प्रतिनिधिसभा निर्वाचन: डडेल्धुरामा देउवालाई आफ्नैको चुनौती

प्रधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको सभापतिलाई आफ्नै गृह जिल्लामा हराउन कम चुनौतीपूर्ण छैन । तर,  र एमाले र नेपाली कांग्रेस (बीपी)को तालमेल तथा अहिले सरकारको काम गराइले देउवालाई सहज पनि छैन ।

नेपालभ्युज

प्रतिनिधिसभा निर्वाचन: डडेल्धुरामा देउवालाई आफ्नैको चुनौती

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०४८ सालपछि  गृह जिल्ला डडेलधुराबाट निरन्तर चुनाव जित्दै आएका छन् । देउवा पाँच पटक प्रधानमन्त्री नै भइसकेका छन् । आसन्न निर्वाचनमा पनि देउवा डडेल्धुराबाटै चुनाव लड्ने तयारीमा छन् । कांग्रेसको क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

२०७४ मा भएको निर्वाचनमा देउवाले डडेल्धुराबाट ६,९२९ मतान्तरले चुनाव जितेका थिए । अहिलेसम्म देउवाले गृहजिल्लामा ठुलो चुनौति सामना गर्नुपरेको छैन । तर यसपटक भने पूर्व सहयात्री नै उनलाई हराउन कम्मर कसेर लागेका छन् । देउवाका स्वकीय सचिव समेत रहिसकेका कर्ण मल्लले उनीविरुद्ध चुनाव लड्ने तयारी गरिरहेका छन् ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पाएको मत अनुसार जिल्लामा कांग्रेस नै पहिलो शक्ति हो । कांग्रेसले वडाध्यक्षमा २१,७३५ मत पाएको छ । दोस्रो स्थानको माओवादीले १२,८७८ तेस्रो स्थानको एमालेले १०,४४९ मत पाउँदा । एकीकृत समाजवादी ५,०४१ र राप्रपाले ७१४ मत पाएका छन् । एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बिपी कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले करुवा चुनाव चिह्नमा ३ हजार ५४२ मत पाएका थिए।

स्थानीय तहको नतिजाकै आधारमा मंसिरमा परिणाम आउँछ भन्ने होइन। तर यो मुल्यांकनको सामान्य आधार भने बन्न सक्छ । प्रधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको सभापतिलाई आफ्नै गृह जिल्लामा हराउन कम चुनौतीपूर्ण छैन । तर,  र एमाले र नेपाली कांग्रेस (बीपी)को तालमेल तथा अहिले सरकारको काम गराइले देउवालाई सहज पनि छैन ।

 आफ्नाकै चुनौती

बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष एवं डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल देउवासँग चुनाव लड्ने दाउमा छन् । एमालेले समर्थन गरेमा उनी मैदान उत्रन सक्छन् । मल्ललाई २०४८ मा देउवाले गृहमन्त्री हुँदा स्वकीय सचिव बनाएर जिल्लाको राजनीतिमा पनि अगाडि बढाएका हुन्। उनी दुई कार्यकाल डडेल्धुराको जिल्ला सभापति भएका थिए।

मल्लले यस पटक देउवालाई जसरी पनि पराजित गर्ने भन्दै लागिरहेका छन् । योपटक देउवाको प्रतिस्पर्धा डडेल्धुराका जनतासँग हुने उनको दाबी छ । बीपी कांग्रेसबाट लोकराज भट्ट पनि उम्मेदवारका आकांक्षी छन् । दुईमध्ये एकजना  बीपी कांग्रेसबाट उम्मेदवार बन्ने निश्चित छ ।

डडेल्धुरामा बीपी कांग्रेसले एमालेको साथ खोजिरहेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा एमालेसँग चुनावी गठबन्धन गरेर प्रतिस्पर्धा गरेको कांग्रेस (बीपी) ले फेरि पनि तालमेलको प्रयास गरिरहेको छ । बीपी कांग्रेससँग गठबन्धन नभए एमालेबाट डडेल्धुराका पूर्वजिल्ला विकास समिति सभापति गजेन्द्र शाही, जिल्ला अध्यक्ष प्रकाश साउद र पठान सिंह बोहोरा दाबेदार छन् । बोहरा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

बीबीसीदेखि डडेल्धुरासम्म सागर

प्रधानमन्त्री देउवाका लागि गुल्मीका सागर ढकाल पनि चुनौतीका पात्र बन्ने भएका छन् । उनले देउवाले जहाँ उम्मेदवारी दिन्छन्, त्यहीँबाटै आफ्नो उम्मेदवारी रहने भन्दै अभियान सुरु गरिसकेका छन् । पाँच वर्षअघि प्रधानमन्त्री रहेकै बेला देउवाले बीबीसीको साझा सवाल कार्यक्रममा ढकाललाई झपारेका थिए । जसको पछि निकै आलोचना पनि भएको थियो ।

प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दिने उद्घोषण गरेका सागर ढकाल त्यसको तयारीका लागि अहिले डडेल्धुरामा नै छन् । देउवालाई प्रश्न सोध्ने बेलादेखि नै आफूमा राजनीति गर्ने सोच आएको उनी बताउँछन्। ४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीतिमा आएको सागरको भनाइ छ ।

घट्दो लोकप्रियता

पछिल्लो समय प्रधानमन्त्री देउवाको लोकप्रियतामा कमी आएको छ । पार्टी र सरकार संचालनमा देउवा असफल भएको आरोप लागिरहेको छ । आफ्नालाई छोडेर कम्युनिष्टहरूसँग तालमेलमा गएको भन्दै पार्टीभित्रै एकथरी देउवासँग रुष्ट छन् ।

स्थानीय तहको निर्वाचनमा देउवाकै वडामा कांग्रेसका उम्मेदवार पराजित हुनुले पनि आक्रोश झल्किने कांग्रेसकै नेता बताउँछन् । गन्यापधुरा गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेस (बिपी)का तर्फबाट उम्मेदवार रहेका नरेश भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई ८५ मतले पराजित गरेका थिए ।

डडेल्धुराका मतदाता अब प्रतिनिधिको परिवर्तन चाहन्छन् भन्ने मनोविज्ञान पनि देखिन्छ । डडेल्धुरामा पाँच पटक-पटक प्रधानमन्त्री भइसकेका देउवाबाहेक अरूलाई पनि अवसर दिनुपर्छ भन्ने चर्चा व्यापक छ । यसले पनि पनि देउवालाई विगतमा जस्तो सहज नहुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved