विश्वासलाई ध्वंश गर्न थालेको थियो। समाजिक अगलाव र अनैतिकताको अभ्यास बढेको थियो। समाजवादको लोभलाग्दो व्याख्या र दैनिक जीवनका वास्तविकताबीच बेमेल पैदा भएको थियो । यही सन्दर्भमा समाजवादको नविकरणको आवश्कयता महसुस गरिएको हो । समाजवादी राज्यको सामाजिक जीवनलाई क्रान्तिकारी पुनर्गठन गर्नु पर्ने आवश्यकता बोधबाट पेरस्त्रोइका अघि आएको हो ।

६.   कमरेडहरू! पेरेस्त्रोइकालाई हामीले एक बृहत्त ऐतिहासिक तथा सामाजिक–राजनीतिक परिप्रेक्ष्यमा बुझ्नपर्ने हुन्छ। पेरेस्त्रोइकाले रूढीवाद र गतिरोधलाई चिर्ने मात्र हैन, ऐतिहासिक गल्तीहरूलाई सच्च्याउने पनि हो । पेरेस्त्रोइकको भबिष्य मुख्य दुई तत्वले निर्धारण गर्नेछ– एक, समग्र सामाजिक जीवनको लोकतान्त्रीकरण र दुई, आमूल आर्थिक सुधार ।

आर्थिक सुधारको सार केन्द्रिकृत व्यवस्थापन प्रणालीको साटो लोकतान्त्रिक व्यवस्थापन प्रणालीमा आधारित हुनु हो । आज पार्टी आर्थिक सुधार नीतिलाई स्वीकार गर्नुको अरू कुनै विकल्प छैन । यस्तो सुधारको सार सामाजिक न्याय र वैयक्तिक क्षमताको अभिवृद्धि हुनुपर्दछ ।

तपाईंहरूलाई थाहा छ कि कट्टरपन्थी तथा रूढीवादी तत्वले यस्तो सुधार मन पराउने छैनन्। यो काम उनीहरूको स्वार्थविपरीत हुनेछ । निश्चिय नै ती मानिसले पेरेस्त्रोइकाको ठाडो विरोध गर्ने छैनन् । बरू यो भन्ने छ कि यसका नकारात्मक पक्ष हटाउन मात्र उनीहरूका क्रियाकलाप लक्षित छन्।

तर, कमरेडहरू! हामीले यो बुझ्न जरूरी छ कि संसारमा सबै चिजका केही ‘साइड इफेक्ट’ हुन्छन्। ‘साइड इफेक्ट’ भन्दा वार्ता मूल्य गतिरोध र बेवास्ताका लागि चुकाउनुपर्ने हुन्छ । समग्र पार्टी पंक्तिको सहयोग र समर्पण विना पेरेस्त्रोइका सफल हुन सक्दैन । पेरेस्त्रोईका अक्टोबर क्रान्तिकै निरन्तरता हो । पेरेस्त्रोईका लेनिनवादकै आधारशीलामा अघि बढ्छ । समाजवादको आदर्श र समाजवादी राज्यको जीवनस्तरलाई माथि नयाँ उचाइमा विकसित गर्नुवाहेक पेरेस्त्रोइकाको  कुनै लक्ष्य छैन ।

पेरेस्त्रोईका अक्टोबर क्रान्तिजस्तै आजको क्रान्ति हो । अक्टोबर क्रान्ति हिजोको क्रान्ति थियो । पेरेस्त्रोईका आजको क्रान्ति हो । अक्टोबर क्रान्तिमा व्यक्त भएको बोल्शेभिक भावना पेरेस्त्रोइको सफलताका लागि उत्तिकै आवश्यक छ। यदि, लेनिनको ठाउँमा उभिएर, लेनिनवादी तरिकाले हामीले सोच्ने हो भने आज निम्न तीन प्रश्न महत्त्वपूर्ण भएर उभिन्छन् ।

एक– आजको साम्राज्यवाद भनेको के हो ? यो कस्तो छ ? समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा त्यो कसरी व्यक्त भइरहेको छ ?
दुई– पूँजीवाद र सैन्यकरण बीचको सम्बन्ध के हो ? के सैनिक होडविना नागरिक उपभोक्ता वस्तुको उत्पादन र वितरणले मात्र पुँजीवाद टिक्न सक्छ ?
तीन– के पुँजीवादी विश्व प्रणली नवउपनिवेशवाद बिना बाँच्न सक्छ ? यसको अर्को पाटो तेस्रो विश्वका देशसँग असमान व्यापार सम्बन्धको अभ्यास विना विश्व पुँजीवाद टिक्छ ?

समकालीन विश्वले सामना गरिरहेका यी समस्या बीच हाम्रा आशाहरू कति सान्दर्भिक छन् ? हामीले दुई विश्व व्यवस्थाको तुलनालाई कसरी बौद्धिक र नैतिक रूपमा पुष्टि गर्न सक्छौं ? यी प्रश्नमा विचार गर्दा के देखिन्छ भने अमेरिकी अर्थतन्त्रको विकास र विस्तार सैन्यकरणसँग अभिन्न रूपले जोडिएको छ। पुँजीवादी विश्व व्यवस्थामा नयाँ-नयाँ प्रकार अन्तर्विरोध र आन्दोलनहरू जन्मिरहेका छन्।

तीमध्ये आवणिक जोखिम विरूद्धको प्रदर्शन, वातावरणको रक्षा, नृजातीय विभेदको उन्मूलन, सुविधाहीन र सुविधासम्पन्न बीचको दूरी कम गर्ने नीतिगत पैरवी, अतिऔधोगिकीकरणले ल्याएका प्रकोपका जोखिम र त्यसका पीडितको प्रश्न मुख्य छन् ।

यी सबै प्रश्न आधुनिक पूँजीवादसँग जोडिएका छन्। यी सबै प्रश्नहरूको सम्बन्ध कहिँ न कहीँ नेर मार्क्सवाद – लेनिनवादका प्रस्तावनासँग छ । आज समाजवादलाई साम्राज्यवादी सैन्यकरणको तुलनामा श्रेष्ठ सावित गर्नु पर्ने दायित्व र चुनौती पनि हामीसँग छ ।

कमरेडहरू !
अक्टोबर क्रान्तिको यो जयन्तीको अवसरमा हामीले विश्व कम्युनिस्ट आन्दोलनका उपलब्धिको प्रशंसा गर्न पर्दछ । अक्टोबर क्रान्ति विश्व कम्युनिष्ट आन्दोलनको प्रेरणाको स्रोत हो । आज विश्वभरिका विभिन्न देशमा कम्युनिस्ट आन्दोलन आ-आफ्नो तरिकाले विकास भइरहेको छ। तर, जुन देशको भए पनि यसका केही साझा चरित्र छन । यो श्रमिक वर्गको आन्दोलन हो । यो वर्गसंघर्षमा श्रमिक वर्गका लागि शान्ति र जनवादको आन्दोलन हो । अक्टोबर क्रान्तिले अन्तर्राष्ट्रिवाद र क्रान्तिकारी बन्धुत्वको भावना विश्वव्यापी रूपमा विस्तार गरेको छ।

(सन् १९१७ मा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिको ७० औं वर्षगाँठमा कम्युनिस्ट पार्टीका तत्कालिन महासचिव तथा सोभियत नेता मिखाइल गोर्बाचेभले सन् १९८७ नोभेम्बर २ मा मस्कोमा गरेको भाषणको भावानुवाद )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved