आयोजनाको म्याद थपियो काम सकिएन

निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन्। घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन।

नेपालभ्युज

आयोजनाको म्याद थपियो काम सकिएन
फाइल तस्बिर

टीकापुर। कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वारलगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले ३ असार २०७७ मा एउटा निर्माण कम्पनीलाई ठेक्का दियो।

ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम शुरुआत गरेको तीन वर्ष पुगेको छ। सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेको थियो। अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ।

निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन्। घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन।

दुई ओटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ। पश्चिमतिरको प्रवेशद्वार निर्माणको काम शुरु भए पनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन।

नगरपालिकाले उक्त आयोजनाको लागि ७५ लाख रुपैयाँको ठेक्का सूचना निकालेको थियो। सो निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएको थियो।

आयोजनाको काम सम्झौताको समयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिए। त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो। अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ।

“नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्रसमेत पठाइसकेका छौं। मौखिकरुपमा जानकारी गराउँदा त्यसको कार्यान्वयन नभएपछि पत्र नै पठाउनुपरेको हो,” योजना शाखा प्रमुख जोशीले भने, “अहिले काम गरिरहेको छ। अब प्रवेशद्वार निर्माणको काम छ। काम भइरहेको छ। हेरौँ कतिसम्म गर्न सक्छन्।”

निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म २२ लाख ५२ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ। नगर उपप्रमुख खडकबहादुर शाह कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरुले दिनुपर्ने बताउँछन्।

निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताउ। उनले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मंसीरसम्म काम सम्पन्न गर्ने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved