नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्न तमलोपाको माग

नेपालभ्युज

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्न तमलोपाको माग

जनकपुरधाम। नेपाल नागरिकता ऐन संशोधन गर्न पारित भएको विधेयकको शीघ्र प्रमाणीकरण गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीले राष्ट्रपतिसँग माग गरेको छ ।

जनकपुरधाममा मंगलबार तमलोपाको केन्द्रीय कार्यालयमा अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो छलफलपछि नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपछि पनि त्यसको प्रमाणीकरणमा राष्ट्रपतिबाट भइरहेको ढिलाईले चिन्ता उत्पन्न गरिरहेको तमलोपाको ठहर छ ।

‘नागरिकता जस्तो संवेदनशील विषयमा यसरी भइरहेको अस्वाभाविक ढिलाइ उचित नभएको तथ्यप्रति सम्माननीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराउँदै यो बैठक नागरिकतासम्बन्धी विधेयकको शीघ्र प्रमाणीकरणको माग गर्दछ ।’ तमलोपाले विज्ञप्तिमा भनेको छ ।

यसैगरी, तमलोपाको बैठकले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा भाग लिने निर्णय गर्दै अन्य राजनीतिक दलहरूसँग सहकार्य, गठबन्धन लगायतका विषयमा छलफल गर्ने जिम्मेवारी वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई दिने निर्णय गरेको नेता उमेश मण्डलले बताए ।

यस्तै, निर्वाचन मिति घोषित भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभा क्रियाशील भइरहनु लोकतान्त्रिक मान्यता र अभ्यासविपरीत तथ्य रहेको तर्क गर्दै तमलोपाले सबैको ध्यानाकृष्ट गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved