अर्थमन्त्रालयको सीसीटीभी फुटेज प्रहरीको ल्याबमा ‘रिकभर’ भयो तर…

नेपालभ्युज

अर्थमन्त्रालयको सीसीटीभी फुटेज प्रहरीको ल्याबमा ‘रिकभर’ भयो तर…

काठमाडौं । डिलिट भएको अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्याबमा ‘रिकभर’ भएको छ । उक्त फुटेज प्रहरीले सिलबन्दी गरी संसदीय छानबिन बिशेष समितिमा बुझाएको थियो ।

समितिको मंगलबार बसेको बैठकमा फुटेज खोलेर हेर्दा ‘रिकभर’ भएको पाईएको एक सदस्यले जानकारी दिए ।

जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न संसदीय विशेष समिति बनाईएको हो । त्यस लगत्तै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए ।

छानबिनका क्रममा समितिले अर्थमन्त्रालयसँग उक्त दिनको सीसीटीभी फुटेज मागेको थियो । तर मन्त्रालयले हार्ड डिस्क नै दिएको थियो ।

हार्ड डिस्कमा पुरानो फुटेज डिलिट भएको पाईएपछि समितिले रिकभर गर्न प्रहरीलाई पठाएको थियो । प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ ।

एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिप छन् । ति क्लिप स्पष्ट भने नरहेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । मान्छेहरु आउ-जाउ गरेको देखिए पनि चिन्न सकिने अवस्था फुटेजमा नरहेको ति सांसद बताउँछन् ।

फुटेज स्पष्ट नभएपछि विज्ञसँग थप छलफल गर्ने निष्कर्षमा समिति पुगेको छ । समितिका सदस्यबीच भिडियो क्लिपबारे आ-आफ्नो दलमा परामर्श गर्ने सहमति पनि भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved