पृथ्वी राजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन्। हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

नेपालभ्युज

दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो।

बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

“नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागेका हौँ,” सुवेदीले भने।

आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ।

सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन्। हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन्।

मुग्लिङ–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम शुरु भइसकेको छ। पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ।

विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।

पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ। सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ।

आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved