नेकपा एसका मन्त्रीहरु पद त्याग्न तयार

नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरु अन्ततः पद त्याग्न तयार भएका छन्।

नेपालभ्युज

नेकपा एसका मन्त्रीहरु पद त्याग्न तयार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरु अन्ततः पद त्याग्न तयार भएका छन्।

मन्त्री फिर्ता बोलाउने पार्टीको निर्णय अस्वीकार गरेका मन्त्रीहरु पद त्याग्न तयार भएका हुन्। उनीहरुले बुधबार साँझ पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेर आफूहरु पद छाड्न तयार रहेको बताएका हुन्।

बुधबार नै बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने पार्टीको यसअघिको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको थियो।

अध्यक्ष नेपालसँग पार्टीबाट मन्त्री भएका नेताहरुको भेटका विषयमा जानकारी दिँदै एक नेताले भने, “हिजो अध्यक्षलाई भेट्न सामूहिक रुपमा मन्त्रीहरु कोटेश्वर पुग्नुभएको थियो। अध्यक्षसँगको छलफलपछि उहाँहरु मन्त्री पदबाट छोड्न तयार हुनु भएको छ, सम्भवत आजभोलीमा नै उहाँहरुले मन्त्री पद छोड्नुहुन्छ।”

यता अध्यक्ष नेपालसँग भेट गर्न पुगेका एक मन्त्री भने आफूहरुले पार्टीका अध्यक्षलाई भेट्न जानु सामान्य विषय भएको बताउँछन्। “पार्टीका अध्यक्षलाई हामीले भेट्न जानु समान्य विषय हो”, ती मन्त्रीले भने, “मन्त्री पद जीवनभरका लागि लिएको होइन, पार्टीले फिर्ता बोलाएको विषय सार्वजनिक छ। यस विषयमा निर्णय भएपछि थाहा हुन्छ।”

२२ जेठमा नै पार्टीले हाल पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीको निर्णय लिएर प्रधानमन्त्री देउवालाई भेट्न पार्टीका उपमहासचिव डा. विजय पौडेल बालुवाटार पुगेका थिए। उपमहासचिव पौडेलले प्रधानमन्त्री देउवालाई पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नाम बुझाए पनि शपथ ग्रहण भने हुन सकेको थिएन।

पार्टीले आफूहरुलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेसँगै नेकपा एकीकृत सुमाजवादीबाट मन्त्री भएका प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा लगायतका मन्त्रीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। उनीहरुले प्रधानमन्त्री देउवालाई पनि छुट्टै भेट्दै पार्टीको निर्णय तत्काल कार्यान्वय नगर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालले आर्थिक वर्ष २०७/र८० का लागि पेस गरिएको बजेट उपर सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्रिमण्डल हरफेर नगर्न आग्रह गरेसँगै नेकपा एसका अध्यक्ष नेपाल केही समयका लागि आफ्नो निर्णयबाट पछि हटेका थिए।

प्रतिनिधिसभामा बजेटका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइसकेपछि नेकपा एकीकृत समाजवादीले पुनः मन्त्री परिवर्तन गर्ने आफ्नो पुरानो निर्णय कार्यान्वय गर्न जोड दिएको छ। पार्टी सचिवालयको बैठकले नै पुरानो निर्णय कार्यान्वयका लागि प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेसँगै हाल मन्त्रिमण्डलमा रहेका पार्टीका नेताले सामूहिक रुपमा पार्टीका अध्यक्षसँग भेट गरेका हुन्।

हाल शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरीलाई नयाँ मन्त्री बनाउने पार्टीले निर्णय गरेको छ। यस्तै, विरोध खतिवडा मन्त्री रहेको स्वाथ्य मन्त्रालयमा एकीकृत समाजवादीले भवानी खापुङलाई पठाउने निर्णय गरेको छ, जो सोही मन्त्रालयमा राज्यमन्त्री छन्।

किसान श्रेष्ठ रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवरलाई मन्त्री बनाउने पार्टीले निर्णय गरेको छ। उनी गैरसांसद हुन्। हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने पार्टीले निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved