रामपुर-पाल्पा सडक योजनाबारे बाँस्कोटाको टिप्पणी : अर्थसचिवको घर त्यतै पर्छ रे

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले सरकारले अध्ययन नै नगरी नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरेका छन्।

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले सरकारले अध्ययन नै नगरी नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बजेट छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले चितवन-रामपुर-बुटवल-पाल्पा सडक योजना अध्ययन नै नगरी अगाडि सारिएको बताए।

‘‘चितवन-रामपुर-बुटवल-पाल्पा सडकको कुरा छ, यो के खाँचो पर्‍यो हाम्रो कनेक्टीभिटीमा ? नारायणगढबाट बुटवल जाने बाटो नै ६ लेनको बन्दैछ। मैले सुन्या छु, त्यहाँ कतै अर्थसचिवजीको घर पर्छ!’’ सांसद बाँस्कोटाले भने, ‘‘त्यसआधारमा बजेट निर्माण हुन्छ भने गतसाल उहाँले श्वेतपत्र जारी गरेका कुराहरुको अध्ययन खै ? के अध्ययन, विश्लेषणको आधारमा यी खालका कुराहरु अघि सारिएको छ ?’’

१५ जेठमा संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा एक घण्टामा तय हुनेगरी द्रुत मार्ग निर्माण गर्ने सरकारको योजना रहेको सुनाएका थिए। चितवन-रामपुर-बुटवल द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाइने विषय पनि बजेटमा समेटिएको थियो।

‘‘यति त सायद अध्ययन, अनुसन्धानमा पोख्त रहेका नासा र रस्कोमसले पनि गर्न सक्दैनन् होला, हाम्रो अर्थ मन्त्रालयले यस्तो कल्पना गरेको छ। मैले सुनेको थिएँ, वैज्ञानिक समाजवादीहरु कल्पनाबाट विज्ञानतिर अगाडि बढ्छन्’’, उनले भने, ‘‘त्यसो हो भने हाम्रो वस्तुगत आवश्यकता के हो ? सत्य समस्याहरु के हुन् र तिनको निराकरण के हो ? त्यसतर्फ बजेट गएको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved