जितमा सर्वाधिक सफल सन्दीपको सेकेण्ड इनिङ

जितको प्रतिशत हेर्ने हो भने सर्वाधिक ७६.९२ प्रतिशत खेल जितेका सन्दीपलाई सबैभन्दा सफल कप्तान मान्न सकिन्छ। ज्ञानेन्द्रको कप्तानीमा जितको प्रतिशत ७५ छ भने पारसको ४२.३० छ। तर जितको प्रतिशतलाई हेरेर मात्र कप्तानीको सफलताको मापन गर्न मिल्दैन।

जितमा सर्वाधिक सफल सन्दीपको सेकेण्ड इनिङ

काठमाडौं। गत मंसीरमा बिगब्यास लिग खेल्न अष्ट्रेलियामा रहेका बेला स्टार लेग स्पिनर सन्दीप लामिछानेले पहिलो पटक नेपालको राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाए।

खेलाडीहरूको केन्द्रीय सम्झौताको विषयमा शुरु भएको विवादमा नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासनको कारण देखाउँदै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई कारवाही गर्दै पदबाट हटायो।

त्यसपछि २१ वर्षको उमेरमा नै सन्दीप नेपाली राष्ट्रिय टी-ट्वान्टी क्रिकेट टिमको कप्तान चुनिए। पछि एकदिवसीय टिमको कप्तानको जिम्मेवारी पनि उनैले पाए।

सन्दीप नेपाली स्टार क्रिकेटर पारस खड्का पछि राष्ट्रिय टिम समाल्ने सबैभन्दा कान्छा कप्तान हुन्। पारसले २० वर्षको उमेरमा नै नेपालको कप्तानको जिम्मेवारी सम्हालेका थिए।

सन्दीपकै कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिकामा छ। नेपालले यो टूरमा आयोजक अमेरिका र ओमानसँग दुई–दुई एकदिवसीय खेल खेल्दैछ।

विश्वकप लिग–२ सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटो हो। सात टिम सहभागि लिग–२ मा अंक तालिकामा शिर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् भने तल रहेका चार टिमले प्लेअफ खेल्नुपर्ने हुन्छ।

यो लिगमा १२ खेलमा १२ अंक जोडेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।

अप्ठेरोमा सम्हालेको कप्तानी

सन्दीप नेपाली क्रिकेटको मात्र होइन समग्र नेपाली खेलकुद कै सर्वाधिक चर्चित खेलाडी हुन्। विश्वभरीमा कमाएको चर्चाको हिसाबले मात्र होइन उनले खेलेका विश्व स्तरिय क्रिकेट प्रतियोगिता र प्रदर्शनका हिसाबले पनि सन्दीप नेपालका सबैभन्दा सफल खेलाडीमा पर्छन्।

आईपीएल, सीपीएल, विग ब्यास लिग जस्ता थुप्रै विश्व प्रसिद्ध क्रिकेट प्रतियोगिताहरू खेलेका उनको खेलाडीको रूपमा करियरको पहिलो इनिङ निकै सफल रह्यो।

करियरको दोस्रो इनिङको रूपमा राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी भने उनले निकै अप्ठेरो बेलfमा सम्हालेका थिए।

विशेषगरी क्यानसँगको विवादका कारण राष्ट्रिय टिमका खेलाडीहरू नै विभाजीत बनेको अवस्थामा नेतृत्वको जिम्मा उनले पाएका थिए। उनी सामु चुनौती भनेको नै आफु भन्दा सिनियर धेरै खेलाडीहरूलाई आफ्नो अण्डरमा राखेर कप्तानी गर्नुपर्ने थियो।

फेरि कम उमेरमै कप्तानी सम्हालेका उनले पहिलो अवसरमा नै विश्वकप छनोट जस्तो ठूलो प्रतियोगितामा टिमलाई लिड गर्नुपरेको थियो। कप्तानको रूपमा सन्दिपको क्षमताको परीक्षण नै नेपाली क्रिकेट कै महत्वपूर्ण अवसरको रूपमा रहेको टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगिताबाट भयो।

यसै वर्ष अष्ट्रेलियमा हुने टी–ट्वान्टी विश्वकपका लागि ओमानमा भएको छनोट प्रतियोगिता नेपालका लागि दोस्रो पटक विश्वकप खेल्ने मौका थियो।

तर सन्दीपको पहिलो गाँसमै ढुंगा लाग्यो। नेपालले छनोट प्रतियोगिताको बाँकी सबै खेल जित्योतर जुन एक निर्णायक खेल जित्दा नेपाल विश्वकपमा छनोट हुन्थ्यो,सोही खेलमा यूएईसँग हार्न पुग्दा नेपाल यो वर्षको टी–ट्वान्टी विश्वकपमा छनोट हुन सकेन।

यसपछि नेपालमै भएको पीएनजी र मलेसिया समेत सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि भने उनकै कप्तानीमा नेपालले जित्यो। सिरिजमा लगातार पाँच खेल जित्दै नेपालले उपाधि उचालेको थियो।

यसअघिको नेपालले पीएनजीसँगको दुई म्याचको एकदिवसीय सिरिज भने २–० ले गुमाएको थियो। विश्वकप छनोटमा पनि निर्णायक सेमिफाइनल मात्र हारेको नेपालले बाँकी सबै चार खेल भने जितेको थियो।

कप्तानीको शुरुआती तथ्यांक र यथार्थ

सन्दीप राष्ट्रिय टिमको कप्तान बनेको ६ महीना पनि पूरा भएको छैन। यो समयमा उनको कप्तानीमा नेपालले कुल १९ खेल खेलेको छ। आगामी बिहिबार विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेल सन्दीपको कप्तानीमा नेपालले खेल्न लागेको २० औँ खेल हो।

उनको कप्तानीमा खेलेको १३ टी–ट्वान्टी खेलमा नेपालले १० खेल जितेको छ। नेपालले आईसीसीको टी–ट्वान्टी मान्यता पाएपछि हालसम्म तीन कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीपको नेतृत्वमा अन्तर्राष्ट्रिय खेल खेलेको छ।

यी तीनमध्ये जितको प्रतिशत हेर्ने हो भने सर्वाधिक ७६.९२ प्रतिशत खेल जितेका सन्दीपलाई सबैभन्दा सफल कप्तान मान्न सकिन्छ। ज्ञानेन्द्रको कप्तानीमा जितको प्रतिशत ७५ छ भने पारसको ४२.३० छ। तर जितको प्रतिशतलाई हेरेर मात्र कप्तानीको सफलताको मापन गर्न मिल्दैन।

पारसको कप्तानीमा नेपालले सन् २०१४ को एक मात्र विश्वकप खेलेको थियो भने पहिलो पटक टी–ट्वान्टी मान्यता पाएको थियो। ज्ञानेन्द्रको कप्तानीमा नेपालले एकदिवसीय मान्यता पाएको थियो।

एकदिवसीय खेलमा भने सन्दीप जितको प्रतिशतमा अघिल्ला दुई कप्तानभन्दा पछि छन्। एकदिवसीय खेलमा पारस र ज्ञानेन्द्रको जितको रेकर्ड ५० प्रतिशत भन्दा माथि छ। ६ खेलमा दुई खेल जितेका सन्दीपको जितको प्रतिशत ३३.३३ मात्र छ।

तर यति थोरै खेलमा उनको जितको मापन गर्ने बेला भइसकेको भने छैन। जति खेल बढ्दै जान्छ त्यति अनुभवले काम गर्छ। नेपाली टिमका प्रशिक्षक पुबुदु दासनायके भन्छन्,“सन्दीपको कप्तानी धेरै सुधारिएर आएको छ। मैदानमा खेल दौरान तत्काल निर्णय गर्ने क्षमता उनको राम्रो छ। कप्तानीमा सुधार गर्नुपर्ने ठाउँ त अझ छ, अनुभव बढ्दै गएपछि त्यसैले परिपक्क बनाउँछ।”

सन्दीप आफै भन्छन्,“कप्तान भएर खेल्दा सबैभन्दा गाह्रो हुने भनेको विभिन्न निर्णयहरू लिनुपर्ने बेलामा हो। कतिपय अवस्थामा त निर्णय गर्दा जुवा खेलेसरह गर्नुपर्छ। तर सबै खेलाडीहरूको सहयोगले मलाई सजिलो भइरहेको छ।”

विश्वकपमा छनोट गराउन नसकेपनि उनको कप्तानीमा समग्रमा हालसम्मको नेपाली टिमको प्रदर्शन सन्तोषजनक छ। सन्दीप आफुलाई क्यानले कप्तान बनाउन गरेको निर्णय गलत नभएको साबित गर्नउन्मुख देखिन्छन्। यो नै उनको कप्तानीको पूर्वार्ध प्रमुख चुनौती पनि थियो।

अब सन्दीपका अगाडि दुई प्रमुख चुनौती छन्। पहिलो, हाल नेपालसँग रहेको एकदिवसीय मान्यता जोगाउनु।

उनको नेतृत्वमा नेपाली टिमले हाल जारी विश्वकप लिग–२ अन्तर्गतको आगामी खेलहरूमा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकप छनोटसम्म पुग्नु छ। यदि एकदिवसीय विश्वकपमा छनोट भएमा र उक्त प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्न सके आईसीसीले नेपालको एकदिवसीय मान्यता कायमै राखिदिन सक्छ।

त्यसैगरी यो वर्षको टी–ट्वान्टी विश्वकपमा छनोट हुनबाट चुकेको नेपाललाई सन् २०२४ को विश्वकपमा छनोट गराउने अर्को प्रमुख चुनौती पनि उनीमा छ।

सन्दीपका अनुसार व्यावसायिक खेलाडी र टिमको कप्तान भएपछि हरेक कुराको लागि तयार हुनुपर्छ। भोलि टेष्ट क्रिकेट खेल्नु छ भने त्यो सबै चुनौतीका लागि पनि तयार रहनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved