एसिड पीडित साहलाई मुद्दा फिर्ता लिन दबाब

एसिड पीडित साहलाई मुद्दा फिर्ता लिन दबाब

जनकपुरधाम। एसिड पीडित आरती साहले मुद्दा फिर्ता लिन आफूलाई दबाब दिएको आरोप लगाएकी छन्।

एसिड बिक्रेता नागेन्द्र साहले ६ लाख रुपैयाँको आर्थिक प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिएको उनको आरोप छ।

आरतीले भनिन्, “नागेन्द्रका मान्छेहरुले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छन्। तर मेरो लागि एसिड छ्याप्ने र बेच्ने दुबै दोषी छन्, दुवैलाई कारबाही हुनुपर्छ।” उनी काम गर्ने पसलमै आएर धम्की दिने गरेको उनको भनाइ छ।

आरोपित पक्षले धम्की दिएपछि उक्त पसलमा काम गर्न छाडिसकेको आरती बताउँछिन्।

आरती केही समय बुबाकै पसलमा जनकपुरस्थित पेठिया बजारमा तरकारी बेच्ने काम गर्दै आएकी थिइन्। मधेश प्रदेश सरकारले जागिर दिने घोषणा गरेपछि उनले काम छोडेर समान्य लेखपढ गर्न ट्यिुसन पढ्न थालेकी थिइन्। तर नागरिकता नहुँदा उनले जागिर पाउन सकिनन्।

“नागरिकता नहुँदा मेरो नोकरी भएन। मेरो छोरीले पनि पढ्न पाएकी छैन,” उनले भनिन्, “परिवार चलाउन कठिन भएको छ। कति दिन बुबा आमा कै पैसामा जीवन बिताऊँ!”

आरतीका श्रीमान् सञ्जीवले उनी र छोरी रियामाथि ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए। जिल्ला अदालत धनुषाले सोही मुद्दामा ०७८ भदौ १० गते अन्तिम सुनवाई गर्दै फैसला सुनाएको थियो। अदालतले एसिड छ्याप्ने सञ्जीवलाई १० वर्ष कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

एसिड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो। अदालतको उक्त फैसला चित्तबुझ्दो नभएको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा उच्च अदालतले असार ८ गते आरोपित झिकाउन आदेश दिएको थियो। तर, आरोपित झिकाउन आदेश दिएको तीन साता हुन लाग्दा समेत पेसी चढेको छैन।

यसैबीच अदालतले २१ दिनभित्र अदालतमा हाजिर हुन आरोपितको नाममा म्यादपत्र जारी गरेको छ। आरोपित अदालतमा अहिलेसम्म हाजिर भएका छैनन्। दुवै पक्ष अदालतमा हाजिर भएपछि सुनवाईको प्रक्रिया अगाडि बढ्नेछ। यो घटनामा दुवै पक्षबाट मुद्दा दर्ता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved